समाज

गुण्डा नाइके ज्ञानी बनेसँगै फेरिएको ठमेल

अतिन आचार्य |
असार ५, २०८० मंगलबार १९:२४ बजे

काठमाडौँ- २०७४ साल कात्तिक ४ । जब सारा काठमाडौँ मस्त निन्द्रामा थियो ठमेल भने यही समयमा अशान्त बन्यो । राति साढे २ बजेतिर ठमेलको मनाङ गल्लीमा अचानक गोली चल्यो र गोली लागेर गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भए ।

कल्याण ठमेलको सिएनआई डिस्कोबाट निस्किएका थिए । यही समयमा उनीसँगै युवती पनि निस्किइन् । दुवै अपरिचित थिए । कल्याण स्कुटीमा थिए ।


कल्याण युवतीलाई एक्लै देखेर पछि लागे । युवतीले मतलब गरिनन् तर,पनि भर्खरै क्लबबाट निस्केका कल्याणले युवतीको आसय बुझ्न चाहेनन् । उनले निरन्तर पिछा गरिरहे ।

दुवै सोह्रखुट्टेतिर लागिरहेका थिए । अपरिचित युवकले यसरी पिछा नछोडेको देखेपछि ती युवतीले स्कुटी रोकेर कसैलाई फोन गरिन् ।

उनले फोन गरेको केहीबेरमै एउटा कार युवतीको अघि रोकियो । युवती स्कुटी छाडेर युवकको कारमा चढिन् । कार अघि बढ्यो । तर, दशाले कुतकुत्याएका कल्याणले यति हुँदा पनि पिछा छाडेनन् । कारको पछि लागे ।

उनको इगो हर्ट भएको थियो । शान्त पार्न उनले फिल्मको सिको गरेर कारको बाटो छेकेर मोटरसाइकल रोके । यसको क्षणभरमै बिजुली गतिमा गोली आयो र उनको घुँडामा लाग्यो । यो गोली उनले रोकेको कारबाट आएको थियो ।

पेस्तोलधारी युवकले चाहेको भए कल्याणको छातीमै पनि हान्न सक्थे । तर, ति युवकको उद्देश्य ज्यान लिनुभन्दा पनि कल्याणको हिरोगिरी झार्नमा केन्द्रित थियो । कल्याणलाई घाइते छाडेर कार आफ्नो गन्तव्यमा अघि बढ्यो ।

केही वर्षअघि ठमेलका लागि यस्ता घटना सामान्य थिए । दक्षिण भारतीय फिल्मका प्लटझैँ लाग्ने गरी मारपिट र ग्याङ वारका घटना घटिरहन्थे ।

‘ठमेल ‘ भन्ने बित्तिकै पर्यटकीय क्षेत्रसँगै रात्रिकालीन मनोरञ्जनात्मक क्षेत्र, गाँजा, लागूऔषध तथा देहव्यापार, गुण्डागर्दी हुने क्षेत्र, स्वादिष्ट खाना पाइने रेष्टुरेण्ट वा मनमौजी भएर हिँड्ने ठाउँ आदिका अनेक चित्र आउँथे ।

तर, छ वर्षपछि ठमेलको अरु परिचय जेजस्तो भए पनि दैनिक हुने झै-झगडा र लुटपाटको परिचयबाट मुक्त भएको छ ।

कुनै समय ठमेललाई पर्यटकीय क्षेत्रभन्दा पनि बढी गुण्डागर्दीको अखडाका रूपमा लिइन्थ्यो । ठमेल क्षेत्रमा महिनामा एक-दुई पटक गोली चलेकै हुन्थ्यो । दैनिक हातहतियारसहित विभिन्न समूहका युवाहरू पक्राउ परिरहन्थे । पैसा असुली गर्ने गिरोह समेत सक्रिय हुन्थे ।

यसो किन हुन्थ्यो भने त्यसबेला ठमेल नाम चलेका गुण्डाका नाइकेको इलाका थियो । यही सानो ठमेलमा फरक फरक गुण्डा नाइकेले आफ्नो अखडा खडा गरेका थिए । यसमा काभ्रेली समूहको नेतृत्व गणेश लामाले गरेका थिए भने दीपक मनाङे ( राजिव गुरुङ) र डान्सबार चलाएर बसेका काजी शेर्पा थिए ।

