समाज

भाषा आयोगका सदस्य गिरी र पोखरेलको योग्यतामा प्रश्‍न

उपेन्द्र अर्याल |
असार २४, २०७९ शुक्रबार १७:५२ बजे

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद् बैठकले भाषा आयोगको सदस्यमा डा. अमरराज गिरी, मातृकाप्रसाद पोखरेल, प्रा.डा. कृष्णप्रसाद न्यौपाने, गोपालजीप्रसाद सर्राफ र अमृत योञ्जन तामाङलाई सदस्य नियुक्त गरेको छ । नियुक्तिपछि गिरी र पोखरेलको योग्यतामा प्रश्‍न उठेको छ । नेपालको संविधान २०७२ को धारा २८७ मा भाषा आयोगको सदस्य हुन भाषामा स्नातकोत्तर तथा भाषाको क्षेत्रमा २० वर्ष अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषण गरेको हुनुपर्ने उल्लेख छ । 


तर भाषा आयोगका नवनियुक्त सदस्य गिरी र पोखरेलले भाषाको क्षेत्रमा काम नगरेको भन्दै उनीहरूको योग्यतामा प्रश्‍न उठेको छ । नेपाली साहित्यमा एमए गरेका साहित्य समीक्षक युवक उप्रेतीले लेखेका छन्, ‘गिरी र पोखरेलले काम गरेको क्षेत्र संविधानले तोकेको झैँ भाषाको अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषण हुँदै होइन । यी दुबैले स्नातकोत्तर तहमा पढेको ऐच्छिक विषय पनि भाषाविज्ञान होइन ।’ 

इकागजले गिरी र पाेखरेलसँग सम्पर्क गर्दा गिरीले यसबारे आफू केही नबोल्ने बताए भने पाेखरेलले आफूसँग भाषाका क्षेत्रमा काम गरेको अनुभव रहेको दाबी गरे । उनले भने, ‘मैले ३० वर्षदेखि साहित्य पत्रिका निकालिरहेको छु । भाषाविज्ञानसहित नेपाली साहित्य, समाजशास्त्र गरी तीन विषयमा स्नातकोत्तर गरेको छु । त्यसकारण मेरो योग्यता पुगेको छ भन्‍ने लाग्छ मलाई ।’ पोखरेलले भाषाविज्ञानमा स्नातकोत्तर गरेको छु भने पनि त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागबाट भनेर सोध्दा स्पष्ट जवाफ दिएनन् ।

साहित्यलाई पनि भाषाको क्षेत्रमा काम गरेको भन्‍ने हो भने भाषामा लेखिने सबै विधा इतिहास, समाजशास्त्र आदि पनि भाषिक योगदान हुन् त ? कानुनमा स्नातक गरेका समीक्षक उप्रेती भन्छन्, ‘साहित्य पनि भाषामै लेखिन्छ नि भन्‍ने कुतर्क गर्न थाल्ने हो भने त सारा वाङ्मय नै भाषामा लेखिन्छ । कानुनको व्याख्याका जुनसुकै सिद्धान्तका आधारमा व्याख्या गर्ने हो भने पनि भाषा भनेको कविताकर्म, कविताको अर्थापन र स्मृतिग्रन्थ इत्यादिको सम्पादन किमार्थ होइन भन्‍ने नै अर्थ निस्कन्छ । त्यसैले  विकृत राजनीति/कुशासन/तमस/शासकीय स्वेच्छाचारिता/अकर्मण्यता/भ्रष्टाचार/शोषण/पुँजीवाद/उपभोक्तावाद/पदलोलुपता आदि माथि सदैव आफ्ना कवितामार्फत आगो ओकल्ने कविद्वयले आफ्नो योग्यता नपुग्दा नपुग्दै पनि उक्त संवैधानिक पदमा बस्‍न जानु आफ्नै अधिगतिको यात्रा हो ।’

यस विषयमा पत्रकार यज्ञशले पनि प्रश्‍न उठाएका छन् । उनी भन्छन्, ‘राजनीतिक नियुक्ति नेपाली समाजमा फैलिइरहेको एक किसिमको जलकुम्भी हो । उस्तै क्षमता भएर पनि कुनै पार्टीको झण्डा नसमाउनेका लागि यस्ता कुनै आयोग, संस्थान वा समितिको ढोका किन कहिल्यै खुल्दैन ? पार्टी वा कुनै समूहनिकट भएपछि पटकपटक पुरस्कार र नियुक्तिको योग्यता पुग्‍ने हो कि जस्तो देखिन थालेको छ ।’ पत्रकार यज्ञशले पछिल्ला वर्षहरूमा अझै भन्दा २०६२-६३ यताका सरकारी पद, ओहोदा र पुरस्कारमा के-कति मानिसहरू कुन आधार र योग्यतामा नियुक्त भएका छन् समीक्षा गरौं भन्‍ने आह्वान गरेका छन् । 

नेपाल विद्युत् प्राधिकरणको जागिरबाट निवृत्त भएका पाेखरेल नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ हुन् । पाेखरेल एकेडेमीमा रहँदा भाषा विभागको जिम्मेवारीमा थिएनन् । कवितामा विद्यावारिधि गरेका गिरी यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष, नेपाल एकेडेमीमा काव्य विभाग प्रमुख थिए । मन्त्री प्रेम आलेको पालामा संस्कृति मन्त्रालयबाट गिरीलाई एकसाथ दुई लाभ मिलेको छ- भाषा आयोगको सदस्य र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार । गिरी र पाेखरेल प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाल प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ हुन पुगेका थिए ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x