समाज

मागेको मोबाइलमा टिकटक बनाएर तीन साथीले जिते डेढ लाख पुरस्कार

अतिन आचार्य |
असार ४, २०८० सोमबार १७:४० बजे

काठमाडौँ- 'संसारी माया विचित्र मरेर के पो लान्छ र । नगर व्यर्थै लोभी मन, छोडेर जानुछ व्यर्थैको धन । आखिरी एक पेट खानु छ । हाँसी खुसी ज्युँनु छ । अधर्म कहिले नसोच्नु सके पुण्य कमाउनु ।'

यो गीत गौतम बुद्धको मूर्तिसहित पर्दामा देखा पर्न थालेपछि नेपाल पर्यटन बोर्डको सभाकक्ष शान्त बन्छ । एक तमास आँखा पर्दामा तेर्सिन्छ र दर्शकदीर्घामा रहेका सबै मौन बसे । त्यहाँ बुद्धको कुनै वाणी प्रचार गरिएको थिएन ।


भिडियो देखाइएको थियो त केवल 'घुमौँ लुम्बिनी टिकटक च्यालेन्ज' प्रतियोगिताको । यही भिडियो थियो जुन भिडियोले प्रतियोगितामा पहिलो स्थान हासिल गर्यो ।

केही समयअघि नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास परिषदर इरुटेकले लुम्बिनीको प्रचार गर्न टिकटक प्रतियोगिता घोषणा गरेको थियो । सोही जानकारी लुम्बिनी विकास कोषको विहारमा बसिरहेका तीन जना साथीहरूले पनि थाहा पाए । आफ्नै क्षेत्र लुम्बिनीको प्रचार गर्न पाइने भन्दै रामबली लोध (२०), शैलेन्द्र लोध (२०) र सचिन लोध (१८),ले टिकटक बनाउने सुर कसे ।

'साथीको हौसलाले हौसियौँ '

लुम्बिनी उनीहरूको जन्मस्थान पनि हो । तीनै युवा लुम्बिनी सांस्कृतिक नगरपालिका १० का बासिन्दा हुन् । आफ्नो ठाउँकै प्रचार गराउन पनि पाइने भन्दै टिकटक बनाउन हौसिए ।

उनीहरू आफैँ टिकटक चलाउने भएकाले भिडियो प्रतियोगिताको बारेमा पनि टिकटकबाटै थाहा पाए । 'हामीहरू तीनैजना टिकटक बनाउने भएकाले पनि भिडियो बनाउने सजिलो भयो,' पुरस्कार पाएपछि उनीहरूले एकसाथ भने, 'आफ्नो क्षेत्रको बारेमा इन्टरनेटमार्फत सबैमाझ पुर्‍याउन पाइने भएकाले पनि हामी उत्साहित भएर सहभागी भयौँ ।'

अरू बेला पनि तीनैजनाले टिकटक बनाउथे । यो कुरा उनीहरूका साथीहरूले थाहा पाएका थिए । साथीहरूले भिडियो बनाउन सक्छौ भन्ने हौसला दिएकाले पनि भिडियो बनाउने जाँगर पलाएको उनीहरूले सुनाए ।

'तिमीहरूले बनाउन सक्छौ । साथीहरूले क्षमता छ टिकटक बनाएर प्रतियोगितामा सहभागी हौँ भनेर भनेका थिए,' रामबली भन्छन्, 'उनीहरूले भिडियो बनाऔँ हामी धेरै सेयर गरेर तिमीहरूलाई जिताउँछौ भनेका थिए ।'

यो टिकटक चार हजार फर्वाड भएको छ । भिडियोले १ लाख ४३ हजार लाइक र १३ लाख भ्यूज पाइसकेको छ । योसँगै ९ सय ५० सहभागीमध्ये उनीहरूको समूह पहिलो बनेको थियो । उनीहरूले १ लाख ५० हजार रुपैयाँ नगदसहित अन्य पुरस्कार पाए ।

