समाज

यौन श्रमिकसँग संवाद

‘यौन कसरी अपराध ? किन तथानाम ? किन लछारपछार ?’

सृजना खड्का |
असार २१, २०७९ ७:५१ बजे

यौन श्रमिक बिन्दु (नाम परिवर्तन) त्यस दिन ग्राहकसँग मनकामना गएकी थिइन् । होटलमा एक्कासि प्रहरीले छापा मार्‍यो । उनी रंगेहात पक्राउ परिन् । ड्युटीमा खटिएका एकजना प्रहरी उनलाई देखेर झस्किए । ‘उहाँ दिदीलाई छाडिदेऊ केटा हो,’ आफूसँग आएका अन्य प्रहरीलाई उनले आदेश दिए ।

अक्सर प्रहरीले यौन श्रमिकलाई भेटेपछि भ्यानमा कोचेर चौकी पुर्‍याउँछन् । २७ वर्षदेखि यौन श्रम गर्दै आएकी बिन्दुको जीवनमा यो पहिलो र अनौठो घटना घटेको थियो । अचम्म मान्दै उनले प्रहरीतिर नजर लगाइन् । ‘प्रहरी भएपछिको पहिलो ड्युटीमा मैले तपाईंलाई नै समातेर चौकी पुर्‍याएको थिएँ,’ बिन्दुतिर हेर्दै उनले भने, ‘अहिले मेरो जागिरे अवधि सकिन लागिसक्यो तपाईं अहिले पनि यही काम गरिरहनुभएको रहेछ । तपाईंको पनि आफ्नै बाध्यता होला, गरिखानुस् ।’ यति भनेर प्रहरी टोली होटलबाट बाहिरियो ।


पाँच नातिनीकी हजुरआमा बिन्दु अहिले ५६ वर्षकी भइन् । उनी अझै यही काम गरिरहेकी छिन् । रत्नपार्कमा ग्राहक कुरेर बसिरहेकी छिन् । यौन श्रमिकहरू काममा प्राय: साँझतिर निस्किन्छन् । तर, बिन्दु भने बिहानै ग्राहक कुरिरहेकी भेटिन्छिन् । ‘बेलुका पुलिसले लखेट्छ,’ बिहान ग्राहक कुरेर बस्ने कारणबारे प्रस्ट पार्दै उनले भनिन्, ‘उमेरका कारण अब म पुलिसबाट दौडिन, भाग्न, चौकीको चिसो छिँडीमा गएर बस्न सक्दिनँ । चौकी धाउँदा–धाउँदा बूढी भइयो । तर, काम छाड्न सकिएन ।’

यौन श्रमिकका रूपमा काम थाल्दा बिन्दु २९ वर्षकी थिइन् । यही काम गरेर उनले छोराछोरीलाई पढाइन्, बढाइन् । कसैको बिहेबारी गरिदिइन्, कसैलाई विदेश पठाइदिइन् । ‘एकपटक यो काममा लागेपछि लागेको लाग्यै भइयो,’ उनले भनिन्, ‘मसँगै काम गरेका कति साथी त बिति पनि सके ।’ 

उनले रत्नपार्कमा के चाहिँ गरिनन् । चिया र सेल बेचिनन् कि तरकारी लिएर बसिनन् कि ! नाङ्लो पसल राखिनन् कि छोकडा भाग लगाएर कुरिनन् कि ! पाँच रुपैयाँको छोकडा भाग लगाएर तीन सय कोठा भाडा कसरी तिर्ने ? उनी सोच्थिन् । यसैबीच उनको भेट एकजना यौन श्रमिक महिलासँग भयो । ‘पाँच रुपैयाँको छोकडा भाग लगाएर भाडा तिर्न, बालबच्चाको पेट पाल्न पुगेन,’ उनले सम्झिइन्, ‘त्यसपछि यौन श्रमतिर लागेँ । अहिलेसम्म मैले यस्तो काम गर्छु भन्ने घरमा थाहा छैन । भोलि तिनै छोराछोरीको काखमा मिल्किनुपर्छ । छि:छि र दूरदूर गर्लान् भनेर भन्न सकेको छैन ।’

