समाज

मानवता भरिएका यी मनहरू

सरिता दाहाल |
भदौ २५, २०७९ शनिबार २१:५ बजे

मकवानपुर- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै छ । देशै चुनावमय भएको बेलामा पत्रकारको ध्यान स्वभावैले यसै तर्फ हुनै पर्‍यो । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको लागि एकै साथ निर्वाचन हुने तय भएपछि नेताहरु टिकट लिने दाउमा दौडधुपमा छन् । मतदाताहरू आफ्नो क्षेत्रमा कस्तो व्यक्तिलाई कुन पार्टीले टिकट दिने हो भन्नेमा चाख दिइरहेका छन् । 

रिपोटीङको शिलशिलामा राजनीतिभन्दा बाहिरिएर समाजलाई हेर्ने रहर भएर मानव सेवा आश्रम पुगे । अक्सर त्यहाँ पुग्दा छुट्टै संसार पुगेको आभास हुन्छ । तँछाडमछाडको यो दुनियाँमा यस्ता व्यक्तिहरू पनि छन् जसलाई चुनावी चासो पटक्कै छैन । छ त केवल सडकमा को भाैतारिरहेको छ ? उसले कहिलेबाट खान पाएन ? उसको स्वास्थ्य तथा मानसिक समस्या के  छ ? उ कसरी सडकमा आयो, कसरी व्यवस्थापन गर्ने भन्ने बारे । 


मानवताले भरिएको यस्ता मनकारी व्यक्ति सहजै भेटिँदैनन्, र त भन्ने गरिन्छः कलियुगमा मानवताको खडेरी पर्यो । मानवता हराउँदै आएको आभास धेरैले गर्लान तर, मानवताको आभाष गर्न एक पटक मानव सेवा आश्रम जानुस् । जहाँ आफ्नै परिवारबाट अपहेलित व्यक्तिहरू सबैभन्दा खुसी र सुखी जीवन जिइरहेका छन् । मकवानपुरको हेटौंडा ९ लामसुरेधापमा रहेको मानव सेवा आश्रमको मुख्य द्वार प्रवेश गरें । आश्रमका वार्डेनले प्रवेशद्धार मै ‘जय मानवता’ भन्दै अभिवादन गर्नुभयो र चन्दनको टिका लगाइदिनुभयो ।

सम्मान र माया कसले रुचाउँदैन र ? ममता र सद्भावले भरिएको व्यवहारले सबैको मन तान्छ । म भित्र पसे आश्रमका जिल्ला संयोजक हुमनाथ पौडेलले पनि आदरका साथ भन्नुभयो ‘जय मानवता ।’ अरु पत्रकार साथीहरु पनि त्यहीँ भेटिए । आश्रमतिरै तानिइरहेको मेरो मनले ममता र सद्भाव नै प्रकट खोजिरहेको थियो । तर, आफूले दर्शाएको आदर कम पर्छ भन्ने आभाष भइरहने रहेछ हामीलाई, मैले त्यै ‘फिल’ गरें । सडकपेटीको जीवन कसैको रहर हुदैन । तर जीवनमा विभिन्न घटनाले मान्छेलाई सडकमा मात्र पुराउँदैन् जिउँदो लाश झै बनाउँछ न कुनै लक्ष्य हुन्छ न कुनै सपना र गन्तव्य नै । यस्तै मान्छेहरुले नदेखेको सपनाको संसार हो मानव सेवा आश्रम । जो तीनै मान्छेहरुको सहारा बन्दै आएको छ ।
 
विगत एक दशकदेखि अशक्त, अनाथ, अपांग, असहाय र मानसिक सन्तुलन गुमाएर व्यवारिसे बन्दै सडकपेटी, मठमन्दिर पाटीपौवामा जीवन खोजिरहेकाहरुको सहारा बन्दै आएको हो मानवसेवा आश्रम । 

आश्रमले दशकको यात्रा पुरा गर्दै गर्दा हालसम्म देशभरबाट ७ हजार २ सय ६३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेको छ ।  देशभरको १९ जिल्लाका २३ वटा सेवा केन्द्रहरुमा १ हजार ४ सय ८० र मुख्य कार्यालय हेटौंडामा २ सय जनालाई हाल आश्रय दिइरहेको छ । आश्रमका संस्थापक/अध्यक्ष रामजी अधिकारीलगायत झण्डै ३ सय जना अभियन्ताहरु शहरको सडक र कुनाकुनामा मानवताको प्रवद्र्धनमा लागि परेका छन् ।  

