समाज

प्रेम विवाह गरेको एक वर्षमै युवतीकाे रहस्यमय मृत्यु

हत्या गरेर झुण्ड्याएको आरोपमा श्रीमान् पक्राउ

लक्ष्मी भण्डारी |
असार १२, २०८० मंगलबार २०:१३ बजे

सुर्खेत- प्रेम विवाह गरेको एक वर्षमै सुर्खेतको एक युवतीको रहस्यमय मृत्यु भएको छ । सिम्ता गाउँपालिका-६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको भेरीगंगा नगरपालिका-१० छिन्चु बजारको डेरामा शव भेटिएको छ । गएको आइतबार बिहान करिब नौ बजे ‘रहस्यमय’ मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै डेराको पंखामा सन्तोषीको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका-६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेम विवाह गरेकी थिइन् । सन्तोषीका परिवारले यो आत्महत्या नभई श्रीमान् बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । प्रेम विवाह गरे पनि केटाले घर नलिई छिन्चु बजारमै भाडामै राखेको र केटा र घर पक्षले मानसिक तनाव दिइ केटाले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।


केटीको घाँटीमा हातकाे छाप, चोट लागेकाले सन्तोषीले आत्महत्या नगरेको दाबी गर्दै माइती पक्षले रहस्यमय मृत्यु भएको हुँदा छानबिनको माग गर्दै केटा पक्षका विरुद्ध इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश राईले केटासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसहित आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको जनाएका छन् । केटा बालकृष्णसहित उनीहरूका बाबु हिरामणि सुनार, आमा आशा सुनार, दाजु कमल चित्रकार र भाउजु लक्ष्मी चित्रकारविरुद्ध सोमबार किटानी जाहेरी परेको उनले जनाए ।

सन्तोषीका परिवारले केटा पक्षविरुद्ध जाहेरी दिएपछि मेहेलकुना अस्पतालमा शव पोष्टमार्टमका लागि गएका थिए तर मेहेलुकना अस्पतालले विवाद आउनसक्ने त्रासले त्यहाँ पोष्टमार्टम नगरेर नेपालगन्जको भेरी अस्पताल पठाइदिएको छ । घाँटीमा देखिएको दागलगायतको विज्ञता हासिल गरेको डाक्टर नभएको कारण देखाउँदै अस्पतालले सोमबार बेलुका सन्तोषीको शव पोष्टमार्टम गर्न नेपालगन्ज पठाएको थियो । सन्तोषीका आफन्तले मेहेलकुनामै पोष्टमार्टम गर्न माग गरे पनि विवाद आउन सक्ने त्रासका कारण पोष्टमार्टम गर्न नसक्ने भन्दै नेपालगन्ज पठाएको थियो ।

 प्रहरीका अनुसार श्रीमानलाई पक्राउ गरिसकिएको र जाहेरीमा परेकाहरूलाई पनि प्रहरीले नियन्त्रणमा ल्याएर अनुसन्धान भइरहेको जनाएको छ । 


Author

थप समाचार
x