समाज

प्रहरी दमनपछि मिटरब्याज पीडित आतंकित : भन्छन्– प्रहरी हाम्रो साथी कि दुश्मन ?

कमल विष्ट |
बैशाख ६, २०८० बुधबार १३:३३ बजे

सोमबार दिउँसो प्रहरीले बल प्रयोग गरेपछि मिटरब्याज पीडित किसानहरू यतिबेला आतंकित बनेका छन् । मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्न विभिन्न जिल्लाबाट काठमाडौं आएका पाँच सय बढी किसानहरू मंगलबार दिनभर पनि प्रहरीको त्रासमै थिए । 

रत्नपार्कको शान्तिवाटिकामा अस्थायी शिविर बनाएर बसिरहेका पीडितलाई दिनभर एउटै कुराले सतायो– कतै प्रहरीले आज पनि हामीमाथि अनाहकमा लाठी बर्साउने त होइन ?


शान्तिवाटिकाको मूल गेटमा प्रहरी अत्याचारको विरोधमा विभिन्न नारा लेखिएका पोस्टर छन् । तीमध्ये एउटामा लेखिएको छ– प्रहरी हाम्रो साथी कि दुश्मन ? 

गेट वरपर बाक्लो संख्यामा प्रहरी तैनाथ थिए ।

शान्तिवाटिकामा जो पनि आउँथे, किसानहरू शंकासाथ हेर्थे । उनीहरू कसैसँग कुरा गर्न मानिरहेका थिएनन् । कतिसम्म भने सञ्चारकर्मीलाई पनि शंकाकै नजरले हेर्थे । जोकोही आउँदा पनि उनीहरूलाई लाग्थ्यो– कतै यो प्रहरी वा सिआइडी त होइन ? धेरै त टहराबाटै निस्किएनन् ।

प्रहरी आतंककै कारण उनीहरू दिनभर कतै निस्किएनन्, अघिल्लो दिन प्रहरीको लाठीबाट बनेका घाउहरू सुम्सुम्याउँदै बसे । 

सोमबार मध्यान्ह शान्तिपूर्ण आन्दोलन गर्न रत्नपार्कबाट भद्रकाली जान लागेका पीडितमाथि प्रहरीले बल प्रयोग गर्दा ५० बढी किसान घाइते भएका छन् । घाइतेमध्ये कसैको टाउकोमा गहिरो चोट छ त कसैको हात भाँच्चिएको छ । कसैका हातखुट्टा सुन्निएका छन् त कसैका शरीरभर निलडाम छन् । 

शरीरमात्र होइन, उनीहरूका टहराका त्रिपालहरू पनि च्यातिएका छन् । वाटिकाको पूर्वपट्टी रहेको भान्सा घरको त्रिपाल पनि धुजाधुजा भएको छ । भाँडाकुडा भुइँमा लडेका छन् भने ग्यास सिलिण्डर यत्रतत्र छरपस्टिएका छन् । स्पीकर फुटेको छ ।

मिटरब्याजविरोधी अभियन्ताहरूलाई चिन्ताले गाँजोको थियो । सबैको अनुहार निन्याउरा थिए । अभियन्ता मनोज खतिवडा आफ्नो एक दशकको राजनीतिक जीवनमा यस्तो दमन कहिल्यै नदेखेको बताउँछन् । ‘मैले आफ्नो एक दशक लामो राजनीनिक जीवनमा प्रहरी यति दमनकारी भएको देखेको छैन,’ खतिवडाले इकागजलाई भने, ‘शान्तिवाटिकामा बसिरहेका किसानमाथि प्रहरी बर्बर हुनुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पाखण्डपना छताछुल्ल भएको छ ।’

उनले अगाडि भने, ‘सोमबार १२ बजे हाम्रो भद्रकालीमा शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम थियो । त्यसै अनुरुप हामी बाहिर निस्कन खोज्दै थियौँ, तर प्रहरीले हामीलाई बाहिर जानै दिएन । आन्दोलन गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै प्रतिकार गर्न खोज्दा प्रहरीले हामीमाथि निर्ममतापूर्वक बल प्रयोय गर्यो । ५० बढी साथीहरू घाइते हुनुभयो ।’

घाइते हुनेमा महिलाहरू बढी छन् । महिलालाई पनि पुरुष प्रहरीले कुटेको खतिवडाको आरोप छ । यतिमात्र होइन, प्रहरीले भित्रै आएर आफूहरूका टहरा भत्काएको, भाडाकुडा फालिदिएको, स्पिकर फुटालिदिएको र सामानहरू लुटपाट गरेको उनको भनाइ छ । 
‘प्रहरीले हिजो यहाँ जस्तो व्यवहार गर्यो, त्यो लुटेराहरूले गर्छन् । किसानलाई टहराबाट झिकिझिकी कुटियो । स्पिकर फोडियो । प्रहरीले हाम्रो ग्याँस सिलिण्डर पनि लुटेको छ,’ खतिवडाले क्रोधित हुँदै भने । 