यो आश्रमका टिम र पछिल्लो वर्षहरुमा देशको तीनै सरकारको सहयोगले नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने महाअभियान नजिक पुग्दै गरेको बताउँछन् अधिकारी । आश्रमको मानवता प्रवद्र्धन महाअभियान अन्तर्गत २०८० सालसम्म देशभर आश्रमको भवन निर्माण कार्य सम्पन्न गर्ने २०८१ मा सडक मानवहरुको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमहरु गर्ने र सडक मानवहरुलाई व्यवस्थापन गर्दै २०८२ मा देशलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र घोषणा गर्ने अभियानमा छन् अभियन्ताहरु ।

अनिंदो रातले जन्मायो मानवसेवा आश्रम

सबैतिरबाट परित्यक्त व्यत्तिको उद्धार गर्ने र जीनव दिने सोच कसरी आयो ? हामीले आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई सोध्यौ: उनले ती दिन सम्झिए

“मानसिक अवस्था गुमाएकाहरुलाई एकै ठाउँमा भेला गरेर यसरी सेवा गरौंला भन्ने कुनै सोच, कल्पना योजना थिएन । सर्वोत्कृष्ट जीवन सास्वत चिन्तन, साँचो जीवन निर्माण अभियानका अभियानकर्मी थिए म (रामजी अधिकारी र केही साथीहरु । 

यो अभियानको एक वर्ष पुगेको अवसरमा हामीले २०६९ साल जेठ २३ गते सडक मानवसँग सहभोज (पिकनिक) गर्ने मनसाय भयो । साथीभाईहरु बीच सधै पिकनिक गरिन्छ उहाँहरुसँग पनि गरौ भन्ने लाग्यो । हेटौंडाको बनस्खण्डी मन्दिरमा सहयोगापेक्षी मानवसँग पिकनिक कार्यक्रम गर्ने तयारी भयो । जसमा हेटौंडाका विभिन्न स्थानमा सडकमा बस्नुभएका १८ जना आमाबुबालाई पिकनिक कार्यक्रममा ल्यायौ । उहाँहरुलाई नुहाइदियौ, कपाल काटिदियौ, नयाँ कपडा लगाइदियौ, हामी अभियन्ता, साधक साधिका सबै मिलेर खायौं रमायौं ।

कार्यक्रममा हेटौंडा नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, सिडिओ कार्यालयका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । हामी सानो औपचारीक कार्यक्रम गर्न लागिरहेका थियौ । एक्कासी मौसम गडबडी भयो । पानी पर्न थाल्यो । पानी पर्न थालेपछि सहभागी अतिथिहरुलाई पनि सडक मानवहरुको छानाको बारेमा चिन्ता भयो । अतिथि सबैले सडक मानवहरुको लागि राख्ने एउटा स्थानको अभाव भएको महसुस गर्नुभयो ।

औपचारिक कार्यक्रम सकियो उहाँहरु फर्कनु भयो । साँझ पर्दै आयो हामी पनि फर्कने बेला भयो । अब हामी आयोजकलाई फसाद प¥यो, सडकबाट उठाएर ल्याइएको उहाँहरुलाई अब कहाँ राख्ने । मन्दिरमै छाड्ने कुरा पनि भएन । उहाँहरुको लागि बासको व्यवस्था पनि हामीले गर्न सकेनौ । भारी मनका साथ उहाँहरुलाई बिहान जहाँ जहाँबाट उठाएर ल्याएका थियौ त्यहीँ त्यहीँ छाडेर फर्कियांै । त्यो रात उहाँहरुमाथि आफूहरुले गरेको व्यवहार सम्झेर धेरै छटपटी भयो । सुत्न सकिएन ।

अनिदो रात कटेपछि हामीले भोलीपल्ट नै २ वटा फ्ल्याट भाडामा लिएर ति आमा बुबाहरु खोज्न गयौं । तर १८ जना छोडेर गएकोमा ५ जनामात्रै भेट्न सफल भयौँ । उहाँहरुको फिरन्ते स्वभाव हामीले छाडेको ठाउँमा कहाँ भेटिनुहुन्थ्यो र ? अनि हामी (संस्थाको संस्थापक सुशिला केसी (रुपा) र सुमन बर्तौला) नियमित सडकबाट यस्ता व्यक्तिहरुको उद्धारमा लागि रह्यौ । पछिपछि अरु अभियन्ताहरुको साथ थपिदै आयो । अहिले झण्डै ३ सयको हाराहारीमा समर्पित अभियन्ताहरु देशभर छौ ।

