समाज

पोखरामा असारे रोपाइँ महोत्सवको रौनक (फोटो फिचर)

धनबहादुर गुरुङ |
असार १५, २०८० शुक्रबार २१:३६ बजे

पोखरा- पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा शुक्रबार असारे रोपाइँ महोत्सव आयोजना भयो । परिषद्ले हरेक वर्ष असारे रोपाइँ महोत्सव आयोजना गरिरहेको छ । १८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा असार १५ का अवसरमा परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखरा–१३, कसेरी फाँटमा गरिएको हो । स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो ।


पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ किसानको हौसलाका लागि शुक्रबार आयोजित महोत्सवमा पोखरा घुम्न आएका विदेशी पर्यटकसमेत हिलो खेल्दै मज्जासँग रमाए । उनीहरू हिलो छ्यापाछयाप गर्दै रमाएका हुन् । महोत्सवमा पोखरा महानगर मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहे पनि महोत्सवले उत्पादनसहित पर्यटनलाई टेवा पुर्याइरहेको बताए । ‘हामीले पोखराकै उब्जनीले खान पुग्ने वातावरण मिलोस भनेर काम गरिरहेका छौं,’ मेयर आचार्यले भने, ‘यस्तो महोत्सवले पर्यटन र प्रविधिमा जोड दिने काम गर्छ ।’

नेपाल पर्यटन बोर्ड पोखराका निमिक्त प्रमुख नविन पोखरेलले पर्यटन नेपालको आर्थिक आर्जनको राम्रो स्रोत भएको बताए । रोपाइँ महोत्सवले मनसुनमा पनि पर्यटक पोखरा बोलाउन सफल भएको उनको भनाइ थियो । आगामी दिनमा पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पर्यटनमैत्री कार्यक्रम गर्दै जाने उनले प्रतिबद्धता जनाए । पर्यटनको ‘अफसिजन’ मानिने बर्खामासमा पनि विदेशी पाहुनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम अहिले महोत्सवकै रुपमा अघि बढेको महोत्सवका संयोजक कृष्ण भण्डारीले बताए ।

आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बर्सेनि फरकफरक ठाउँमा महोत्सव गर्दै आएकोमा यसपटक ‘रोयल ट्रेक’को प्रवेशद्वारमा आयोजना गरिएको बताए । बर्सेनि गरिने रोपाइँ महोत्सवले विदेशी पाहुना तान्न सफल भएको उनको भनाइ थियो । महोत्सवमा आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड, हिलोमा रस्साकस्सी, घैटो फुटाउने प्रतियोगिता गरिएको प्रतियोगिता उपसमितिका सदस्य शोभाकान्त पौडेलले जानकारी दिए ।

विभिन्न खेलमा नेपालीसँगै विदेशी पर्यटकहरूले पनि भाग लिएका थिए । उनीहरूका लागि नौलो महोत्सव भएका कारण पनि निकै उमंगका साथ हिलो खेलेका थिए । प्रतियोगिताको विजेता खेलाडीहरूले नगद पुरस्कार र मेडल हात पारे । असार १५ कै अवसरमा पोखरा महानगरपालिका ३३ भरतपोखरी र पोखरा २५ हेमजामा पनि रोपाइँ महोत्सव आयोजना भएको थियो । 


Author

थप समाचार
x