समाज

कर्णालीमा अन्तरजातीय विवाहपछिका दर्दनाक घटना : घरमा आगो लगाउनेदेखि हत्यासम्म

लक्ष्मी भण्डारी |
असार २२, २०८० शुक्रबार १९:४३ बजे

सुर्खेत- असार तेस्रो साता जुम्लाको तातोपानी वडा नम्बर ४ मा अन्तरजातीय विवाह गरेका कारण दलित परिवारको घरमा आगजनी भयो । विवाह गरेकै कारण तातोपानी गाउँपालिका वडा नं. ४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा आगजनी भएकाे हाे ।

नेपालीले विवाहका लागि गाउँकै गिरी थरकी युवती भगाएपछि केटी पक्षले उनको घरमा आगो लगाइ दिएका थिए । युवतीका दाइ हिक्मत गिरीले आगो लगाएको प्रहरीले जनाएको छ । घरमा आगो लगाएका गिरी पक्राउ परेका छन् । विवाह गरेका जोडी भने सम्पर्कविहीन भएको परिवारजनले बताए ।


अन्तरजातीय विवाह गरेका कारण घरमा आगजनी गर्ने मात्र होइन ज्यान समेत गुमाउन बाध्य छन् कर्णालीवासी । तीन वर्षअघि मात्रै जाजरकोटका नवराज विकले अन्तरजातीय विवाह गर्न खोज्दा उनका पाँच जना साथीहरू पनि ज्यान गुमाउन पुगे । नवराजको मल्ल थरकी युवतीसँग भएको प्रेम सम्बन्ध थियो । त्यसलाई बिहेमा परिणत गर्न खोज्दा उनीहरूले ज्यान गुमाउन पुगेका हुन् ।

अन्तरजातीय विवाहका पछिल्ला यी दर्दनाक उदाहरण मात्र होइन यस्ता अन्य थुप्रै कहाली लाग्दा घटनाहरू पनि घटेका छन् । केही वर्ष पहिले चुलो छोएको निहुँमा कालिकोटमा दलितको हत्या समेत भएको थियो ।

यसरी कर्णालीमा जातीय विभेदले वीभत्स घटनाहरू निम्तिने गरेका छन् । दलित अधिकारकर्मी एवं दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले कर्णालीमा बर्सेनि यस्ता घटनाहरू घट्नु दु:खद रहेको बताउँछिन् । ‘कर्णालीमा पछिल्ला समय अझै विकृति फैलिएका छन् । विवाह गरेकै कारण जोडी घरबाट विस्थापित भएका छन् भने बुवाआमाले पनि तनाव झेल्नुपरेका अवस्था छ,’ उनले भनिन्, ‘अन्तरजातीय विवाहको कारण गाउँमा अझै द्वन्द्व बढ्दैछ ।’

उनका अनुसार यस्ता घटनाको न्यूनीकरणका लागि सरकारी निकाय नै बढी जिम्मेवार हुनु जरुरी छ । सरकारी तवरबाटै अझै प्रयास थालेमा प्रभावकारी हुने उनको भनाइ छ । कानुनी कडाइ भएमा घटना न्यूनीकरण हुने उनले बताइन् ।

यता इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले प्रदेशमा यस्ता घटनाहरू बढ्दै गएको बताउँछन् । ‘जातीय विभेद न्यूनीकरणका लागि सबैभन्दा पहिले कानुनी कडाइ गर्न जरुरी छ,’ उनले भने, ‘यस्ता घटनालाई गाउँमा मिलापत्र गर्ने खालका प्रवृत्तिका कारण पनि यो न्यूनीकरण हुन नसकेको हो ।’

इन्सेकको प्रतिवेदनअनुसार सन् २०२१ मा दश वटा जातीय विभेदका घटना भएका थिए भने सन् २०२२ मा पाँच वटा जातीय विभेदका घटना भएका थिए । जातीय विभेदका अधिकांश घटना गाउँघरमै मिलापत्र हुने कारण पनि उजुरी नआउने गरेको उनको भनाइ थियो ।

प्रहरीमा आउने अन्य उजुरीका तुलनामा जातीय विभेदका कमै मात्र उजुरी दर्ता हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा ६ वटा जातीय विभेदका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा सात वटा, आर्थिक वर्ष २०७८/०७९ मा तीन वटा वटा जातीय विभेदका मुद्दा दर्ता भएका छन् ।

जातीय छुवाछुत तथा भेदभाव कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । कानुनमा कारबाहीको व्यवस्था भएता पनि जातीय विभेदका घटनाहरू बाहिर नल्याएर गुपचुपमै मिलापत्र गर्दा यस्ता घटनाहरू न्यूनीकरण हुन नसकेको अवस्था छ ।


Author

थप समाचार
x