यी तीनै जनाले ठमेललाई आधार क्षेत्र बनाएर बसेका थिए । यिनीहरूको नाममा विभिन्न समूहले हप्ता असुली गर्थे । आपराधिक घटनामा पनि यिनीहरूको नाम प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बाहिर आइरहन्थ्यो ।

तर, बदलिँदो राजनीतिक परिवेश र प्रहरीको निगरानीले यि तीनै गुण्डा कहिले लुक्नुपर्ने त कहिले जेल जानुपर्ने अवस्था आइलाग्यो । प्रहरीको नजरबाट बच्न गाह्रो भएको महसुस भएपछि तीनमध्ये मनाङे र लामाले राजनीतिको बाटो समाते ।

मनाङे स्वतन्त्र सांसदका रूपमा गण्डकी प्रदेशसभाका सदस्य छन् भने गणेश लामाले नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य जितेका छन् । कुनै समय कानुनले नगर भनेकै मात्र काम गरिहिँड्ने मनाङे र लामा यतिखेर कानुन बनाउने ठाउँमा पुगेका छन् । सुशासन, सभ्य समाज र राष्ट्र निर्माण गर्ने दौडमा छन् ।

तीन भाइ गुण्डामध्येका अर्का गुण्डा शेर्पा भने ठमेलबाट विस्थापित भइसकेका छन् । छनलाई शेर्पा पनि कानुनकै सेवामा छन् । शेर्पाले आजभोलि सुरक्षाकर्मीलाई रासन पुर्‍याउने ठेकेदारको काम गर्छन् ।

कुनै समय ठमेल गुण्डागर्दी, देहव्यापार र लागूऔषध प्रयोगको केन्द्र र विकृतिको थलो बनेको थियो । तर, अहिले भने यसले आफ्नो परिचय बदल्दै गएको छ । हिजोआज ठमेल शान्त छ । मर्यादित बनेको छ । ठमेलले परिवर्तनका लागि बाटो समाइसकेको स्थानीय व्यवसायी, घरधनी र ठमेल पर्यटन परिषदका पदाधिकारीले बताउँन थालेका छन् ।

स्थानीयको सक्रियताले ठमेलले परिचय बदल्यो

अहिलेको ठमेल पहिलेको जस्तो अशान्त नभएको ठमेलकै घरधनी पूर्णिमा मालाकार बताउँछिन् । पुराना कुरा सधैंभरी स्थायी नरहने र समयअनुसार परिवर्तन हुने भएकाले ठमेल पनि बदलिएको उनको भनाइ छ ।

‘पुरानो ठमेलको समुदायमा सांस्कृतिक र ऐतिहासिक थियो,’  उनले भनिन्,’ यसले आफ्नो स्वरूप बनाएको छ । धेरै मानिस अटेका छ्न् । केही समय आपराधिक क्रियाकलापसमेत पनि बढेको थियो । अहिले भने शान्त छ ।‘

ठमेलमा भगवान बहाल, उत्से जमाली, मोमो केभ र न्यु ओरेलियन्यस केसीज जस्ता पुराना रेष्टुरेण्ट हेर्न पनि विदेशी पर्यटक आउने गरेको मालाकार बताउँछिन् । ठमेलको विकास भएसँगै विभिन्न मुलुकबाट मानिस आउन थालेको उनको भनाइ छ । उनले यहाँको विकास भएसँगै पुराना संरचना हराउँदै गएको चिन्ता व्यक्त गरिन् ।

‘ठमेललाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापन, मनोरञ्जनका लागि आएका मानिसलाई आवतजावतमा व्यवस्थापन गर्नुपर्छ । हर्न बजाएर सडक ठूलो हुँदैन,’  उनी भन्छिन्,’ ठमेलमा सवारीसाधनको ध्वनि प्रदूषणलाई रोक्नुपर्छ । ट्राफिक र नेपाल प्रहरीका साधनले निकाल्ने आवाजले पनि डिस्टर्व गर्ने गरेको छ ।‘

तर, सबैभन्दा ठूलो कुरा शान्ति सुरक्षाको अनुभूत गर्न पाइएको मालाकारले सुनाइन् । ठमेल पर्यटन परिषदका पदाधिकारी, व्यवसायी र घरधनीको सक्रियताले शान्ति सुरक्षा कायम गर्न सफल भएको उनी ठान्छिन् ।

