समाज

खै मेरो सोलु खोला ?

पुष्प श्रेष्ठ |
माघ २७, २०७९ शुक्रबार १७:१ बजे

पहिलाको सोलु खोला ।

सोलुखुम्बु- भौगोलिक बनावटको आधारमा सोलुलाई चार भागमा विभाजन गरी हेर्न सकिन्छ । हिमाली, लेकाली, पहाडी र बेसी । यिनै चार भागलाई एकसाथ अँगालेर बग्ने खोला सोलुखोला जसले सोलुखुम्बुलाई चिनाएको छ । जुन खोला दूधकुण्ड नगरपालिका हुँदै नेचा सल्यान गाउँपालिकामा आएर दूधकोशीमा मिस्सिन पुग्दछ । यो खोला दूधकोशीको एक महत्वपूर्ण सहायक खोलामा पर्छ ।

सोलुखुम्बु जिल्लाको एकमात्र नगरपालिकाका रूपमा रहेको सोलुदूधकुण्ड नगरपालिका अन्तर्गत वडा नं. १ टाक्सिन्दुमा पर्ने (दूधकुण्ड) नुम्बुर हिमाल र कार्यलुँग हिमालबाट हिउँ पग्लेर बनेको प्राकृतिक पोखरीलाई छिचोल्दै वरिपरि रहेका ससाना तलहरूसँग मिसिँदै अगाडि बढ्छ ।


४५ सय मिटरको दूरीबाट साठी कोस दक्षिण सदरमुकाम सल्लेरीको पश्चिम भएर बग्ने सोलु खोला समुद्र सतहबाट पाँच हजार छ सय पचास मिटरमा रहेको चोर्कमा पोखरीबाट निस्कने पानी लिएर आउँछ ।

त्यतिमात्र हैन, यसले बेनी खोला पिके, लामजुरा र कालांग पर्वत मालाको पूर्वी ढालमा बग्ने सम्पूर्ण पानी यही खोलामा मिसिए नुम्बुर कर्पाेलुगंबाट उत्पत्ति हुने बेनी खोला र सलुगँ खोला लोदिगँ नजिकै दोभानमा भेट भएर अगाडि बढ्छ । त्यही खोला आज बगरमा परिणत भएको छ ।

दूध कुण्ड हिमाल । 

सोलुखोला त्यत्तिकै हराएको र बगरमा परिणत भएको भने होइन । यो खोलामा जलविद्युत् आयोजना निर्माण गरेका कारण आज हराएको छ । केही वर्षअघिसम्म हिउँदमा समेत डरलाग्दो गरी कुर्लने खोला आज पूर्ण रूपमा सुकेको छ । न ऊसँग पानी छ, न ऊसँग जलचर नै । छ त केवल बगर, बगरबाट पनि लगिसके बालुवा, गिट्टी, ढुँगा । 

विकाशको नाममा विनाश भने झै सोलुखोलाले पनि त्यही विनाश भोगिरहेको छ । मुहानदेखि चुहानसम्म स्वच्छन्द रूपमा बग्ने सोलु खोला आज जलविद्युत् निर्माणको नाममा पूरै सुकाइदिएको छ । जलविद्युत् व्यवसायी भनौं कि पानीभित्र र वरपर बस्ने जलचरहरूको हत्यारा, जलविद्युतका नाममा आज सोलुखुम्बुको एउटा चिनारीलाई बगरमा परिणत गरिदिएको छ । 

केही वर्षअघिसम्म एउटा गरिबको छाप्रो त्यही खोलाको माछा बेचेर चल्थ्यो । त्यति मात्र होइन, हिन्दूलगायत बौद्ध धर्ममा आस्था राख्नेहरू सोलु खोलाको पूजालाई उधौली र उभौली भनेर दुईचोटी पुज्ने गर्दथे । तर, आज त्यसरी पुजिने खोलामा न पानी रह्यो न चिसो पानीमा रम्ने माछा नै । अन्य जलचर त झन् रहने कुरा नै भएन । 
विकासको नाममा विद्युत् त बन्यो, तर स्थानीयवासी सबै चुप भइदिँदा विद्युत् उत्पादकले नियमानुसार खोलामा छाड्नै पर्ने न्यूनतम पानीलाई समेत कैद गरी टर्बाइन घुमाउन कुलोमा पठाए ।