हालसम्म हामीले देशभरबाट ७ हजार २ सय ६३ जनालाई उद्धार गर्यौ । हामीलाई सुरुवातको दिनमा धेरैले पागलपन भन्थे । सरकारले गर्न नसकेको काम, पाटन अस्पतालले गर्न नसकेको काममा किन हात हालेको भन्नेहरु धेरै हुनुहुन्थ्यो । 

साँच्चै मानसिक समस्या भएकाहरुलाई सम्हाल्न धेरै गाह्रो छ । घरमा एक जनालाई मात्रै मानसिक समस्या भयो भने त कत्रो आपत आइ लाग्या जस्तो हुन्छ । हामी कहाँ अहिले पनि १ सयभन्दा बढी त मानसिक समस्या भएका बुबा आमाहरू नै हुनुहुन्छ । उहाँहरु मध्ये कसैको स्वभाव कसैसँग मिल्दैन । उहाँहरुको आ आफ्नै स्वभाव हुन्छ, उहाँहरुलाई न त अनुशासनको कुरा लाग्छ न त कुनै नैतिकता र सही सोचाइको । दिशा पिसाबको भर हुन्न । बोल्ने कुराको भर हुन्न, न हिडने कुराको । धेरै जसोलाई खाना समेत खुवाइ दिनुपर्छ, सरसफाइ गरिदिनुपर्छ ।

यस्तो काममा स्वभाविक रुपले सेवामा समस्या छ । तर, प्रेमपूर्ण रुपमा हामीले सेवालाई स्वीकार गरेका छौ, र यो संभव भएको छ । हाम्रो एउटा समूह नै बनेको छ अहिले । स्थानीय, प्रदेश तथा संघीय सरकारले पनि हामीलाई साथ दिएको छ । उहाँहरुलाई दायित्वबोध गराउन सक्षम भएका छौ । यही हो उपलब्धि ।

नर्स, सवारी चालकबाहेक देशभर गरी झण्डै ३०० जना समर्पित अभियन्ताहरु छौ । हेटौंडामा ३० जनाभन्दा बढी अभियन्ताहरुले अभिभावकत्व गर्ने समूह छ  । हाल आश्रित १ हजार ४८० जना मध्ये झण्डै २ सय जना भारत, बंगलादेश, चिनियाँ, बेलायत लगायतका हुनुहुन्छ । हामीले ५ जनालाई बंगलादेशमै गएर पारिवारिक पुर्न मिलन गरायौ । बेलायतीलाई पनि हामीले राजदूतावाससँग समन्वय गरेर बेलायत पठायौं । भारतीय नागरिकलाई त प्रत्येक दिन जसो नै परिवारसँग पुर्न मिलन गराइ नै रहेका हुन्छौं । सडकबाट मात्रै हैन घरैमा बाँधेर राखेको मान्छे पनि उद्धार गरेका छौं । मान्छे भएर जन्मिएपछि मान्छेकै रुपमा बाँच्न पाउनु पर्छ ।

ती दिनको समस्या हालमा सहजतामा पनि एक दमै याद आउँछ । हामीले नै मागेर गुजारा चलाएका हौं सुरु सुरुका दिनमा । हेटौंडाको कुनै त्यस्तो घर छैन, जहाँ हामीले बोरा बोकेर ढोका ढकढक गरेर मुठ्ठी दान नलिएको होस, सबै घर घरमा पुगेर दान उठाएका छाैं ।

