समाज

पहिलो वर्षातमै डुबे मोरङ–सुनसरी औद्याेगिक करिडोरका ठूला उद्योग

अग्ला सडक र अव्यवस्थित बसोबास क्षेत्र उद्योगलाई चुनौती

बाबुराम भण्डारी |
असार २८, २०८० बिहीबार २१:४१ बजे

विराटनगर- मोरङ–सुनसरी औद्याेगिक क्षेत्रका आधा दर्जन ठूला उद्योग पहिलो वर्षातमै डुबानको चपेटामा परेका छन् । अर्बौं लगानीका वर्षौंदेखि चलिरहेका उद्योगहरू बर्सेनि डुबानमा पर्दै आए पनि यस वर्ष पहिलो वर्षाकै बाढीबाट प्रभावित भएका हुन् । उद्योग नजिक अव्यवस्थित रूपमा भइरहेको बस्ती विकास र अग्ला सडक पूर्वाधारले वर्षाको पानीको निकास थुनिँदा उद्योगहरू डुबानमा पर्दै आएका छन् ।

बुधबार दिनभरको अविरल वर्षापछि इटहरीको पश्चिमतर्फबाट साँघुरिँदै आएको ट्यांग्रा खोलाको पहिलो बाढी औद्याेगिक करिडोरका उद्योगहरूमा पसेको जनाइएको छ । बिहीबार अपरान्हसम्म पनि ती उद्योगभित्र पसेको पानी सुकेको छैन । ट्यांग्रा खोलाको दीर्घकालीन व्यवस्थापनका लागि कुनै ठोस योजना नबन्दा कोशी राजमार्गको आवागमन समेत रोकिएको थियो ।


बाढीका कारण हुलास वायर, अरिहन्त मल्टिफाइबर्स, रिलायन्स स्पिनिङ मिल्स लगायतका आधा दर्जन ठूला उद्योगहरू डुबानमा परेका छन् । उद्योगभित्र पानी पसेर उत्पादन प्रभावित भएको भन्दै सम्बन्धित उद्योगहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पानीको उपयुक्त निकासको खोजीका लागि समन्वय गरिदिन सुरक्षा निकाय र स्थानीय तहसँग समेत आग्रह गरेका छन् ।

विशेषगरी कोशी राजमार्गको विराटनगर–इटहरी ६ लेन सडकको उचाई बढेको र पुराना कल्भर्टहरू हटाइएका कारण सडकबाट पूर्व–पश्चिम पानीको निकास रोकिएर उद्योगहरू सामान्य वर्षातमै डुब्न थालेका छन् । सडक अग्लिँदा ट्यांग्रा खोलाको पानी पश्चिमतर्फका उद्योगभित्र पस्ने समस्या बढेको अरिहन्त मल्टिफाइबर्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाँईले बताए । करिब चार हजार मजदुर कार्यरत रहेको उक्त उद्योगमा रहेको मजदुरहरू बस्ने क्वाटर पानीले डुबिसकेको उनले जानकारी दिए ।

‘पहिले रोडबाट माथि चढेर उद्योगमा प्रवेश गर्नुपर्थ्याे, अहिले रोड अग्लो हुँदै गयो, उद्योगका अगाडि पछाडि पनि रोड बने, बस्ती विकास भयो तर पानीको निकासको राम्रो भएन,’ उनले भने, ‘हामी अहिले पनि अलार्मिङ अवस्थामा छौं, कतिखेर डुब्नुपर्छ थाहा छैन, भित्रको पानी बाहिर जानुपर्नेमा बाहिरको पानी उद्योगभित्र आइरहेको छ ।’

उनले बाहिर पानीको सतह बढ्दै जाँदा उद्योग नै बन्द गर्नुपर्ने र पानी फाल्ने पम्पहरू अचानक बिग्रिएमा तत्कालै समस्या उत्पन्न हुने बताए । यो समस्याले औद्याेगिक करिडोरका धेरै उद्योगहरू डुबानको जोखिममा रहेको जानकारी दिए । दुई वर्षअघि पनि बेमौसमी वर्षातले उद्योग डुब्दा जुटजन्य कच्चा र मेसिनहरूमा ठूलो क्षति पुगेको कार्यकारी अधिकृत बजगाँईले सुनाए । त्यति बेला उद्योगलाई पुनः संचालन गर्न करिब एक महिना समय लागेको बताए ।

बुधबारको भारी वर्षापछि ट्यांग्रा खोलाको बाढी औद्याेगिक क्षेत्रमा पस्दा सुनसरीको दुहवीदेखि खनार क्षेत्रका उद्योगहरू धेरै डुबेका हुन् । उद्योग प्रवेश गर्न ट्यांग्रामाथि बनाइएका साना पुलहरू थुनिएका कारण पनि बाढी उद्योगतिर पसेको जनाइएको छ ।

