समाज

नगराइन नगरपालिकाले गर्मीमा सिरक वितरण गर्दै

सुभाष कर्ण |
चैत ४, २०७९ शनिबार २०:१९ बजे

जनकपुरधाम- धनुषाको नगराइन नगरपालिकाले जाडो गइसकेपछि फाइबर सिरक बाँड्न सुरु गरेको छ ।

नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सूर्यनारायण साहले जाडोबाट जोगिन भन्दै आफ्नो वडाका ज्येष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई सिरक वितरण गरेका हुन् ।


वडा कार्यालयले शुक्रबार नगरप्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णको उपस्थितिमा वडा नम्बर–७ का २ सयभन्दा बढी ज्येष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई फाइबार सिरक वितरण गरेको हो ।

वडाध्यक्ष साहले वडाको ७ लाख रुपैयाँ बजेटबाट ३०१ ज्येष्ठ नागरिक, दलित एवं अपाङ्गलाई फाइबर सिरक वितरण गर्ने योजना ल्याएको छ । उनले २ हजार २ सय रुपैयाँको दरले एउटा सिरक खरिद गरिएको बताएका छन् ।

गर्मीयाममा फाइबर सिरक वितरणको औचित्यबारे वडाध्यक्ष साहले भने, 'यो पूर्वनिर्धारित कार्यक्रम हो । तर, नगरपालिकामा लामो समयसम्म विवाद रहेको कारण समयमा वितरण गर्न सकिएन । विवाद अब समाधान भएपछि वितरण गरेका हौं । नगरसभामा ढिलाई हुँदा ढिलो भएको कारण पनि ढिला भएको हो तर खराब हुन नसक्ने भएकाले आगामी जाडोमा पनि काम लागिहाल्छ ।'

यता, स्थानीयले भने शितलहरमा जसोतसो गुजारा गरेका नगरवासीलाई गर्मीमा सिरक वितरण गरेर वडा कार्यालयले मजाक नै बनाएको गुनासो गरेका छन् । स्थानीय एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘जाडो समाप्त भएर गर्मी सुरु भएपछि नगराइन नगरपालिकाले न्यानो सिरक वितरण सुरु गर्नु मजाक होइन त यो के हो ।’

बितेको जाडो र शीतलहरमा गरिब विपन्नहरू प्रभावित भएको विभिन्न समाचार माध्यमले समाचार सम्प्रेषण गरे पनि न त वडाले ध्यान पुर्‍याए न नगरपालिकाले चासो लिए । गर्मीमा सिरक बाँड्नुको मूल उद्देश्य नै त्यसबाट कमीसन खानु रहेको स्थानीयको भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x