अब हामी रित्तो बोरा बोकेर घरघरमा जाँदैनौ, हामी कहाँ भरिएका बोरा लिएर मानवताको पुजारीहरु आफैं आउनुहुन्छ । जन्म दिन मनाउने, पितृको तिथिमा आश्रममा बसोबास गर्दै आउनु भएकाहरुलाई भोजन गराउनेहरुको साथ छ । अब खुवाउनको लागि समस्या छैन, आजकै दिनमा पनि आगामी ९० दिनको भोजन सेवा बुकिङ भैसकेको छ । हेटौंडा कार्यालयमा मात्रै अभियन्ता समेत गरी २५० जनाको लागि खाना एकै भान्छामा पाक्छ । हामी एकै साथ खान्छौ । सबैले संगीतमय वातावरणमा । कसैले आश्रममा एक छाक भोजन गराउन चाहेमा १६ हजार जति खर्च लाग्छ । एक पटकको खाजाको व्यवस्था गर्न चाहेमा ८ हजार र बिहान बेलुकी खाना र बिहान दिउँसो खाजा समेत खुवाउन चाहेमा ३० हजार योगदान गर्न कोही तयार भए पुग्छ । यहाँ सात्विक भोजन खुवाइन्छ, माछा मासु चल्दैन, अरु पेय पदार्थको त कुरै भएन ।

किन मान्छे सडकको जीवनमा आइपुग्छन् ?

एउटा मुख्य कारण गरिब हो, अर्को कारण नैतिकतामा आएको स्खलन । परिवारबाटै मेरो मान्छे राखिदनु पर्‍यो मासिक खर्च दिन्छु भन्नेहरुको प्रेसर आउँछ अहिले हामीलाई । हामीले स्वीकार गर्ने गरेका छैनौं । आफ्नो परिवारलाई आफैंले हेर्नुपर्छ भनेर हामीले परामर्श गर्ने गरेका छाैं । अर्को चाहिं मान्छेहरु अभावले भन्दा स्वभावले रोगी र दुखी हुने रहेछ । घरको सामान्य झगडाको कारण तेरो घरमा तैँ बस भन्दै सडकमा आइपुग्नु भएको पाएका छौ, उहाँहरु चै चाँडै पारिवारिक पुर्न मिलन हुने गरेको छ । 

अर्को समस्या सरकारको नीतिमा पूर्णता भएन । ऐन कार्यान्वन नभएको कारण पनि माग्ने र जीवन चलाउनेहरु छन् । आर्थिक रुपले सम्पन्न भएकाहरु पनि माग्न बसेका पाएका छौ । ट्याक्सी चढेर आउने सडकमा माग्ने र साँझ ट्याक्सीमा चढेर फर्कने गरेको पनि पाएका छौ । हामी गहिरो अनुसन्धान गरेर मात्रै उद्धार गर्छौ  । 
पछिल्लो वर्षहरुमा कोभिड १९ को कारणले मानिसहरु सडकमा आउनेहरुको सङ्ख्या ह्वात्तै बढ्यो ।  अहिले कहीँ कतै बेवारिसे व्यक्ति देखिएमा आश्रममा फोन आउने गरेको छ । दैनिक जसो थपिने र पारिवारिक मिलन गराउने काम जारी हुने भएकोले आश्रममा बस्नेहरुको संख्या एकनास हुँदैन । 

आश्रमले आफैं पनि समय समयमा एम्बुलेन्स लिएर जिल्लाको विभिन्न स्थानमा सडकमा मानवको खोजी गर्दै हिँड्ने गरेको छ । 

सुखले बाँच्ने ठाउँः स्थानीयवासी

स्थानीय प्रकाश पौडेल विगतको बेदना मनभरी झलझल याद आउने बताउँछन् । “विगतमा गुजारेको पीडा र आजको सहज दैनिक आकाश पाताल फरक छ” उनले भने “उहाँहरुको कपाल काट्ने ठाँउ, खाने ठाँउ, सुत्ने र आराम गर्ने  ठाउँ हेर्दा हामी मध्ये धेरैको घरमा यस्तो व्यवस्था छैन, यहाँ आइपुगेपछि लाग्छ, जो सबैभन्दा बढी परित्यक्त थियो उ सबैभन्दा आलिसान जीवन जिइरहेको छ ।” 

जीवनको हक सबैलाई सरोबरी हुन्छ । जीवनमा सबैभन्दा बढी मान सम्मान र सुख पाउने ठाँउ मानव सेवा आश्रम बनेको बताउँछन् पौडेल । हेटौंडा ९ का वडा अध्यक्ष शुकराम केसीका २ छोरीहरु त यसै अभियानमा समर्पित छन् । चितवन र बुटवलमा उनका २ छोरीहरुले सेवा गरीरहेका छन् । “स्थानीय सरकारमा भएकाले मैले गर्नुपर्ने काम हो यो, त्यसैले पनि आश्रमलाई मेरो खाँचो जहाँ पर्छ म तयार छु” उनले भने “हामीले सकेको अभिभावकत्व गरिरहेका छौ ।”