यसका लागि नगर प्रहरी, ट्राफिक प्रहरी र नेपाल प्रहरीको सक्रियताले पनि सुरक्षामा उत्तिकै योगदान पुर्‍याएको छ,’ उनले अगाडि थपिन्,’ सडकमा बेला-बेलामा झै- झगडा हुन्छ । त्यसलाई त्यसरी नराम्रो सोचिहालेको छैन । पहिले भन्दा ठमेल धेरै शान्त भएको छ । ‘

लुटपाट र झैझगडाको घट्ना शून्य

ठमेल पर्यटन परिषदका अध्यक्ष भविश्वर शर्मा विगतमा ठमेल शान्त र व्यवस्थित बन्दै गएको बताउँछन् । विगतमा हुने झैझगडा र लुटपाटको घट्नासमेत शून्य भएको उनी दाबी गर्छन् ।

‘विगत दुई महिनादेखि ठमेलमा २४ घण्टा गस्ती गर्न थालिएको छ,’ उनले भने,’ महानगर प्रहरी, पर्यटक प्रहरी, घरधनी,पर्यटन परिषदका पदाधिकारी र नेपाल प्रहरीका संयुक्त टोलीले रात्रिकालीन समयमा अनुगमन गरिरहेका छन् । अहिले अवाञ्छित गतिविधि शून्य भएका छन् ।‘

उनका अनुसार ठमेल सुरक्षित भएको छ । घुम्न र मनोरञ्जन गर्न आउने स्वदेशी र विदेशी पर्यटक ढुक्क भएर आउँदा हुन्छ । आफू असुरक्षित भएको महसुस हुनासाथ चोक-चोकमा रहेका प्रहरीलाई खबर गर्नुपर्छ । नेपाल प्रहरीको इमर्जेन्सी नम्बरमा जानकारी गराउनुपर्छ ।

विदेशी पर्यटकमाथि हुने लुटपाटको घटना बढेपछि गस्ती बढाइएको शर्माको भनाइ छ । केही समय पहिले भारतीय पर्यटकमाथि लुटपाट भएपछि सबैसँग समन्वय गरेर सुरक्षाकर्मी बढाएर सुरक्षा दिन थालिएको उनले बताए ।

केही समययता रात्रिकालीन समय र दिउँसोमा पनि आपराधिक क्रियाकलाप कम भएको उनको भनाइ छ । विदेशी पर्यटकले दिनभर ठमेल घुमेर सुरक्षितसँग आफूले चाहेको होटलमा बस्न सक्ने उनी बताउँछन् ।

समय-समयमा ठमेलमा हप्ता असुलीका कुराहरू सार्वजनिक भइरहन्थे । शर्मा भन्छन्,’ कुनै पनि व्यवसायीसँग रकम माग्न आउने गरेका सुनेका छैनौँ । त्यस्ता समूहहरू यहाँ कोही छैनन् । केही व्यक्तिहरू भएको नाम सुनिन्थ्यो अहिले कोही पनि छैनन् । उनीहरूको प्रभाव पनि यहाँ छैन ।‘

ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन परिषदले आफ्नै निजी सुरक्षा गार्ड राखी २४ घण्टा गस्ती परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

खाएको बिल नतिरी हिँड्ने गिरोह हराए

दुई दशकदेखि रात्रीकालीन व्यवसायमा संलग्न व्यवसायी सुदीपजंग बस्नेत पनि पहिलाहेरि ठमेल स्वर्ग भएको बताउँछन् ।

‘गुण्डागर्दीको भयावह समय थियो । दिनदहाडै लुटपाट गर्नेदेखि रातको समयमा हिँडडुल गर्न गाह्रो थियो । त्यस समयमा ठमेल भन्नासाथ मानिसहरू फटाहा मानिस मात्र जाने ठाउँ हो भन्थे,’ बस्नेत भन्छन्,’ होटलमा खाएर बिल नतिरे जाने गर्थे । हप्ता असुली गर्न आउँथे । बिल माग्दा पनि तोडफोड गर्ने गर्थे । केही गरेमा आफ्नो समूह लिएर आउने गर्थे ।‘

ठमेलमा असुरक्षाका कारणा कति व्यवसायीहरू यहाँबाट विस्थापित भएको बस्नेतले बताए ।

केही वर्षदेखि ठमेलको रात्रीकालीन समय सुरक्षित र शान्त बन्दै गएको उनको भनाइ छ । उनका अनुसार विगतमा जस्तो गुण्डागर्दीको त्रास छैन । ठमेल आन्तरिक तथा विदेशी पर्यटकका लागि सहज बनेको छ ।