साथीको हौसलाले पनि उनीहरूलाई नेपाल पर्यटन बोर्डको सभाकक्षसम्म ल्याइपुर्यायो । तीनैजना बोर्डको सभाकक्षमा थिए । कक्षको अन्तिम भागमा बसेका थिए ।

टिकटक बनाउने सौख भएपनि प्रतियोगितामै पठाउने गरी भिडियो बनाउन आफूहरूले प्रयोग गरेको मोबाइल काम लाग्दैन कि भन्ने उनीहरूलाई लागेको थियो । त्यसैले उनीहरूले  टिकटक बनाउन नयाँ मोबाइल किन्ने सोच बनाए । तर, तीनै जनासँग मोबाइल किन्ने पैसा पर्याप्त भने थिएन ।

मागेको मोबाइलले पुरस्कार

छेउमा बसेका सचिनले सम्झिए, 'हामीले नयाँ मोबाइल किन्न लागेका थियौँ । पैसा नभएकाले किनेनौँ । गाउँमै रहेका दाइसँग आइफोन १४ प्रोम्याक्स रहेको थाहा थियो । उति गहिरो चिनजान नभए पनि उहाँसँग सहयोग माग्ने निर्णय गर्यौँ ।'

अन्जन दाइलाई उनीहरूले भेटे आफ्नो योजना सुनाए, 'भिडियो बनाउन लागेका छौँ । तपाईँले मोबाइल दिनुपर्‍यो ।' उनले दाजुभाइको उद्देश्य बुझेपछि नाइँनस्ती गरेनन् । यसरी मागेको मोबाइलले टिकटक बन्यो र यसैले उनीहरूलाई डेढ लाख रुपैयाँका पहिलो पुरस्कार दिलायो ।

उनीहरूले मोबाइल पाउनासाथ लुम्बिनी क्षेत्रको भिडियो खिच्न गए । मायादेवी, सानो बुद्ध र तलाउको भिडियो क्यामेरामा कैद गर्न थाले । उनीहरूले तीन दिन लगाएर लुम्बिनी क्षेत्रको भिडियो कैद गरे ।

'सबै भिडियो हामीले एकै दिनमा खिचेनौँ । हामीले बुद्ध जयन्तीको अवसर पारेर एकदिन भिडियो खिच्यौँ,' भिडियो देखाउँदै रामबलीले भने, 'बुद्ध जयन्तीमा मानिसहरूको भिड लाग्ने भएकाले उक्त दिनको पर्खाइमा थियौँ र भिडियो पनि खिच्यौँ ।'

भिडियो खिचेको एक सातामा उनीहरूले भिडियो एडिट गर्न थाले । केही फुटेज मोबाइलमै सम्पादन गरे । बाँकी फुटेज गुरुले दिएको आइप्याडबाट सम्पादन गरे ।

प्रतियोगितामा तीनै जनाले सिङ्गल-सिङ्गल भिडियो पनि पठाएका थिए । यहाँ पनि उनीहरूकाे हात खाली भएनन् । भिडियो पठाएका शैलेन्द्र र सचिनले प्रतियोगितामा 'क्रियटिभ भिडियो’को अवार्ड पनि पाए ।

रामबलीले भिडियो सम्पादन गर्दा नै आफूहरूले कुनै न कुनै अवार्ड जित्ने विश्वास भएको बताए । उनले भने,  'भिडियो खिच्दा र सम्पादन गर्दा नै हाम्रो टिकटकले केही न केही पुरस्कार जित्छ भनेर सोचेका थियौँ । धेरै मेहनत गरेर भिडियो एडिट गरेकाले पनि हामीलाई पुरस्कार जितिन्छ भन्ने आशा जागेको थियो ।'

'जीवन सुख-दुःखको समीश्रण'

