समाज

आफ्नै गल्तीले सास्ती

जब राहदानी विभागका कर्मचारीले सेवाग्राहीको आवेदनमा 'नट फाउन्ड' लेखे...

अतिन आचार्य |
साउन १३, २०७९ शुक्रबार १४:१० बजे

काठमाडौँउदयपुरका रामबहादुर राई बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा भेटिए । काँधमा झोला थियो । 

विभागमा उनी राहदानीका लागि आवेदन दिन आएका होइनन्। उनको व्यथा अन्य सेवाग्राहीको जस्तो पनि थिएन । एक महिनाअघि विभागमा उनले विद्युतीय राहदानीका लागि आवेदन दिएका रहेछन् ।


घर छिटो फर्कनु परेकाले उनी जिल्ला फर्के । आवेदन दिएको तीन सातापछि उनको मोबाइलमा 'म्यासेज' आयो ।

सोचे,' राहदानी बनेको म्यासेज आयो ।' तर, उनले सोचे जस्तो रैनछ । उनलाई मोबाइलमा आएको म्यासेज राहदानीको आवेदन' रिजेक्ट' भयो भन्ने थियो ।

आवेदन दिएको एक महिनापछि विभाग पुगेका राईको आवेदनमा कर्मचारीले फारममा लेखिदिए 'नट फाउन्ड'। विभागको तीन वटा कोठा घुमेपछि बल्ल उनले निर्देशकको कोठा पत्ता लगाए ।

'मेरो राहदानीमा रुजु गरिदिनु पर्‍यो । तलबाट हुँदैन भनिसक्नु भएको छ । रिजेक्ट म्यासेज आएर जिल्लाबाट आज मात्र आएको हुँ,' उनले निर्देशकलाई आवेदन देखाउँदै भने ।

फारम भर्दा आवेदकले ध्यान दिएनन्

राईको फारममा बुझिने गरी 'नट फाउन्ड' लेखिएको थियो । कर्मचारीले डाटामा नभेटिएको जानकारी गराएका थिए । काठमाडौँमा बस्न गाह्रो र खर्चिलो भएको व्यथा उनले विभागका कर्मचारीलाई सुनाए । आफन्तकोमा नभइ उनी होटलमा दैनिक एक हजार रुपैयाँ खर्च गरेर बसिरहेका रहेछन् । उनको कुरा कर्मचारीले सुने तर, कार्यान्वयन गरेनन् ।

सेवाग्राहीको भिड राहदानी विभागको गेटदेखि नै थियो । हात-हातमा प्लाष्टिकका क्लियर ब्याग । ब्यागभित्र सेतो कागज बोकेका सेवाग्राहीहरूको भिड । 

कर्मचारीले राईको कुरा नसुनेपछि अन्त्यमा बास्तविकता खोले। सर,' मेरो राहदानीको समय तीन वर्ष म्याद छ  । मैले हराएको भनेर आवेदन दिएको हुँ ।'   उनको राहदानीको समय सकिन तीन वर्ष बाँकी रहेछ ।

उनले राहदानी मात्र पाएनन् । आवेदन दिँदा लागेको शुल्क पनि तत्कालै फिर्ता नपाउने भएका छन् । 

उनी नयाँ राहदानी बनाएर देश छोड्ने चाहनाले विभागसँग झुट बोल्न बाध्य भए । आवेदनमा उनले हराएको भनेर उल्लेख गरे । उनको झुटले राहदानी पाउने बाटो केही सयका लागि बन्द गरिदियो । किनभने उनको राहदानीको समय अझैं बाँकी छ ।

कानून छल्दै विभागमा पुग्छन् सेवाग्राही

राहदानी ऐन, २०७६ को दफा (१२) मा राहदानी बाहकको नाममा जारी भएको राहदानीको बहाल अवधि १ वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी जारी नगर्ने व्यवस्था रहेको छ ।

परिसरमा रोल्पा, रुन्टीगढी  ९ का अमृत बोहरा भने फरक समस्यासँग जुधिरहेका थिए । 'मेरो पासपोर्ट कहिले बन्छ ?,' उनले विभागको कर्मचारीलाई सोध्दै थिए । कर्मचारीको जवाफ थियो,'  कहिले आवेदन दिएको हो ?'

