समाज

नेपाली युवा पाण्डेले गरे युरोपको सर्वोच्च शिखरको सफल आरोहण

इकागज |
असार १५, २०८० शुक्रबार २०:५१ बजे

काठमाडौँ- नेपाली युवा प्रकाश राज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । यही जुन २८ र २९ तारिखमा पाण्डेले रूसमा रहेको एलब्रस हिमालको दुईपटक सफल आरोहण गरेका हुन् ।

सातै महादेशका उच्च हिमशिखरहरूको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे जुन २१ तारिखमा रूसतर्फ प्रस्थान गरेका थिए ।


एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रूसको दक्षिणी भेगमा ककेशश हिमश्रृंखलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामांग रहेका थिए । जुन २९ को बिहान ९ः०० बजे पाण्डेले एलब्रूस ईस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रूसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

हिमाल आरोहणमा सातै महादेशका उच्च हिमशिखरहरूको आरोहणलाई विशेष मानिन्छ जसलाई सेभेन समिट भनिन्छ । हजारौं पर्वतारोहीहरू मध्येबाट हालसम्म ३५० जति पर्वतारोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । सबैभन्दा कम समयमा सेभेन समिट सम्पन्न गरी विश्व कीर्तिमान कायम गर्ने अभियानमा पर्वतारोही पाण्डे रहेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताएका छन ।

नेपाली युवा आरोही पाण्डेले सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्याण्ड पिक हिमालको समेत आरोहण गरिसकेका छन् । सन् २०१६ देखि आरोहण सुरु गरेका पाण्डेले २०१८ मा सगरमाथाको आरोहण गरेपश्चात नियमित हिमाल चढिरहेका छन् । उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको आरोहण गरेका थिए ।

नेपाल स्काउटका सदस्य समेत रहेका पाण्डेले विश्व स्काउट अभियानका संस्थापक बेडेन पावेलको नाउँमा रहेको बेडेन पावेल स्काउट पिक दुईपटक आरोहण गरिसकेका छन भने विदेशी स्काउटहरूलाई समेत उक्त हिमालको सफल आरोहण गराउन सफल रहेका छन् ।
 


Author

थप समाचार
x