समाज

स्ट्रेन्थलिफ्टिङकी अन्तर्राष्ट्रिय स्वर्णधारी दीपालाई सुन्दरहरै‌चाले दियो खेल सामग्री

बाबुराम भण्डारी |
फागुन २३, २०७९ मंगलबार १४:० बजे

विराटनगर - स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस (आईबीपी) को अन्तर्राष्ट्रिय प्रतियोगीतामा नेपालका लागि गोल्ड ल्याइसकेकी खेलाडी दीपा विष्टलाई मोरङको सुन्दरहरैंचा नगरपालिकाले खेल सामग्री प्रदान गरेको छ । मोरङको सुन्दरहरैंचा–११ की दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी च्याम्पियन अन्तरगत आईबीपीमा स्वर्ण तथा स्ट्रेन्थलिफ्टिङमा रजत पदक जित्न सफल भएकी थिइन् ।


उनलाई सुन्दरहरैंचाका मेयर केदार प्रसाद गुरागाईंले ट्रयाक सुट, टिसर्ट, ड्रेस र नेपालको झण्डासहितको झोला हस्तान्तरण गरेका हुन् । मेयर गुरागाईंले खेल क्षेत्रबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल बिष्टलाई नगरपालिकाको लोगोसहितको खेल तथा अन्य आवश्यक सामग्रीहरू प्रदान गरिएको जानकारी दिए । ‘उनी अत्यन्तै प्रतिभावान खेलाडी हुन्, गोल्ड मेडल पाइसकेकी छन्, फेरि पनि खेल्न लागेकिले हामीले हौसलाका लागि सहयोग गरेका छौं’ मेयर गुरागाईंले भने, ‘आगामी खेलमा नगरपालिकाको पहिचानसहितको खेल सामग्रीहरू र अन्य लजिष्टिक सामग्रीसहित विदाई गरेका हौं ।’

विष्ट यही फागुन २६ देखि २९ गतेसम्म काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस च्याम्पियनशीपमा पुनः भिड्ने तयारीमा रहेकी छिन् । त्यसका लागि उनले भारतमा गएर करीव तीन महिनाको तयारी तालिम समेत लिएकी हुन् । विश्व स्ट्रेन्थलिफ्टिङ फेडेरेशनसँगको सहकार्य तथा नेपाल स्ट्रेन्थलिफ्टिङ फेडेरेशनको आयोजनामा हुन लागेको च्याम्पियनशिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलंका खेलाडी भिड्दैछन् ।

विष्टले यस पटक पनि नेपाललाई विश्वभर चिनाउने गरी आफूले खेल प्रदर्शन गर्ने तयारी गरेको बताइन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने तयारी गर्दैगर्दा आफ्नो नगरपालिकाले खेल सामग्रीहरू उपलब्ध गराएर आफूलाई थप हौसला प्रदान गरेको विष्टले बताइन् । विष्ट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्दै आए पनि संघीय र प्रदेश सरकारबाट भने कुनै पनि प्रोत्साहन पाएकी छैनन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x