अर्का रेष्टुरेण्ट व्यवसायी पुन्यकुमार लगेजूले केही वर्षदेखि ठमेल शान्त बन्दै गइरहेको बताए । अहिले कुनै पनि समूहको नाममा झै-झगडा नहुने उनको भनाइ  छ । ठमेल क्षेत्रमा अखडा जमाएर बसेका कतिपय व्यक्तिहरूले आफ्नो लागि सुरक्षित स्थान खोजिसकेको उनले प्रस्ट पारे ।

केही मानिसहरू सडकमा बसेर डान्स रेष्टुरेण्ट र मसाज सेन्टरमा जानलाई अनुरोध गरिरहेको उनले बताए । ‘दलालहरूको कारण अलिकति नकारात्मक सन्देश जान्छ,’ लगेजू भन्छन,’ त्यस्ता मानिसहरूको खोजी गरेर पनि पहिचान गर्ने काम भइरहेको छ ।‘

पहिलेको अनुपातमा ठमेल शान्त बनेको उनको भनाइ छ । विगतमा व्यवसायी त्रासमा रहने गरेका तर,अहिलेको वातावरण देखेर व्यवसायी खुसी भइरहेको बताए ।

यो क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सडक बनाउन जडान गर्ने कार्यलाई निरन्तरता दिएको लगेजुले बताए । बत्ती जडान भएपछि शान्ति-सुरक्षामा सहयोग गर्ने उनको दाबी छ ।

प्रहरीको सक्रियताले ठमेल शान्त

महानगरीय प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले ठमेलमा पहिले ग्याङ बनाएर गुण्डागर्दी गर्ने परिपाटी रहेको बताएका छन् । उनका अनुसार त्यस बखत धेरै कुराले गुण्डालाई नियन्त्रणमा लिन असहज थियो । सबैतिर प्रविधिको पहुँच थिएन । सिसिटीभी र अहिले जस्ता मोबाइल विकास भएको थिएन । गिरोहले वितण्डा मच्चाउने गरेका थिए ।

‘अपराधको नाममा असुली हुन्थे । एकले अर्कोलाई हतियारको पनि प्रयोग गर्थे,’ उनले भने,’ धेरै मानिसमा यिनिहरूसँग इगो लिन हुन्न भन्ने भावना पनि थियो । यस्ता समूहले प्रश्रय पाएका थिए ।‘

पछिल्लो समय यिनीहरूका गतिविधि सूक्ष्म रूपले नियाल्दै गएको प्रवक्ता रिजालले बताए । यिनीहरू पनि संगठित रूपमा गरिने अपराधबाट टाढा हुँदै गएको उनको भनाइ छ । मुख्य कुरा प्रहरीको सक्रियताले पनि अपराध निस्तेज हुँदै गएको उनले दाबी गरे ।

आपराधिक गतिविधि हुने ठाउँमा सिसिटिभि जडान गरिएको रिजालले जानकारी दिए । ‘उनीहरूको काममा डिस्टर्व हुने भयो । संगठित गुण्डाहरूको सञ्जाल पनि तोडियो । अहिले उनीहरू छैनन्,’ उनले अगाडि थपे,’ छिटफुट हुने घटना भयो । तर, संगठित रूपमा हुने गुण्डागर्दी हराएको छ ।‘

प्रविधिको विकास, प्रहरीको सक्रियताले पनि ठमेल सुरक्षित र शान्त बन्दै गएको रिजाल दाबी गर्छन् । स्थानीय नागरिक, व्यवसायी सचेत र मर्यादित बनेको उनले प्रस्ट पारे । ठमेलमा रहेका संघ-संस्थाको उत्तिकै भूमिका रहेको उनले सुनाए ।

‘खुकुरी हानाहानको घटना र संगठित गिरोहको अन्त्य हुनुमा स्थानीय नागरिक, मिडिया र व्यवसायीको ठूलो भूमिका रहेको छ,’ उनी सुनाउँछन्,’ सञ्चारमाध्यमले सकारात्मक कुरा लेख्दा व्यवसायीलाई प्रोत्साहन मिलेको छ । अवस्था सकारात्मक हुनासाथ स्थानीय पनि आश्वस्त हुन्छन् । आपराधिक गतिविधि गर्नेको मनस्थिति कमजोर हुँदै जान्छन् ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x