समाज

धरानमा कोकाहाको पानीसँगै खस्यो मेयर हर्कको आँखाबाट आँसु

अतिन आचार्य |
जेठ ३०, २०८० मंगलबार १७:४० बजे

काठमाडौँ- १३ महिनाअघि धरान उपमहानगरपालिकाबाट मेयरको गुमनाम प्रत्याशी भइरहँदा आफ्नो घोषणापत्र सार्वजनिक गर्दै मेयर हर्कराज राईले लेखेका थिए, 'खानेपानीको दीर्घकालीन आपूर्ति गर्न सप्तकोशीबाट स्रोत थप्ने । सरकार, जनता तथा दातृ संस्था मिलेर र जितेर गएको एक हप्तादेखि ताकेता गरेर प्रक्रिया सुरु गर्नेछु ।'

उनले थपेका थिए, 'यो काम आफैँ लागेर फनफनी घुमेर पूरा गर्नेछु ।' 


नभन्दै वाचा गरेअनुरूप मंगलबार उनले धरानमा कोकाहाबाट पानीको पहिलो खेप झार्न सफल भएका छन् । तर, यसरी वाचा गरे अनुरूप पानी झर्दा मेयरका आँखाबाट आँसु झरेका थिए ।

साम्पाङ चुपचाप मेयरको प्रत्याशी बन्दा धरानको सबैभन्दा मूल समस्या खानेपानीलाई मुख्य अजेन्डा बनाएका थिए । नभन्दै धरानवासी उनको यही अजेन्डामा सहमत देखिए र दलका बलिया उम्मेदवारलाई पाखा लगाउँदै मेयर चुनिएका थिए । उनले पानीलाई मुख्य बनाउनमा  खडेरी मौसममा धरानका चौक र गल्लीका धारा सुकेका देखेका थिए । रित्ता गाग्री र गिलनका लाइन देखेका थिए । 

सपथ लगत्तै उनी खानेपानीका लागि पाइप बोकेर शिवजट्टा पुगेका थिए । मेयर साम्पाङ खानेपानीको पाइप मर्मत गरि फर्केका थिए । साम्पाङले त्यसयता खानेपानीका लागि निरन्तर श्रमदान अभियान चलाइरहेका छन् ।

पछिल्लो समय मेयर साम्पाङ काकाकुल धरानलाई खानेपानी खुवाउने अभियानलाई सफल बनाउन कोकाहा नदी पुगेका छन् । धरान बजारदेखि ४० किलोमिटर टाढा रहेको कोकाहामा उनी श्रमदान अभियान लिएर पुगे ।

श्रमदान अभियान सुरु भएको ९८ औं दिनमा गए राति कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसेको छ। मेयर साम्पाङले चलाएको श्रमदान अभियानले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाउने गरेको थियो । धेरै उनकाे अभियानमा सहमत थिए भने कोही आलोचक । 

कोकाहाको पानी पकुवा खोलामा झर्दा मेयर साम्पाङ आफैँ त्यहाँ पुगेका थिए । मध्यराति कोकाहाको पानी वास आउट प्वाइन्टमा खसेसँगै मेयर साम्पाङ खुसीले रोएका थिए । 

धरान १० का कर्ण लिम्बू कुनै समय नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता थिए । स्थानीय, प्रदेश र संघको निर्वाचनमा उनको मत कांग्रेसकै उम्मेदवारलाई विजय गराउन मत खस्थ्यो । तर, धरान कांग्रेसले मेयर साम्पाङको अभियानलाई साथ नदिए पनि लिम्बूले भने केही सातादेखि साथ दिइरहेका छन् ।

पानी सबैका लागि आवश्यक रहेकाले स्वतन्त्र मेयरलाई साथ दिने गरेको लिम्बू बताउँछन् । चार-पाँच शनिबार मेयर साम्पाङको श्रम अभियानलाई साथ दिएको उनले जानकारी दिए । 

‘धरानको अभिभावक मेयर सबैलाई खानेपानी पुर्‍याउन लागिरहनु भएको छ,' उनले भने, 'मेयर नै श्रमदानमा लागिरहँदा आफू पनि साथी र परिवारसहित अभियानमा गएका थियौँ ।'

