समाज

टोकेर कान चुँडालेको घटनामा पनि प्रहरीले गरायो मिलापत्र

इकागज |
चैत १४, २०७९ मंगलबार १७:४३ बजे

मकवानपुर- आपसी विवादले चर्को रूप लिएपछि हात हालाहालको अवस्था आइलाग्यो । हातपातमा एकले अर्कोको कान टोकेर चुँडालिदिए, घटना प्रहरीमा आइपुग्यो । तर, प्रहरीले लिखित रूपमा मिलापत्र गरेर पठायो ।

यो घटना हो मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिकाको ।​


गाउँपालिकाको घटनामा आफू पीडित भएको भन्दै किटानी जाहेरी दिन आएका पीडितलाई प्रहरीले नै धम्क्याएर मिलापत्र गराएको पीडितको गुनासो छ । मकवानपुर प्रहरीले पछिल्ला केही महिनायता जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउँदै आएको छ ।

सोर्स, फोर्स र भनसुनका आधारमा अपराधका घटनामा पनि मकवानपुर प्रहरीले जाहेरी लिएर कानुन बमोजिम कार्बाही गर्नुको सट्टा लिखित रूपमा मिलापत्र गराउने गरेको भेटिएकाे हो । विशेषगरी कुटपिटका घटनामा प्रहरीले ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराउनुको सट्टा दबाब वा त्रास देखाएर पीडित पक्षलाई थप पीडा दिनेगरी लिखित रूपमा​ मिलापत्र गराउने गरेको हो ।

पछिल्लो घटना मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट गर्दै कानै टोकेर छिनाल्दा समेत मकवानपुर प्रहरीले जाहेरी लिन नमानेको र पीडकलाई मात्रै हैन पीडितलाई समेत कार्बाही हुन्छ भन्दै मिलापत्र गराएको गुनासो छ । जाहेरी लिएर कानुन अनुसार कार्बाही गर्नुको सट्टामा लिखित रूपमा नै मिलापत्र गराइएको हो ।

सोमबार बिहान ११ बजे आफ्नै बारीमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा कान नै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिइन् ।

संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले आफूकाहाँ जाहेरी लिएर नआएको दाबी गरे । कान टोकेर छिनाइएका व्यक्तिले पनि कुटपिट गरेको र दुवै पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखित रूपमा मिलापत्र गरेर गएको कार्कीले बताए ।

गम्भीर खालका विषयमा पनि प्रहरीले मिलापत्र गराउने यो पहिलो घटना होइन । विभिन्न समयमा मकवानपुर प्रहरीले कुटपिटका घटनामा पीडितलाई थप पीडा दिने गरी दबाबमा मिलापत्र गराउने गरेको छ । न्यौपाने र अन्य दुई जनाका बीच ऐलानी जग्गाको विषयमा झगडा भएको र कुटपिट गरेर कान समेत छिनाइएको हो ।

सामान्य विवाद जसरी ज्यानै मार्ने उद्योगलाई पनि सामसुम पार्न खोजेको लोहनीले गुनासो गरिन् ।


Author

थप समाचार
x