समाज

‘मेनोपोज’बारे कुरा गर्नुभएको छ ?

सृजना खड्का |
भदौ १५, २०७९ बुधबार १२:१० बजे

काठमाडौँ - गोठाटार बस्ने ४६ वर्षीया उमा सुवेदी आत्तिँदै अस्पताल पुगिन् । केही समययता झर्को लाग्ने, सानो कुरामा रिस उठ्ने, निद्रा नलाग्ने, कहिले जाडो कहिले गर्मी हुुन थालेपछि उनी तनावमा थिइन् । ठूलै रोग लाग्यो भन्ने चिन्ताले मनमा ढ्याङ्ग्रो ठोक्न थालेको थियो ।

उमाको महिनावारी नियमित हुन छाडेको थियो । महिनावारी हुँदा पेट असाध्यै दुख्ने, अत्यधिक रगत बग्ने समस्याले सताउँथ्यो । केही ढाडस मिल्ला भनेर उनले आफ्नो समस्या परिवार र आफन्तलाई सुनाएकी थिइन् । तर, ढाडस मिल्नुको सट्टा उनीहरूले उल्टै डर देखाए, पाठेघरको क्यान्सर भएको होला भनिदिए । क्यान्सर शब्द सुनेदेखि उनी निकै त्रस्त र तनावग्रस्त थिइन् । 


अस्पताल पुगेपछि थाहा भयो, समस्या अर्कै रहेछ । उनलाई रजोनिवृत्ति अर्थात् ‘मेनोपोज’ भएको रहेछ । ‘मेरो कुरा सुनेपछि डाक्टरले महिनावारी सुक्ने बेला यस्तै हुन्छ, आत्तिनुपर्दैन भन्नुभयो,’ उनले सुनाइन्, ‘डाक्टरको कुरा सुनेपछि आधा रोग निको भए जस्तो भयो । त्यसको एक वर्षपछि मेरो महिनावारी बन्द भयो । देखिएका लक्षणहरू  बिस्तारै हराउँदै गए ।’

स्त्री रोग विशेषज्ञहरूका अनुसार रजोनिवृत्ति (मेनोपोज) महिलाहरूको महिनावारी चक्रको समाप्ति हुने प्राकृतिक प्रक्रिया हो । यो प्रायः ४५–५५ वर्षको उमेरमा हुन्छ । यो समयमा अण्डाशयमा अण्डा उत्पादन बन्द भएर प्रजनन हर्मोन ‘एस्ट्रोजन’मा कमी देखिन्छ ।

०००
काठमाडौँ, साँखुकी ४३ वर्षीया कमला फुँयालको पनि केही महिनायता महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुन थालेको छ । महिनावारी पनि कहिले हुन्छ, कहिले हुँदैन । कहिले त दुई–तीन महिनामा एक पटक मात्रै हुन्छ । ‘यो उमेरसम्म यस्तो अनुभव कहिल्यै भएको थिएन,’ उनले सुनाइन्, ‘यो बुढेसकालमा खै के हुन लागेको हो, एकदमै चिन्ता लाग्छ ।’

हिजोआज उनलाई केही कुरामा रूचि लाग्दैन । एकान्तमा मात्रै बस्न मन लाग्छ । आफूलाई के भइरहेको छ, उनलाई थाहा छैन । यो महिनावारी बन्द हुने प्रक्रिया (मेनोपोज) हो भन्ने ज्ञान छैन । रजस्वलाबारे नै खुलेर कुरा नगर्ने उनको परिवारमा रजोनिवृत्तिबारे छलफल चल्ने त झन् कुरै भएन । यस्तो विषयमा परिवारसँग खुलेर कुरा गर्न कमलालाई लाज लाग्छ । ‘यस्तो कुरा न घरमा खुलेर गर्न सकिन्छ न आफूलाई के भएको भनेर थाहा हुन्छ,’ उनले भनिन् । 

