समाज

जानकी मन्दिरकाे विवाह मण्डपमा अश्लील टिकटक बनाउने युवक पक्राउ, युवती फरार

सुभाष कर्ण |
साउन १२, २०८० शुक्रबार २१:५६ बजे

जनकपुरधाम- जनकपुरधामस्थित धार्मिक स्थल जानकी मन्दिरको विवाह मण्डप (मडवा) मा अश्लील टिकटक भिडियो बनाएको आरोपमा एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । केही दिन अगाडि जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा यादवले एक युवतीसँग अश्लील हरकत गरिरहेको भिडियो टिकटकमा अपलोड गरेका थिए ।


सो टिकटक भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । स्थानीय युवा तथा धार्मिक अभियन्ताहरूले जिप्रकामा मौखिक रूपमा अश्लील हरकत गर्नेलाई कानुनी कारबाही गर्न माग गरेका थिए । धनुषा प्रहरीलाई स्थानीय मन्दिर प्रशासन, युवाहरूले सामाजिक सञ्जालबाट समेत दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो ।

अश्लील हरकतसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जनकपुरधामको धार्मिकतामाथि अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक असर पर्ने भएकाले निजलाई पक्राउ गरिएको र सो घटनामा संलग्न युवतीको खोजी कार्य भइरहेको जिप्रका धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जनाएको छ ।

उनले भने, 'घटनामा संलग्न युवक अनिरूद्रलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाई सकिएको र युवतीको खोजी कार्य जारी रहेको छ ।' धार्मिक स्थल रहेको विवाह मण्डपमा मोबाइल र क्यामेरामा प्रतिबन्ध नलगाइएकf कारण यस्ता अश्लील हरकतका कयौं भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै आएको छ । तर, यस पटक प्रहरीले एक्सन लिएकाे छ । 

डिएसपी गौतमले भने, 'अनिरूद्रलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउनुको प्रमुख कारण नै अन्य युवायुवतीहरूका लागि सबक हो । यी घटनापछि अन्य युवा युवतीले जानकी मन्दिर मात्र होइन अन्य धार्मिक तथा सार्वजनिक स्थलमा यस किसिमका अश्लील कार्य गर्दैनन् ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x