समाज

‘प्रहरीले नै मिटरब्याजी साहुसँग मिलापत्र गर भनेपछि फेरि काठमाडौँ आयौँ’ (भिडिओ)

कमल विष्ट |
साउन १८, २०७९ बुधबार १८:५७ बजे

काठमाडौँ– नवलपरासीका मिटरब्याज पीडित किसानले फेरि धर्ना सुरु गरेका छन् । सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ७७ जना मिटरब्याज पीडित किसानहरूले बुधबारदेखि माइतीघर मण्डालमा धर्ना सुरु गरेका हुन् । 

गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजको नाउँमा भूमिहीन बनाउने साहुविरुद्ध निष्पक्ष छानबिन नगरेपछि आफूहरू फेरि काठमाडौँ आएर धर्ना बस्न बाध्य भएको किसानहरू बताउँछन् । यसपालि न्याय नपाउँदासम्म काठमाडौँबाट नफर्किने ‘मिटरब्याज पीडित संघर्ष समिति’का अध्यक्ष तथा पीडित राम सुरत गुप्ताले इकागजसँग भने । 


‘हामीले गत जेठ २९ गते काठमाडौँमा चार जना जगदीश बानियाँ, सुनिल बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ दाजुभाइविरुद्ध अनशन थाल्यौँ । संघर्षको १४ औँ दिनमा गृह मन्त्रालयले हामीसँग वार्ता गर्यो र साहुहरूमाथि छानबिन गर्ने आश्वासन दियो । हामीहरू आफ्नो जमिन फिर्ता पाइने आशमा गाउँ फर्किर्यौँ,’ गुप्ताले भने, ‘तर, गाउँ फर्किएपछि जिल्ला प्रशासन र प्रहरीलाई हामीलाई सहयोग गरेन । बरु हामीसँग साहुविरुद्ध प्रमाण हुँदाहुँदै पनि मिलापत्र गर्न दबाब दिइयो ।’

उनले आफूहरू काठमाडौँमै मर्न तयार भएको, तर न्याय नपाएसम्म कतै नजाने बताए । यसपालि उधारो आश्वासन लिएर नजाने उनीहरूको अडान छ ।

गुप्ताका अनुसार प्रतापपुर र सुस्ता गाउँपालिकामा मात्रै ५०० बढी किसान मिटर ब्याजले पीडित छन् । सबै किसानहरू ४ जना ‘बानियाँ दाजुभाइ’बाट ठगिएको बताउँछन् । 

‘यिनीहरूले सबैलाई पैसा खुवाएर आफ्नो पक्षमा पारेका छन्,’ गुप्ता भन्छन्, ‘हामीले स्थानीयदेखि जिल्ला प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि उनीहरूको ध्यान गएन ।’

उनी अगाडि भन्छन्, ‘हरेक किसानको कथा एउटै छ । जति ऋण दिएको हो, ठीक त्यसको दोब्बरको पैसा उठाउने । सुरुमा सयकडा दुई प्रतिशत ब्याज भन्ने अनि १० प्रतिशतसम्म तिराउने ।’

उनले चार दाजुभाइ भूमाफिया भएको आरोप लगाए । बानियाँ दाइभाइहरू निरक्षर र सोझासाझा किसानलाई मिटर ब्याजमा पैसा दिने र पछि उनीहरूको जग्गा हडपेर त्यसलाई बेच्ने काममा लामो समयदेखि सक्रिय रहेको उनको भनाइ छ । 

गृह मन्त्रालयसँग सहमतिपछि पीडित किसानकातर्फबाट वार्ता गर्न नवलपरासी पुगेका अभियन्ता निर्ग नवीनले प्रशासन र प्रहरीले पीडकहरूमाथि निष्पक्ष छानबिन गर्नुको साटो उल्टो उन्मुक्ति दिन भूमिका खेलेको जिकिर गरे । 

‘गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र प्रहरीले छानबिन अगाडि बढाए । चार जना बानियाँ दाजुभाइमध्ये सुनिल र जगदीश पक्राउ पनि परे,’ इकाजगसँग उनले भने, ‘तर, पछि प्रशासन र प्रहरी दुवैले दोषीलाई उम्काउन खोजेको प्रष्टै देखियो । किसान र साहुहरूलाई सँगै राखेर मिलापत्रका लागि दबाब दिइयो । मुद्दा सामसुम गर्न खोजियो । हामीले साहुविरुद्ध जाहेरी दर्ता थुप्रैपल्ट प्रयास गर्यौँ, तर प्रहरीले हामीलाई जाहेरी दर्ता गराउनै दिएन । जसरी हुन्छ मिल्नुपर्छ भनेर दबाब दिइयो ।