मेयर साम्पाङले चलाएको अभियान व्यक्तिका लागि नभइ समग्र धरानका लागि भएकाले साथ दिएको लिम्बू बताउँछन् । ‘श्रमदान मात्र नभइ आर्थिक सहयोग पनि गरेका छौँ,' उनले थपे, 'हामी स्वःस्फूर्त खानेपानीको पाइप तान्न गएका हौ । कसैले पनि जाऔँ भनेर भन्न आएका छैनन् ।'

यसअघि वैशाख-जेठमा खानेपानीको टयांकर मगाएर पानी भरेको अनुभव लिम्बूसँग । अहिले भने धारामा नियमित पानी आइरहेको उनको भनाइ छ । मेयर साम्पाङ स्वतन्त्र उम्मेदवार भएकाले पनि उनको अभियानलाई सहयोग गरिरहेको उनले बताए ।

‘धरानमा रहेका पुराना राजनीतिक दलका जनप्रतिनिधि आशा नजाग्दा स्वतन्त्र उम्मेदवारको विजयीलाई सहयोग गरिरहनु परिरहेको छ,' उनको भनाइ छ, 'यसअघि विजयी भएका उम्मेदवारले जनतालाई खानेपानीका लागि डोर्याउन नसक्नु उनीहरूको कमजोरी हो । हाम्रा लागि उनी हिँडेकाले अभियानमा साथ दिएका हौ ।'

मेयर साम्पाङको श्रमदान अभियान सुरुदेखि साथ दिइरहेका विष्णु सिङ्ग धरानको हितका लागि श्रमदान अभियान चलाएकाले सहभागी भइरहेको बताउँछन् । मेयरले आफ्नो हित भन्दा अरुका हित सर्वोपरी ठानेकाले अभियानमा साथ दिइरहेको उनले बताए ।

चैत, वैशाख र जेठको रापिलो गर्मीमा पनि श्रम अभियानमा सहभागी हुनेको कमी भएन । धरानदेखि ४५ किलोमिटर टाढाको नदीमा खानेपानी खोज्दै मेयर साम्पाङ पुगे पुग्दा उनको साथलाई साथ दिन हज्जारौँ मानिस पाइप तान्दै पुगे ।

शनिवबारबाहेक करिब ३ सय मानिस श्रमदान अभियानमा सहभागी हुने गरेको सिङ्गकले जानकारी दिए । ‘श्रमदान शनिबार ३ हजार भन्दा बढी मानिसको उपस्थिति रहन्थ्यो,' उनी भन्छन्, 'धरानका मानिस मात्र सहभागी थिएनन् । देशभरिका अन्य मानिसको उत्तिकै सहभागी रहेको थियो ।'

श्रमदान अभियानमा आर्थिक सहयोग भन्दा पाइप सहयोग गर्नेको संख्या बढी हुने गरेको उनले सुनाए । ‘कार्यक्रम स्थलबाट पाइप बोकेर जानेदेखि र कसैले आफ्नो सवारीसाधनमा पुर्‍याउने गर्थे,' श्रमदान गर्न आउनेहरूको भीड सम्झँदै भने ।

श्रमदान अभियानले गएराति मात्र पकुवा खोलामा पानी झार्न सफल भएको कुरा उनले उत्साहित हुँदै सुनाए । इकागजसँग सिङ्गकले कुरा गर्दा आफू श्रमदान अभियानमा मै रहेको बताएका थिए ।

कोकाहाको पानी पकुवा खोलामा झारिसकेपछि मेयर साम्पाङले धरानवासीकै लागि खानेपानी पुर्‍याउन धेरै मेहनत गर्नुपरेको बताएका छन् । श्रमदान अभियान र धरानको खानेपानीको स्तरोन्नति गर्न धरानवासीको ठूलो हात रहेको उनको भनाइ छ ।

‘धरानमा असोजदेखि पानीको अभाव हुने तर यसपटक वैशाख र जेठ सम्म पनि भएको छैन,' मेयर साम्पाङ भन्छन्, ' जेठको २-३ दिन गर्मी भएर पानीको सर्टेज देख्यो ।'

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x