पराशर्मः परिवारमा फर्काउने विधि 

जब सडकबाट उनीहरुलाई उद्धार गरेर ल्याइन्छ । आश्रमको अभियन्ताको एउटा समूह नै उद्धार गरिएकाहरुसँग बस्छन् । छाना खाना नाना सहित स्वास्थ्योपचार पाएपछि उद्धार गरिएकाहरुको मुहारमा विस्तारै खुसी भरिन्छ । उनीहरुलाई आफ्नो परिवारको बारेमा भन्न कुनै समस्या रहन्न भन्ने भएपछि अभियन्ताको परामर्श टोलीले बिस्तारै कुरा खोतल्दै जान्छ ।

परिवारको अवस्था कस्तो छ ? को को हुनुहुन्छ ? कहाँ हुनुहुन्छ,  सडकमा कसरी आइयो । सबैकुरा प्रेमले सोधेपछि मानसिक रुपमा स्वस्थ्य हुनेहरुले सबै बताउँछन् । प्रेमपूर्वक ढंगले परिवारको महत्व सम्झाउँछन् । जब उद्धार गरिएकाहरुले आफू आफ्नो घर फर्कन इच्छा प्रकट गर्छन, अनि परिवारसँग सम्पर्क गरेर बोलाइन्छ ।

परिवारसँग गहिरो गरी परामर्श गरेर, दायित्व बोध गराएपछि मात्रै आपसी भेट गराइन्छ र पुर्न मिलन गराइन्छ । हालसम्म आश्रमले आफूले उद्धार गरेका मध्ये ३ हजार ४०९ जनालाई पारिवारिक मिलन गरेको छ । मुख्य कार्यालय हेटौंडाबाट मात्रै ७५८ जनालाई आफ्नो परिवारसँग पुर्न मिलन गराएको छ । उहाँहरु मध्ये केही भने फेरि सडकमै आएको कारण पुनः उद्धार गरेर आश्रममा ल्याइएको छ ।

“परिवारसँग प्रेम पूर्वक मिलन गराएर पठाएपछि पुन परित्यक्त हुने अवस्थामा नआओस् भनेर हामीले पुर्न मिलन गराउँदा एकदम ध्यान दिने गरेका छौ” आश्रमका मकवानपुर जिल्ला संयोजक होमनाथ पौडेलले भने “तर पनि कहिले काहिँ सोचेको भन्दा विपरीत नतिजा आउने गरेको छ ।” 
झण्डै २० प्रतिशत व्यक्तिहरु परिवारमा फर्केर पनि पुनः सडकमा आउने गरेको आश्रमले जनाएको छ । उनीहरुको सुखद पारिवारिक मिलन नभएसम्म आश्रमले फलोअप गरिरहेको हुन्छ ।

महिलाको सवालमा भने पारिवारिक पुर्न मिलन हुने सम्भावना एकदमै कम रहेको बताउँछन् उनी । सडकपेटीमा आएको मान्छे किन लैजाने बरु हामी यहाँ आर्थिक सहयोग गछौं भन्ने कुरा आउँछ । नेपाली परिवार मूल्य मान्यताको कारण यहाँ पनि महिला नै बढी पीडित छन् । परिवारले लगिहाले पनि एकदम नैतिक दबाबको कारण मात्रै लैजाने गरेको उनले बताए । “पुरुषहरुलाई मुस्कानका साथ लैजानुहुन्छ, उद्धार गरिदिएकोमा आश्रमप्रति आभार प्रकट गर्नुहुन्छ, तर महिलालाई लैजानु पर्दा मुस्कान हैन, ठुस्कानका साथ, टाउको उता फर्काएर बाध्य भएर लैजानु हुन्छ” अधिकारीले भने “यसरी लगिएकाहरु फेरि सडकमै आउने, परिवारबाट परित्यक्त हुने संभावना बढी हुन्छ ।” 