घटनापछि प्रहरीले आन्दोलनकारीसँग भाटा, इटालगायत अन्य हतियारजन्य सामग्री भएको जिकिर गरेको छ । ती सामग्रीसहित आन्दोलनमा हिँड्न लागेका उनीहरूलाई रोक्न खोजेपछि मुठभेड भएको र त्यसमा परेर केही आन्दोलनकारी घाइते भएको प्रहरीले जनाएको छ । कुनै पनि प्रकारको बल प्रयोग नगरेको प्रहरीको दाबी छ । 

तर, प्रहरीको जिकिर शतप्रतिशत गलत भएको खतिवडा बताउँछन् । ‘हामीसँग भएका लाठाहरू कसैलाई प्रहरी वा कसैलाई कुट्न थिएन । ती झन्डा र टहराका लागि ल्याइएका लाठाहरू थिए । इटा हामी आउनु पहिल्यै यहीँ थिए । हामीले तिनको प्रयोग टहराको त्रिपाल च्याप्न गरेका थियौँ,’ उनले भने, ‘प्रहरीले झन्डाका ससाना लाठीलाई हतियार भन्यो ।’

उनले थपे, ‘प्रहरीको खण्डनको कुनै अर्थ छैन । ती भ्रामक कुरा हुन् । उनीहरूलाई गृहमन्त्रीले जे आदेश दिए, त्यही गरे । यो सब गृहमन्त्री श्रेष्ठको खराब नियत र पाखण्डपनाका कारण भएको हो ।’

अर्का अभियन्ता नीर्ग नवीन सरकार मिटरब्याजीका मागप्रति गम्भीर नभएको बताउँछन् । सरकारसँग आफूहरूले व्यवहारिक र स्पष्ट माग राखे पनि सरकार ती सम्बोधन गर्नेप्रति उदासिन रहेको नवीनको आरोप छ । 

‘सरकारसँग हामी ६ पटक वार्तामा बस्यौँ । तर, सरकार हाम्रा माग सुन्नै चाहँदैन । उनीहरू मुद्दामाथि नै केन्द्रित नभएपछि हामीले वार्ता भंग भएको घोषणा गर्यौँ । सरकार हाम्रा मागप्रति जुनदिनसम्म गम्भीर हुँदैन, हामी वार्तामा बसेर समय खेर फाल्दैनौँ,’ नवीनले भने ।

मिटरब्याज पीडित र सरकारबीच यसअघि तीन पटक सम्झौता भइसकेको छ । तर, ती कार्यान्वयन हुन सकेका छैनन् । जसै पीडितहरू काठमाडौंबाट गाउँ पुग्छन्, सरकार सम्झौता रद्द्ीको टोकरीमा थन्काउँछ । 

सरकारले आफूहरूसँग यसअघि पटकपटक घात गरिसकेकाले अब उधारो वाचा लिएर घर नफर्किने पीडितहरूको संकल्प छ । उनीहरूले यसपालिको आन्दोलनलाई ‘निर्णायक आन्दोलन’को संज्ञा दिएका छन् ।

नवीन भन्छन्, ‘यसपालि बरु यही मर्छौँ, तर माग पूरा नभएसम्म हामी घर फर्किँदैनौँ । गृहमन्त्रीले जतिसुकै गैरजिम्मेवार बने पनि हामीहरू यसपटक गल्नेवाला छैनौँ ।’

प्रहरी दमनको चौतर्फी भर्त्सना

मिटरब्याज पीडित किसानमाथि भएको दमनको मानव अधिकार आयोग र नागरिक समाजले पनि भर्त्सना गरेका छन् । बृहत नागरिक समाजले प्रहरी दमन विरुद्धमा बुधबार दिउँसो ३ बजे ‘मानव अधिकार मार्च’ गर्ने घोषणा गरेको छ ।

बल प्रयोगको विषय मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसद्‍मा सरकारले पीडितलाई छिटो न्याय नदिलाए आफूहरू आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । 

छानबिन गर्न टोली गठन 

सरकारले घटनाबारे छानबिन गर्न काठमाडौँका सहायक सिडियो देवी पाण्डे खत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । पाण्डेको संयोजकत्वमा बनेको समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र मन्त्रालयको एक–एक जना प्रतिनिधि सहभागी छन् ।

सरकारले छानबिनका नाममा गठन गरेको समितिको कुनै अर्थ नरहेको नवीन बताउँछन् । ‘यो हास्यास्पद हो । बल प्रयोग गर्नेले नै छानबिन समिति बनाउनुको कुनै अर्थ छैन,’ उनले भने । 

यस्ता छन् पीडितका ६ बुँदे माग

पीडित किसानले सरकारसँग छ बुँदे माग रोखका छन् । मिटरब्याजीका नाममा भएका सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतका माग मिटरब्याज पीडितहरूको रहेको छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x