बोहराले विभागमा दुई महिनाअघि आवेदन दिएका थिए । उनले आवेदन दिए तर, पासपोर्ट नपाएको गुनासो थियो । उनले दिएको आवेदनमा नाम मिले पनि थर मिलेको थिएन । बोहराको ठाउँमा कार्की थियो ।

'पासपोर्टको आवेदन दिँदा गलत थर समावेश भएकाले दुःख पाएको हुँ,' उनले भने,' कर्मचारीले राम्रो हेरेनन् वा फारम भर्दा कहाँ गलत भयो ? मलाई थाहा भएन ।'

विभागमा राहदानीका लागि आवेदन दैनिक हज्जारौं सेवाग्राही पुग्छन् । आवेदन रिजेक्ट भएर फर्कने पनि सयौँ सेवाग्राही हुन्छन् । राष्ट्रिय परिचय पत्रको नम्बर नभएको, दोहोरो नागरिकता र साथमा पुरानो पासपोर्ट भए पनि नयाँ बनाउन सेवाग्राही पुग्ने विभागले जनाएको छ ।

पुरानो पासपोर्ट र दुई वटा नागरिकता साथमा राखेर पासपोर्ट बनाउन आउँदा सेवाग्राहीले सास्ती खेप्नुपरिरहेको विभागका प्रवक्ता तथा निर्देशक शरदराज अरन बताउँछन् ।

दोहोरो नागरिकता भएका सेवाग्राही

'आवेदनमा पासपोर्ट हराएको हुन्छ,' उनले भने,' यता सिस्टमले हराएको डाटा फेला पार्दैन । बारम्बार त्यहीँ आवेदन बोकेर सेवाग्राही घुमिरहेका हुन्छन् । अन्तिममा आफूले गरेको गल्ती बुझ्छन् ।'

विद्युतीय राहदानीले सेवाग्राहीको सम्पूर्ण विवरण खोज्ने भएकाले सेवाग्राहीले पासपोर्ट पाउन समय लाग्ने उनले बताए । 'पुरानो पासपोर्ट हराएको भए डाटामा समावेश भएको हुनुपर्छ,' उनी भन्छन् ।

दोहोरो नागरिकता, पुरानो पासपोर्ट र अरुको नाममा पासपोर्ट बनाउन आउने जस्ता समस्या पनि बढेको पाइएको उनको ठहर छ । सेवाग्राहीले राष्ट्रिय परिचयपत्रको नम्बर नपाइ विभाग आउने प्रवक्ता अरनको भनाइ छ । उनले थपे,' राष्ट्रिय परिचय पत्रको फारम भर्छन् । विभागमा परिचय पत्रको नम्बर अपडेट नभइ आइपुग्दा पनि सेवाग्राहीहरूले समस्या भोग्ने गरेका छन् ।'

७७ जिल्लाको ९४ ठाउँबाट राहदानीका लागि आवेदन दिएर प्राप्त गर्न सक्ने उनको भनाइ छ । 'जरुरी पर्नेलाई मात्र विभागबाट राहदानी लिन आउनु भनेका छौँ,' उनी अगाडि थप्छन्,' पर्याप्त समय हुनेले जिल्लाबाट लिन सक्छन् । धेरै जसो मानिस काठमाडौँबाट आवेदन दिनेहरू छन् । पासपोर्ट बनाउनेहरूलाई नआउनु भन्न मिल्दैन ।'

विभागले आवेदन दिएको प्रक्रिया मिलेमा सेवाग्राहीले पाँच दिन भित्रमा पासपोर्ट वितरण गर्छ । आवेदनमा मागेको कुरा र सही जानकारी नभएमा राहदानी प्राप्त गर्न महिना दिनसम्म लाग्ने उनले बताए ।

विभागले दैनिक ५५ सय पासपोर्ट प्रिन्ट गरिरहेको छ । दैनिक ६ हजार सेवाग्राहीले सेवा लिने गरेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x