समाज

नवलपरासीका मिटरब्याजी पीडित किसान फेरि काठमाडौँमा, बालुवाटार घेर्ने चेतावनी

कमल विष्ट |
साउन १७, २०७९ मंगलबार १२:१६ बजे

काठमाडौं – नवरपरासीका मिटरब्याजी पीडितहरू धर्ना दिन फेरि काठमाडौंमा आएका छन् । सुस्ता र प्रतापपुर गाउँपालिका तथा रामग्राम र बर्दघाट नगरपालिकाका ६० जना किसानहरू धर्नाका लागि मंगलबार काठमाडौं आइपुगेका हुन् । 

जिल्ला प्रशासन र प्रहरी कार्यालय नवलपरासीले मिटरब्याजको नाउँमा किसानलाई भूमिहीन बनाउने साहुविरुद्ध निष्पक्ष छानबिन नगरेपछि उनीहरू काठमाडौं आउन बाध्य भएको अभियन्ता निर्ग नवीनले इकागजलाई जानकारी दिए । प्रशासन र प्रहरीले पीडकहरूमाथि निष्पक्ष छानबिन गर्नुको साटो उल्टो उन्मुक्ति दिन भूमिका खेलेको नवीनले जिकिर गरे । 


‘गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र प्रहरीले छानबिन अगाडि बढाए । चार जना बानियाँ दाजुभाइमध्ये सुनिल र जगदीश पक्राउ पनि परे,’ उनले भने, ‘तर, पछि प्रशासन र प्रहरी दुवैले दोषीहरूलाई उम्क्याउन खोजेको प्रष्टै देखियो । किसान र साहुहरूलाई सँगै राखेर मिलापत्रका लागि दबाब दिइयो । मुद्दा सामसुम गर्न खोजियो । हामीले साहुविरुद्ध जाहेरी दर्ता थुप्रैपल्ट प्रयास गर्यौँ, तर प्रहरीले हामीलाई जाहेरी दर्ता गराउनै दिइएन । जसरी हुन्छ मिल्नुपर्छ भनेर दबाब दिइयो ।’

प्रहरीले जाहेरी नदिन किसानहरूलाई धक्म्याउने कामसमेत गरेको नवीनको आरोप छ । मिलापत्र गर्न नमानेपछि प्रहरीले किसानहरूलाई नियतवश दुःख दिन सुरु गरेको उनले बताए । ‘मिलापत्र गर्न नमानेपछि प्रहरी हरेक किसानको घरमा भ्यान लिएर आउन थाल्यो र उनीहरूलाई दुःख दिन थाल्यो,’ उनले सुनाए, ‘प्रहरीले हामीले उनीहरू सबैको घरमा छापा मार्‍यौँ, केही भेटिएन, त्यसैले अब तिमीहरूसँग मिलापत्र गर्नको विकल्प छैन भन्यो ।’

उक्त छानबिन प्रक्रियाबाट अलग भएर मुद्दा लड्ने प्रयास थुप्रैपल्ट गरे पनि प्रहरीले हुन नदिएको उनको आरोप छ । केही सीप नलागेपछि आफूहरू फेरि काठमाडौं आउन बाध्य भएको उनले बताए । 

चार जना बानियाँ दाजुभाइमध्ये प्रहरीले सुनिल र जगदीशलाई मात्र पक्राउ गरेको र अहिले उनीहरूलाई पनि थुनामुक्त गरको उनले बताए । ‘दोषीलाई कारबाही गर्ने प्रहरीको नियत नै छैन ।’ उनले भने । 

पहिलो चरणमा बुधबारदेखि माइतीघर मण्डालमा शान्तिपूर्ण आन्दोलन गर्ने र सरकारले नजरअन्दाज खोजे प्रधानमन्त्री कार्यालय बालुवाटार नै घेर्ने उनले चेतावनी दिए । 

पीडित किसानहरू डेढ महिना पनि आफूहरूलाई ठग्ने मिटरब्याजी साहुविरुद्ध दुई साता माइतीघर मण्डलामा धर्ना बसेका थिए । पछि गृह मन्त्रालयबाट न्यायको आश्वासन पाएपछि दुई साता लामो धर्ना स्थगित गरेर उनीहरू फर्किएका थिए । 

गृह मन्त्रालयले जिल्ला प्रशासन र प्रहरी प्रशासन नवलपरासीलाई साहुहरूउपर सत्यतथ्य छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । 

अहिले किसानहरू पशुपति गौशालामा बसिरहेका छन् । 

यो पनि 

सिंहदरबारले कहिले सुन्ला मिटर ब्याजीबाट भूमिहीन बनाइएकाहरूको चित्कार ?

 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x