समाज

बझाङ दुर्घटना अपडेट

कानुनमन्त्री सिंह दम्पतीसहित तीन जनाको मृत्यु, चालक र सुरक्षा गार्ड घाइते

दीपक उपाध्याय |
असार ५, २०८० मंगलबार १८:४६ बजे

कैलाली- धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह दम्पतीसहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंहसहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजू जया देवी सिंह रहेका छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजू जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको हाे ।


मन्त्रीसहित पाँच जना सवार गाडी मंगलबार दिउँसो करिब १ : ४५ बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।

गाडीका चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीका सुरक्षा गार्ड दीपेन्द्र भण्डारी रहेका समेत घाइते भएका छन् । चालक जोशीको अवस्था मध्यम र प्रहरी सहायक हवल्दार भण्डारीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ । घाइते दुवै जनाको कोहलपुर मेडिकलमा सघन कक्षमा उपचार भैरहेको छ । 

स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा रहेको मन्त्री सवार गाडी देउरा र बागथलाको सडक खण्डबाट करिब ५० मिटर तल खस्दा मन्त्री सिंह चढेको गाडी कच्याककुचुक भएको थियो । सुरक्षा स्रोतका अनुसार मन्त्रीसहित तीनै जनाको घटनास्थलमै मृत्यु भईसकेको थियो । 

धनगढीबाट मन्त्री सिंहसंगै उनका छोरा अभिषेक पनि साथीसंगै बझाङ गएका थिए । तर, अभिषेक भने मन्त्रीको गाडीको पछाडि अर्को गाडीमा सवार थिए । स्कर्टिङमा खटिएको प्रनानी सुशिल चन्द ठकुरी र अभिषेकसहितको टोलीले उद्धार गरी सिंहसहित पाँचै जनालाई देउरास्थित रितु पोलिक्लिनिकमा पुर्‍याएकाे थियाे । जहाँ उपचारकै क्रममा मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

चिकित्सकले सुरक्षा अधिकारीहरूलाई पनि मन्त्री सिंह, उनकी पत्नी अमृता र भाउजू जयाको मृत्यु भईसकेको जानकारी गराई सकेका थिए । तर, त्यहाँ दुई जनाको मृत्यु भएको घोषणा गरिए पनि सिंह हाई प्रोफाइलका भएकाले उनलाई मृत घोषणा गर्ने जोखिम पोलिक्लिनिकमा कार्यरत एमबीबीएस चिकित्सकले लिन चाहेनन् ।

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूलाई पनि सिंहको मृत्यु भईसकेको कुरा जानकारीमा आईसकेको थियो । प्रदेश सरकारले आफ्ना तर्फ गर्नुपर्ने अन्तिम कोसिस गर्‍यो । र, सिंहलाई त्यही अवस्थामा हेलिकोप्टरबाट कोहलपुर मेडिकल कलेज लगियो । जहाँ चिकित्सकले सिंहको मृत्यु भईसकेको घोषणा गर्‍यो ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x