भिडियोको विषयवस्तु पनि उनीहरूलाई राम्रो लागेको थियो । बौद्ध भिक्षु भएकाले पनि उनीहरूलाई भिडियो बनाउन र सिर्जनात्मक बन्न सहज भएको थियो । टिकटकमा उनीहरूले बुद्धका वाणीसहितका गीत संयोजन गरेका छन् ।

'गीतमा मानव जीवनसँग जोडिएका भावनाहरू छन्,' गीत छनौट गर्नुको कारण खुलाउँदै शैलेन्द्रले भने, ’जीवन सुख-दुःखको समीश्रण हो, लोभ गर्न नहुने र सरल जीवन बाँच्न प्रेरणा गर्छ । यो गीतको छनौट पनि ठीक भए जस्तो लाग्यो ।'

उनीहरू तीनै जना बौद्ध भिक्षु बनिसकेका छन् । आठ वर्षसम्म गुरुको समीपमा बसेपछि उनीहरू बौद्धमार्गी बनेका छन् । दुई वर्षअघि मात्र उनीहरूले पहेँलो वस्त्र शरीरबाट हटाएका थिए । सोमबार उनीहरू सामान्य पहिरनमा बोर्डको सभाकक्षमा उपस्थित भएका थिए ।

तीनै जना साथीले मोबाइल चलाउन थालेको दुई वर्ष मात्र भयो । मोबाइल चलाउँदा चलाउँदै टिकटक चलाउन जानेका थिए । अहिले पनि तीनै जना विकास कोषको विहारमा बस्छन् ।

काठमाडौँबाट फर्केर गएपछि उनीहरू आफ्नो घर नगई विहार जानेछन् । बाहिर निस्किए पनि नियम र अनुशासनमा बसेका छौँ । बाहिर हिँडे पनि विहारमा अनुशासनमा बस्ने गरेको रामबली बताउँछन् ।

विजेता बनेवापत जितेको पुरस्कारको पैसा पढाइमा खर्च गर्ने उनीहरूले सुनाए । रामबली र शैलेन्द्रले कक्षा १२ को परीक्षा दिएर बसेका छन् । सचिनले भर्खरै एसईईको परीक्षा दिएका छन् ।

'टिकटकबाट राम्रो कुरा पनि लिन सकिन्छ'

कोभिड-१९ यता लुम्बिनी क्षेत्रमा पर्यटकको संख्या घटेको थियो । उनीहरूले पनि पर्यटकको आवागमन कम भएको महसुस गरेका थिए । अहिले भने बिस्तारै पर्यटकको संख्या बढ्दै गएको उनीहरूले बताए । आफूहरूले बनाएको टिकटकले आन्तरिक पर्यटन अभिवृद्धिमा पनि मद्दत पुग्ने उनीहरूलाई विश्वास छ ।

'हाम्रो भिडियोका कारणले गौतम बुद्धको प्रचार धैरै ठाउँमा हुन्छ,' रामबलीले बजिरहेको गीतलाई पज गर्दै भने, 'धेरैभन्दा धेरै मानिसकामा पुगे लुम्बिनीको बारेमा जानकारी हुन्छ र पर्यटकको आगमनमा वृद्धि हुन्छ ।'

टिकटक प्रयोगकर्ताले नराम्रा कुराहरू मात्र देखाउँछन् भन्ने प्रश्नमा उनीहरू भन्छन्, 'चलाउने मानिसमा भर पर्छ । हामीले आफ्नो ठाउँको प्रचार गरेर पुरस्कार हासिल गर्यौँ । राम्रो कुराहरू र आफ्नो क्षेत्रमा लुकेर बसेका पर्यटकीय स्थलको प्रचार गरेर उजागर गर्न सकिन्छ ।'

रामबलीले टिकटकबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण आफूहरूले देखाएको बताए । त्यसैले टिकटकलाई राम्रा कामका लागि प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

२४ घण्टामा यसमा व्यस्त नरहन पनि उनले सुझाव दिए । फुर्सदको समयमा टिकटक चलाएर सूचना लिन तथा ज्ञानवर्द्धक जानकारी लिन सकिने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x