समाज

भ्रष्टाचारविरुद्ध दलकै नेताहरूले घोषणा गरे वृहत् नागरिक आन्दोलन

बाबुराम भण्डारी |
बैशाख २८, २०८० बिहीबार १९:२२ बजे

विराटनगर- नक्कली भुटानी शरणार्थी प्रकरणको सही तरिकाले छानबिन गर्न माग गर्दै विराटनगरमा दलकै नेताहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले वृहत् नागरिक अभियानको नाममा ट्राफिक चोकमा दैनिक शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम समेत तय गरेको घोषणा गरेका हुन् । 

बिहीबारको प्रदर्शनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस), नेपाली कांग्रेस (विपी) लगायतका दलसम्बद्ध चिनिएका नेताका अनुहार र तिनै दलका भ्रातृ संगठनमा बसेका व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएको हो ।


पहिलो दिनको प्रदर्शनमा विराटनगरको नागरिक आन्दोलनमा अगुवाइ गर्दै आएका व्यक्तिहरू पनि उपस्थित थियाे । उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणहित देशका प्रमुख भ्रष्टाचारका घटनाको छानबिन गर्न माग गरिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नेपाली कांग्रेसका संस्थापन इतरका नेता कार्यकर्ताहरू बढी उपस्थित थिए । पहिलो दिनको कार्यक्रमको संयोजन नै कोशी प्रदेशका पूर्व प्रदेश सभा सदस्य तथा कांग्रेसका पूर्व प्रमुख सचेतक सुयर्माराज राईले गरेका थिए । आफ्नो पाँच वर्षे कार्यकालमा ढुंगा, गिटी, बालुवा तस्करीका मुद्दामा डटेर आवाज उठाएका राई अहिले नागरिक समाजको प्रतिनिधित्व गर्दै सडकमा उत्रिएका छन् ।

‘देशभित्र यत्रा भ्रष्टाचारका काण्ड मच्चिएका छन्, यस्तो बेलामा सबै जना स्वतस्फुर्त आन्दोलनमा उत्रिएका छौं,’ उनले सम्बोधनका क्रममा भने, ‘भ्रष्टाचारको विरोधमा रहेका सबै जना यो आन्दोलनमा सहभागी हुनै पर्छ, किनभने हामीले कुनै पार्टी वा विचारको विरोध गरेका होइनौँ ।’

प्रदर्शनमा भ्रष्टाचारविरुद्धका अभियन्ता दिनेश श्रेष्ठ, अर्थविद् प्राडा भेषप्रसाद धमला, महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक डा.उद्वव पोखरेल, संसदीय पत्रकार मञ्च कोशीका अध्यक्ष गणेश लम्साल, अभियन्ता अभिषेक भट्टराई लगायत सहभागी थिए । 

त्यसैगरी नेपाली कांग्रेस मोरङका पूर्व सचिव यदु बिष्ट, कांग्रेस महानगर समितिका सभापति दिपक चापागाईँ, कांग्रेस विपीका जनार्दनराम निरौला, रामचन्द्र गौतम, एमालेका पशुपति नेपाल लगायतका युवा अभियन्ताहरू पनि सहभागी थिए । उनीहरूले कुनै पनि पार्टीका भ्रष्टाचारीलाई नछोड, भ्रष्टाचारको महामारी निर्मूल पारौँ, कानुनले काम गर्दैछ–राजनीति चुप लाग, सरकार ! हिम्मतको आभार–खुट्टा कमाए खबरदार, भ्रष्टाचारीको नर्कमा बास होस् लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x