मेनोपोजबारे मुख खोल्ने कि ?
नेपाली समाजमा महिनावारी, परिवार नियोजन, गर्भधारण, गर्भपतन आदिबारे छलफल सुरु भइसकेको छ । तर, मेनोपोजबारे समाज अझै मौन छ । महिलाहरूको स्वास्थ्यबारे छलफल हुँदा किशोरी स्वास्थ्य, मातृ स्वास्थ्यबारे मात्रै छलफल हुन्छ । आमा बन्ने उमेरपछि महिलाहरूको स्वास्थ्यबारे खासै छलफल हुँदैन । प्रजनन उमेर (आमा बन्ने उमेर) सकिएपछि महिलाको स्वास्थ्य चासोको विषयभित्र पर्दैन ।

विशेषज्ञहरूका अनुसार महिनावारी सुक्दा सबैलाई एउटै समस्या देखिँदैन । तर, यस्तो बेला कस्तो समस्या देखिन्छ, स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने कुरा जानकारी राख्नु जरुरी छ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुधा शर्माका अनुसार चलनचल्तीको भाषामा मेनोपोजलाई महिनावारी सुक्नु वा रोकिनु भनिन्छ । यो महिनावारी सुक्ने प्राकृतिक प्रक्रिया हो । जुन महिनावारी रोकिनुभन्दा केही वर्ष अघिदेखि सुरु भएर महिनावारी रोकिएको केही वर्षसम्म रहन्छ ।

यस्ता लक्षणहरू ४५ वर्षदेखि ५५ वर्षको उमेरसम्म रहने उनको भनाइ छ । केही महिलालाई भने ४० वर्षमै मेनोपोजका लक्षण देखिन पनि सक्छ । महिनावारी सुकेपछि प्रजनन क्षमता समाप्त हुन्छ । यही कारण हर्मोनमा गडबढी  आउँछ । जसकारण महिलाहरू चिन्तित हुने र उनीहरूमा नकारात्मक धारणा उत्पन्न हुने डा. शर्मा बताउँछिन् । कोही महिला भने महिनैपिच्छेको हुने झन्झटबाट मुक्त भएको महसुस गर्ने गरेको उनले पाएकी छिन् । यस्तो बेला महिलाहरू चिन्तित र कमजोर महसुस गर्ने भए पनि आफूलाई कमजोर सम्झिनुपर्ने कुनै कारण नभएको उनी बताउँछिन् । 

जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेतीका अनुसार नेपालमा रजोनिवृत्तिबारे खासै अध्ययन अनुसन्धान भएको छैन । किशोरावस्थामा महिनावारी सुरु हुनु प्राकृतिक प्रक्रिया भएजस्तै ४५–५० को उमेरमा महिनावारी बन्द हुनु पनि प्राकृतिक प्रक्रिया भएको उनले बताइन् । ‘महिनावारी एकै पटकमा बन्द हुँदैन,’ उनले भनिन्, ‘कहिले हुने, कहिले नहुने हुन्छ । कहिलेकाहीँ दुई–तीन महिना बिराएर पनि हुन्छ । अनियमित भएर एक वर्षसम्म महिनावारी नहुँदा महिनावारी सुक्यो भनेर बुझे हुन्छ ।’ 

डा. उप्रेतीका अनुसार मेनोपोज कुनै रोग होइन । उमेर बढ्दै जाँदा हुने साधारण प्राकृतिक प्रक्रिया हो । यसबारे महिलाले मात्रै नभई परिवारका सबै सदस्यले थाहा पाउनु जरुरी छ ।  

लेखक÷पत्रकार बबिता बस्नेत आजभोलि मेनोपोजबारे लेख्दै अनि सार्वजनिक कार्यक्रममा बोल्दै आइरहेकी छिन् । केही समयअघि उनी पनि यो प्राकृतिक अवस्थाबाट गुज्रिएकी थिइन् । ‘त्यो समयमा मलाई एकदमै गाह्रो भएको थियो,’ उनले सुनाइन्, ‘चिसोमा पनि गर्मी हुने, पसिना आउने गथ्र्यो । के भयो भनेर एकदमै चिन्ता लाग्थ्यो ।’ आफ्नै उमेरका केही साथीलाई उनले यसबारे बताएकी थिइन् ।  ‘यो त मेनोपोजको लक्षण हो’ साथीहरूले भनेका थिए । ‘तिमीहरूलाई पनि यस्तै भएको थियो ?’ बस्नेतले सोधेकी थिइन् । ‘उनीहरूले भएको थियो भने,’ बस्नेतले सुनाइन्, ‘अनि यसबारे किन नबोलेको त भनेर मैले उनीहरूलाई सोधेँ । यस्तो कुरा पनि कसले भन्दै हिँड्छ भने । यो बिषयमा महिलाहरुले गहिरो मौनता साँधेको पाएँ ।’ 