उनले अगाडि, ‘प्रहरी नै मिटरब्याजी साहुहरुसँग मिलापत्र गर भनेपछि फेरि काठमाडौं आयौँ ।’

प्रहरीले जाहेरी नदिन किसानहरूलाई धक्म्याउने कामसमेत गरेको नवीनको आरोप छ । मिलापत्र गर्न नमानेपछि प्रहरीले किसानहरूलाई नियतवश दुःख दिन सुरु गरेको उनले बताए । ‘मिलापत्र गर्न नमानेपछि प्रहरी हरेक किसानको घरमा भ्यान लिएर आउन थाल्यो र उनीहरूलाई दुःख दिन थाल्यो,’ उनले सुनाए, ‘प्रहरीले भन्यो– उनीहरू सबैको घरमा छापा मा¥यौँ, केही भेटिएन । अब तिमीले मिलापत्र गर्नको विकल्प छैन ।’

उक्त छानबिन प्रक्रियाबाट अलग भएर मुद्दा लड्ने प्रयास थुप्रैपल्ट गरे पनि प्रहरीले सहयोग नगरेको उनको आरोप छ । चार जना बानियाँ दाजुभाइमध्ये प्रहरीले सुनिल र जगदीशलाई मात्र पक्राउ गरेको र अहिले उनीहरूलाई पनि थुनामुक्त गरको उनले बताए । ‘दोषीलाई कारबाही गर्ने प्रहरीको नियत नै छैन,’ उनले भने। 

नवीन तीन जना साथीसहित नवलपरासी गएका थिए । त्यहाँ करिव दुई साता बस्दा साहूहरूबाट अति नै असुरक्षित महसुस गरेको उनले बताए । ‘हामीहरू जहाँ–जहाँ जान्थ्यौँ, साहुका मान्छेहरू त्यहाँ–त्यहाँ पुग्थे,’ उनले भने, ‘हामीलाई घेर्थे । त्यहाँ हामीहरूले साह्रै असुरक्षित महसुस ग¥र्यौँ ।’

उनका अनुसार नवलपरासीमा हजारौँको संख्यामा मिटर ब्याज पीडितहरू छन् । त्यही राजनीतिक दल तथा नेताहरूबाटै संरक्षित एउटा हिरोह पनि सक्रिय रहेको उनको अनुभव छ ।‘त्यहाँ बस्दा सयौँ पीडितहरू कागजात बोकेर आएको उनले बताए । ‘यो मधेशको एकदमै ठूलो समस्या हो,’ उनले भने, ‘त्यहाँका मिटर ब्याज पीडितको वास्तविक संख्या बुझ्न एउटा शिविर राखेका थियौँ ।’ 

पहिलो चरणमा बुधबारदेखि माइतीघर मण्डालमा शान्तिपूर्ण आन्दोलन गर्ने र सरकारले नजरअन्दाज खोजे प्रधानमन्त्री कार्यालय बालुवाटार नै घेर्ने उनले चेतावनी दिए। 

पीडित किसानहरू डेढ महिनाअघि पनि मिटरब्याजी साहुविरुद्ध १५ दिन माइतीघर मण्डलामा धर्ना बसेका थिए । गृह मन्त्रालयबाट न्यायको आश्वासन पाएपछि धर्ना स्थगित गरेर उनीहरू फर्किएका थिए । 

गृह मन्त्रालयले जिल्ला प्रशासन र प्रहरी प्रशासन नवलपरासीलाई साहुहरूउपर सत्यतथ्य छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । 

उनीहरू मंगलबार राति नवलपरासीबाट बस रिजर्भ गरेर काठमाडौँ आएका हुन् ।

किसानहरू अहिले पशुपति गौशालामा बसिरहेका छन् । 

याे पनि

सिंहदरबारले कहिले सुन्ला मिटर ब्याजीबाट भूमिहीन बनाइएकाहरूको चित्कार ?


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x