एउटा मात्र मात्र विद्युत् उत्पादन गृह भएको भए सायद खोलाले आफ्नो इज्जत बचाउँदै बग्थ्यो होला । तर, के गर्ने उत्पादकलाई पैसा कमाउनु छ । सोलुखोलाको बगर देखेर चिन्तित जनता उही बेला सचेत भइदिएको भए आज हामी माझको त्यो सग्लो खोला खुसीसाथ हजारौ जलचरहरूलाई जीवन दिँदै अगाडि बढ्थ्यो होला । तर, जनता सचेत नभइ दिँदा अनि नेताहरू चुप लाग्दा ‘खै खोला सुक्यो’ भन्ने दिन आएको छ । हाम्रा सन्ततीहरूले अब सोलुखोला हैन सोलु बगर देख्न थालेका छन् ।

शायद नेताहरूले स्थानीय जनतालाई आज देखिएको परिस्थितिबारे जानकारी मात्र गराइदिएको भए हामीले खोलाको डिलमा बसेर निधारमा हात लगाउनु पर्दैनथ्यो । तर, एउटै खोलाबाट अप्पर, मिड, लोअर, लगाएत विभिन्न नाममा खुलेका कम्पनीहरूले आज खोलालाई पूर्ण रूपमा नियन्त्रणमा राखेका छन् । 

एउटा उत्पादन केन्द्रबाट खोलामा पानी झर्न नपाउँदै अर्को उत्पादन केन्द्रले पानी जम्मा गरिसकेको हुन्छ । विगतमा थुनेर माछा मार्छु भन्दा सानो ठाउँबाट छोको लाउन समेत नसक्ने खोला आज ठूला–ठूला फलामे पाइपहरू भित्रबाट ती पानी अदृष्य रूपमा बग्न बाध्य छ । 

यसरी प्रकृतिले दिएको पानीलाई दोहन गरी पैसा कमाउने उद्देश्य राख्नु सामाजिक रूपमा कतिको उपयुक्त हो । पानीबाट उत्पादित विद्युतले सोलुखुम्बुका जनताले के सुविधा पाउँछन् । सेयरको नाम उठाइने रकमको पारदर्शिता होला तर उत्पादित विद्युतको लागत र नाफा कति जनताले खोजेको समयमा सहज तरिकाले पाउन सक्छन् ? आज खोला सुकाउनेले भोलि स्थानीयको आवाज नसुकाउला भन्न सकिन्न ।

अहिलेको बगर सोलु खोला ।

अब के हामी त्यही सुकेको खोला हेर्ने कि खोज्ने ? पानी लैजान ठूला–ठूला चट्टानहरू फोरिएका छन् । जमिन हल्लिएको छ । सल्लेरी पहिरो प्रभावित क्षेत्र हरेक वर्ष सानातिना पहिरो गइरहने ठाउँ, त्यसमाथि जलविद्युत् निमार्णको नाममा लाखौ रुख काटिए पहाडको बीचमा बसेको सदरमुकामको फेदमा छियाछिया पारेर खनी प्राकृतिक रूपमा बसेको जमिन खलबलाई दिए । अब त्यही ठाउँबाट पहिरो गयो भने त्यसको जिम्मेवारी कसले लिने ? एक रुख काटिँदा कति रुख रोप्ने भन्ने पनि नियम होला । तर, प्रभावित क्षेत्रमा आजसम्म कतै रुख रोपियो ?

बिस्तारै सडक भासिन थालेका छन् । आयोजना क्षेत्रका घर जमिन चर्किन थालेका छन । यसको उचित व्यवस्थापन कसरी गर्ने ? खोला थियो बगर भयो । बगरबाट ढुंगादेखि बालुवा, रोडा रातारात सकिँदैछ । भोलि जमिन नै नरहे सोलु खोलाबाट उत्खनन गरी चोरी ल्याएको सामग्रीले बनाएको घर रहला नरहला । एकपटक सोच्ने की ?

खाेलाको संरक्षण हामी सबैको कर्तव्य हो । नियमानुसार उत्पादकले बोलेका र लेखेका कुरा अक्षरंश पालना होस् । खोलालाई खोलाका रूपमा बग्न दिनुस् । आज प्रकृतिले दिएको खोलालाई रोकेर पैसा कमाउँदै हुनुहुन्छ होला । कुनै दिन प्रकृति रिसाउँदा तपाईंको मोजमस्ती एक झट्कामा विनाश गरिदिन्छ । त्यसैले सोचौँ । एकपल्ट सोलुखोला उत्पादन मात्र हैन सोलुखोलालाई संरक्षण पनि गरौँ । 


Author

थप समाचार
x