सडक नालाको उचित व्यवस्थापन नगरी सडक संरचना बन्ने समस्याले औद्योगिक करिडोरका उद्योगहरू बर्सेनि डुबानको समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले जानकारी दिए । उनले डुबानको समस्याले उद्योगीहरूलाई बर्सेनि ठूलो आर्थिक नोक्सानी भइरहेको बताए ।

‘सडक नालाको व्यवस्थापन नभईकन सडक पूर्वाधार बने, प्रत्येक साल हामीलाई जोखिम छ, करोडौंको नोक्सानी बेहोर्नु परिरहेको छ, उद्योगहरू बन्द हुने अवस्था छन्, हप्तौँ बन्द गर्नुपर्ने अवस्था छ,’ रिजालले भने, ‘समस्या समाधानका लागि स्थानीयदेखि प्रदेश र संघ सरकारलाई आग्रह गरिन्छ तर सुनुवाइ भएको छैन ।’

औद्योगिक क्षेत्रमा कुनै पनि विकास निर्माणको काम गर्नुअघि उद्योगहरूमा पर्नसक्ने प्रभावको मूल्याकंनतर्फ बिचार पुर्याउनुपर्नेमा उनले जोड दिए । बाढी रोक्ने उपाय नभएपछि उद्योगहरूले गेटमै बालुवाको बोरा राखेर पानी छेक्ने प्रयास गरेका छन् । तर, पहिलो वर्षातमै ट्यांग्रा खोलाको बाढी उर्लिएर उद्योगभित्र पसेपछि उद्योगीहरू चिन्तित बनेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले पनि सडक अग्लो बनाएकै कारणले उद्योगहरू बाढीको जोखिममा परेको दाबी गरे । उनले औद्योगिक क्षेत्रमा गरिने विकास निर्माणमा ठोस योजना नै नबनाई सडक निर्माण गर्दा उद्योगीहरूले बर्सेनि करोडौंको क्षति बेहोर्दै आएको गुनासो गरे ।

‘उद्योग लागेका ठाउँमा सडक उच्चो बनाइदिन्छन्, योजनाबिनै सडक बनाइदिन्छन्, हामीले जति अनुरोध गर्दा पनि हाम्रो अनुरोध कसैले सुन्दैनन्,’ सुरानाले भने, ‘भएका संरचनालाई पनि भत्काएर नयाँ सडक संरचना बनाउँदा राज्यको स्रोत पनि खर्च भएको छ, अर्कोतिर अनेकौं समस्याबाट ग्रस्त भएको उद्योगधन्दालाई थप ध्वस्त पार्न खोजिन्छ ।’

उनले तीनै तहका सरकारले सडक आग्लो गरी निर्माण गरेका कारण उद्योगमा बाढी पस्ने गरेको बताए । यस वर्ष पनि वर्षा सुरु भएकोले उद्योगहरूलाई बाढी र डुबानबाट जोगाउने विषयमा बिहीबार संगठनको कार्यसमितिकै बैठक बसेर छलफल गरेको अध्यक्ष सुरानाले जानकारी दिए ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरू २०७८ कात्तिक ३ मा आएको अविरल वर्षापछिको बाढी र डुबानमा पर्दा करिब साढे दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको उद्योग संगठनले अध्ययन नै गरेर विवरण सार्वजनिक गरेको थियो । त्यति बेला यो करिडोरका ४१ वटा उद्योगहरू डुबानमा परेका थिए । जसका कारण मेसिन र औजारतर्फ ९८ करोड १७ लाख, कच्चा पदार्थतर्फ ७१ करोड २५ लाख र ७६ करोड ४ लाख मूल्य बराबरका तयारी मालबस्तु क्षति भएको जनाइएको थियो ।

यस वर्षको पहिलो वर्षामै उद्योगहरू डुबानमा परेपछि बिहीबार मोरङ व्यापार संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीसहितको टोलीले केही उद्योगहरूको स्थलगत अनुगमन समेत गरेको हो ।

मोरङ–सुनसरी औद्याेगिक करिडोरभित्र विगतमा सबैभन्दा बढी बुढीगंगा गाउँपालिकाभित्र रहेका उद्योगहरू डुबानको समस्यामा पर्दै आएका छन् । त्यसपछि दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरीका उद्योगहरूले डुबानको समस्या झेलिरहेका छन् ।

तीन दशक अगाडि नै स्थापना भएका कतिपय ठूला उद्योगहरूले अहिले सडक सतहभन्दा तल परेका कारण डुबानको समस्या भोग्नु परेको छ । अग्लो सडक नाघेर पानी नसकेपछि उद्योगभित्र पस्ने गरेको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x