बच्चा माग्दै २०० वटा निवेदन

आश्रममा जन्मेका बालबालिकालाई आफ्नो सन्तानको रुपमा राख्न बच्चाको माग गर्दै २०० वटा निवेदन आश्रममा आएको छ । नेपालको कानुन अनुसार बालबालिकालाई अरुको जिम्मेवारीमा छाड्ने सहज नियम छैन । अहिले अदालतले नै मानसिक अवस्था गुमाएका आमाबाबुका सन्तान नदिन निर्देशन गरेको छ । हाल मानसिक अवस्था गुमेकी आमाले पछि सञ्चो भएपछि बच्चा माग्यो भने के भन्ने ? भन्ने व्याख्या अदालतको छ । “कानुनी जटिलता एकातिर छ, अर्को कुरा हामीलाई (आश्रमलाई) पनि त उत्तराधिकारी चाहियो नी, हाम्रो भोलिको पुस्ता उहाँहरु नै हो” अधिकारीले भने ।

“हामी कहाँ अहिले सबैभन्दा सानो नानी १ वर्षको हुनुहुन्छ, र सबैभन्दा ठुलो क्याम्पसमा पढ्दै हुनुहुन्छ ।” बालबालिकाहरु आफ्नो खुट्टामा उभिएर आफ्नै तरिकाले बाँच्छु भनेर आश्रमबाट बाहिरिन पनि अनुमति छ । “तर हामी उत्तराधिकारीको अपेक्षा गरिरहेका छौ, आश्रमकी एक छोरी अहिले झापा जिल्लाको जिल्ला संयोजक भएर काम गरिरहनु भएको छ” अधिकारीले भने । यहाँका नानीबाबुहरु मानवताको स्रोत हुन्, नैतिकताको मुहान होउन् भन्ने चाहन्छ आश्रम । आश्रममा हालसम्म १५० जना बाबु नानीको जन्म भएको तथ्याङ्क छ । विभिन्न कारणले सडकमा पुगेका मानसिक सन्तुलन गुमाएर जीवन जिउन बाध्य भएर सडकपेटीबाट उद्धार गरिएका महिलाहरुबाट ४४ जना बालबालिकाहरु जन्मिएका छन् । उनीहरुबाट जन्मिएका बालबालिकाहरुलाई पढाउने हुर्काउने जिम्मेवारी आश्रमले नै उठाउँदै आएको छ ।

हराभरा वातावरण

पागलपनका व्यक्तिहरु जम्मा गरेर टोल बिगार्ने चिन्ता गर्ने केही व्यत्तिहरु अहिले छक्क परेका छन् यहाँको हराभरा वातावरण देखेर । वरपर बगैंचा, पोखरीहरु विस्तार गरिएको छ । तरकारी तथा फलफूल लगाइएको छ । झ्वाट्ट हेर्दा पर्यटकीय क्षेत्र जस्तो लाग्ने यो स्थानमा विकास निर्माणको काम पनि तीव्र आश्रमको स्थापनापछि भएको छ । आश्रमले प्रहरी प्रशासनसँग राम्रो समन्वय गरेको कारण गाउँमा समेत शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलेको छ । भौतिक वातावरणमात्रै हैन आश्रममा समय समयमा हुने भजन सन्ध्याले धेरैलाई आकर्षण गर्ने गरेको छ । आश्रमका अभियन्ताहरुले बेलाबेलामा टोल सरसफाइ कार्यक्रम गर्छन । अभियन्ताहरुको सेवाभावबाट स्थानीय पनि खुसी छन् ।

मेचीकाली संगीत यात्राको तयारी

आश्रमले मानवता प्रवद्र्धनकै लक्ष्यका साथ मेचीकाली संगीत यात्रा गर्दैछ । यो कार्यक्रम हेटौंडामा आगामी मंसिर २२ गते हुने तय भएको छ । देशको पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म यो यात्रा हुनेछ । मेचीको विराटनगरबाट सुरु हुने यो यात्रा अन्तरगत वीरगंज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, बुटवल, पोखरा हुँदै काठमाण्डौंमा पुगेर समापन गरिने संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । यात्रामा नेपथ्यको समूहले संगीत प्रस्तुत गर्नेछ । जसमा ६ हजार मानिस मानवता प्रवद्र्धनको लागि सन्देश प्रचारको रुपमा रहने छन् । यी कार्यक्रममार्फत संकलित रकमले आश्रमको लागि अक्षय कोष बनाउने लक्ष्य रहेको अधिकारीले बताए ।


Author

थप समाचार
x