समय बित्दै गयो, बबिताका ती समस्या पनि हट्दै गए । मेनोपोजका लक्षण सहन उनलाई त्यति सजिलो भएन । यस्तो अवस्थामा महिलाको शारीरिक मात्र नभई मानसिक रूपमा पनि धेरै उतारचढाव आउने भएकाले यसबारे परिवारका सदस्यहरूले पनि थाहा पाउनु जरुरी भएको उनले बताइन् । ‘परिवारका सदस्यले नबुझ्दा महिलाहरूमा झनै बढी समस्या थपिन्छ,’ उनले भनिन् । 

रजस्वलाको विषयमा चर्चा भएजस्तै रजोनिवृत्तिबारे पनि खुलेर कुरा गर्नुपर्ने उनले बताइन् । ‘यसबारे कुरा नगर्दा पारिवारिक सम्बन्धमा दरार आएकोदेखि महिलाहरू डिप्रेसनसम्म पुगेकोसम्म मैले देखेको छु,’ उनले भनिन्, ‘दिदीबहिनीसँग रजश्वलाबारे गफ गर्न थालेका हामीले आमाहरुसँग कहिल्यै रजोनिवृत्तिबारे कुरा गरेका छौँ ? यो हामी सबैले आफूलाई गर्नुपर्ने प्रश्न हो ।’ 

लक्षण र समाधानका कुरा  
डा. शर्मा र डा. उप्रेतीका अनुसार मेनोपोजमा विभिन्न लक्षणहरू देखिन्छन् । जस्तै : शरीर अचानक धेरै तातो हुने वा चिसो हुने, कुराहरू बिर्सिने, यौन सम्पर्क गर्न मन नलाग्ने, हाँस्दा, हाच्छयुँ गर्दा वा खोक्दा पिसाब चुहिने, अल्छी लाग्ने, खान मन नलाग्ने, रुन मन लाग्ने, चिन्ता लाग्ने, राति निद्रा नलाग्ने वा पातलो निद्रा हुने, रिस उठ्ने । यस्ता लक्षण र यसको असर सबै महिलामा समान हुँदैन । सबै महिलालाई यी सबै लक्षण देखिँदैन । कसैले धेरै, कसैले थोरै अनुभव गर्छन् । 

डा. उप्रेतीका अनुसार यस्ता लक्षण देखिनुका पछाडि कारण छन् । महिनावारी सुक्नुभन्दा केही वर्ष अगाडिदेखि शरीरमा रहेको हार्मोन ‘एस्ट्रोजन’को मात्रा कम हुन थाल्छ । यस्तो अवस्थामा हाडको घनत्व पनि कम हुँदै जान्छ । जसलाई ‘अस्टिओपोरोसिस’ पनि भनिन्छ ।

मेनोपोजमा हुने हर्मोन गडबडीका कारण महिलाको हाड कमजोर हुन सक्छ । हाड कमजोर भएमा ढाड कुप्रो पर्ने, सामान्य चोटपटकबाट पनि हाड भाँचिने हुन सक्छ । यस्तो समस्याबाट क्याल्सियमयुक्त खानामा जोड दिनुपर्ने उनको सल्लाह छ । ‘ज्वानो, दही, राजमा, पालुंगो, दूध, तोफु, तिल आदि खानेकुरा प्रशस्त खानुपर्छ,’ उनले भनिन्, ‘यस्तो बेला स्वस्थ जीवनयापन, सन्तुलन आहार र व्यायाम गरियो भने धेरै समस्याहरू आफैँ कम भएर जान्छन् ।’


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x