समाज

निरोगीलाई रोगी बनाउने सिंहदरबार वैद्यखाना

स्थानीय भन्छन् : बाँच्‍न पाउँ

सृजना खड्का |
बैशाख २५, २०७८ शनिबार ९:४ बजे

काठमाडौँ : पुतलीसडक बस्‍ने सरिना पिया शनिबार नयाँ घर सर्ने तरखरमा छिन् । नयाँ घर सर्दा मानिसमा जुन खालको उत्साह हुन्छ उनमा ती कुनै उत्साह छैनन् । कारण- सिंहदरबार वैद्यखाना र त्यहाँबाट दैनिक निस्किने कालो धुवाँको मुस्लो । घरको जग खन्दादेखि अहिलेसम्म उनी यो विषयलाई लिएर स्वास्थ्य तथा वातावरण मन्त्रालय, वातावरण विभाग, काठमाडौँ महानगरपालिका र प्रहरी चौकी जस्ता थुप्रै ठाउँमा पुगिसकिन् । तर, सबैको साझा उत्तर आउँछ- ‘यो विषय हाम्रो मातहतभित्र पर्दैन ।’ 

केही दिन पहिले मात्रै उनलाई वातावरण विभागले ‘हामीले सुझाव मात्र दिन मिल्छ, कारवाही गर्न मिल्दैन’ भन्‍ने ओठे जवाफ दिएर फर्कायो । ‘वैद्यखानामा गएर पनि धेरै पटक भनिसक्यौँ’, सरिना भन्छिन्, ‘हाम्रो कुरा कसैले सुन्दैन । आधिकारिक व्यक्तिसँग कुरा गर्दा खाली बोर्ड मिटिङमा कुरा राखौँला भन्‍ने तर्क मात्रै आउँछ ।’


सरिना र उनका छिमेकी मिलेर ‘सुरक्षित भएर बाँच्‍न पाँऊ’ भन्दै धेरै ठाउँमा गएर निवेदन दिइसकेका छन् । निवेदनमा उनीहरूले वैद्यखाना उद्योगबाट निस्किने धुवाँले सास फेर्न गाह्रो हुने, घाँटी सुख्खा हुने तथा आँखा पीरो हुने उल्लेख गरेका छन् । वैद्यखानाको टिनको छानासमेत खोलेर धुवाँ छोडेको र हावा आउँदा टिनको छानो उडाएर बस्ती वरिपरिका मानिसहरूलाई ज्यानको समेत जोखिम भएको उनीहरूको गुनासो छ । 

स्थानीय पद्म महर्जन पनि २० वर्षदेखि यो समस्या झेल्दै आइरहेका छन् । उनी आफै ७३ वर्षका भइसके । उनका बुवाले पनि यो विषयमा निकैपटक आवाज उठाएका थिए । ‘जति भने पनि टेर्दै टेर्दैनन्, वास्तै गर्दैनन्,’ उनले गुनासो गरे, ‘कराउन जाँदा एक दुई दिन बन्द गर्छन्, फेरि उस्तै । बिहान १० बजेदेखि निस्किन थालेको धुवाँ राति पनि यत्तिकै छाडेर जान्छन् ।’

सरिनालाई केही समयअगाडि वैद्यखानाबाट एउटा बचन आएको छ । वैद्यखानाले धुवाँ नआओस् भन्‍नको लागि चिम्‍नी राख्‍ने बचन दिएको छ । तर, बजेट आएपछि मात्र । सरिना भन्छिन्- ‘बजेट कहिले आउने, चिम्‍नी कहिले बन्‍ने । बजेट नआएसम्म हामी यसै उकुसमुकुसमा बस्‍ने ?’

धुवाँ कसरी आउँदो रहेछ भनेर वैद्यखानाभित्र एकदिन सरिना हेर्न गइन् । ‘सस्तोमा पाउने भएकाले काँचो दाउरा बाल्दा रहेछन्,’ उनी भन्छिन्, ‘चुलो पनि उही जमानाको रहेछ । गाउँमा सुधारिएको चुलो बनाउने लहर आइसक्यो । सहरको अवस्था यस्तो छ ।’औषधि उत्पादन गरेर बिरामी निको बनाउने वैद्यखानाले उल्टै वरपरका मानिसलाई बिरामी बनाएको सरिनालाई कत्ति पनि चित्त बुझेको छैन । ‘कोरोनाको महामारीमा मान्छेलाई यसै श्वासप्रश्वासको समस्या हुन्छ,’ उनी भन्छिन्, ‘त्यसमाथि दिनकै धुवाँ खाएर बस्दा सद्दे मान्छे पनि बिरामी हुन्छ ।'

स्थानीय ७५ वर्षीया रीता खाँणका श्रीमान्को मृत्यु तीन वर्षपहिले दमकै कारण भयो । उनलाई हरेक दिनजसो अक्सिजन लगाउनुपर्थ्यो । ‘बाहिर धुवाँ हुन्थ्यो, घरभित्र मान्छेलाई अक्सिजन लगाउनुपर्थ्यो,’ उनी भन्छिन्, ‘छ-सात वर्ष पहिले उहाँले पनि आवाज उठाउनुभएको थियो । कतै सुनुवाइ भएन ।’

अहिले पनि घरमा धुवाँ आउनेपट्टिको झ्याल उनीहरू कहिल्यै खोल्दैनन् । सात वर्षीया नातिनीको स्वास्थ्यमा असर गर्ला भनेर उनलाई बढो चिन्ता छ । ‘आफ्नो त बुढेसकाल लागिहाल्यो, ढुङ्गामुडा गर्न जाने कुरा भएन,’ उनी भन्छिन्, ‘नातिनातिनाको भने असाध्यै पिर लाग्छ ।’

सरिना भन्छिन्- प्राइभेट भएको भए सरकारले प्रहरीले बन्द गर्थ्यो होला । सरकारले नै सञ्चालन गरेको वैद्यखानाको गुनासो लिएर अब हामी कहाँ जाने, कसलाई भन्‍ने ? केही स्थानीय त औषधि फ्याक्ट्रीबाट आएको धुवाँले केही असर गर्दैन भनेर चुप बसेका छन् । ‘तर, धुवाँ जे को भए पनि त्यसले स्वास्थ्यलाई असर गर्ने भएकाले हामी चुप लागेर बस्‍न सकिरहेका छैनौँ,’ सरिनाले इकागजलाई भनिन् ।

सिंहदरबार वैद्यखानाका तत्कालिन प्रवन्ध निर्देशक डा. वंशदीप खरेलले यसलाई व्यवस्थित गर्नका लागि विगतदेखि नै योजना बनाएको बताउँछन् । ‘चिम्‍नी बनाउने भन्‍ने कुरा उठेको थियो,’ उनी भन्छन्, ‘त्यहाँ समस्या छ । यो साँचो हो । मेरो कार्यकालमा केही समय धुवाँ निकाल्ने काम रोकेको पनि थिएँ । यो विषयमा अहिले पनि साथीहरूले बोर्डमा कुरा उठाइरहेका छन् ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x