यो पेसा छानेकामा बिन्दुलाई कहिलेकाहीँ गल्ती पो गरियो कि भन्ने लाग्छ । बरु नाङ्लो पसलै ठीक थियो कि भन्ने पनि लाग्छ । तर, फेरि मनको अर्को कुनाले भन्छ– नगरपालिकाका कर्मचारीबाट लखेटिनु र पुलिसबाट लखेटिनुमा के फरक छ र ? नगरपालिकाबाट लखेटिएर भोको हुनुभन्दा पुलिसबाट लखेटिएर पेट भर्नु नै ठीक होला । 

पाइलैपिच्छे हिंसा : जाने ठाउँ कहाँ ?
यौन श्रमिकहरूले आफ्नो अधिकारबारे कुरा गर्दा धेरैले उनीहरूलाई तेर्स्याउने प्रश्न हो- हातखुट्टा सग्ला छन्, अरु काम गरेर खान सकिँदैन ? १३ वर्षदेखि यौन श्रम गरिरहेकी ३७ वर्षे रीना (नाम परिवर्तन) ले थुप्रै पटक यो प्रश्नको सामना गरेकी छिन् । यसको जवाफ उनलाई कण्ठ छ । उनी भन्छिन्, ‘संविधानको धारा ३३ उपधारा २ मा सबैले आफ्नो काम आफ्नै मर्जीले छान्न पाउने भनेको छ ।’ 

यौन श्रमिकहरू आफूले छानेको पेसाकै कारण प्रहरीबाट भेडाबाख्रा जस्तै लखेटिनुपर्छ । ग्राहकबाट निर्घात कुटाइ खानुपर्छ । परिवार र आफन्तले देखे टाउको लुकाएर हिँड्नुपर्छ । पाइलैपिच्छे हिंसा भोग्नुपर्छ । ‘ग्राहकहरू सबै राम्रा हुँदैनन्,’ रीनाले भनिन्, ‘कसैले पैसा लुटेर लगिदिन्छन् । केही साथीहरू त ग्राहकसँग जाँदा चोट नै चोट, घाउ नै घाउ लिएर आउँछन् ।’

जस्तोसुकै अन्यायमा पर्दा पनि यौन श्रमिकहरू आफ्ना व्यथा कसैलाई भन्न सक्दैनन् । ‘अन्यायमा परेको भनेर प्रहरीकहाँ गयो भने उल्टै ‘छाला व्यापारी’, ‘दुई नम्बरी धन्दा गर्नेहरू’ आदि इत्यादि भनेर मुख छाडेर पठाउँछन्,’ उनले भनिन्, ‘पुलिसहरूले हाम्रो नाम नै ‘रत्नपार्कका एचआईभी’ राखेका हुन्छन् । न्याय पाउने आश गरेको ठाउँबाटै हामीमाथि हिंसा हुन्छ । हामी त हिंसामा पर्दा गएर भन्ने ठाउँसमेत छैन ।’

यौन श्रमिकहरूका अनुसार उनीहरूलाई सबैभन्दा बढी एचआईभी फैलाएको आरोप लाग्छ । ‘हामीलाई धेरैले एचआईभी सारेको आरोप लगाउँछन्,’ रीनाले भनिन्, ‘सरकारले आफैँ कण्डम बाँड्छ । तर, त्यही बोकेर हिँड्यो भनेर समात्छ । हामीलाई कन्डम बोकेर हिँड्नै डरमर्दो छ । लुकाएर बोक्ने गरेका छौँ । हामीले एड्स फैलाएको होइन, रोकेका चाहिँ छौँ ।’ 

‘रत्नपार्कमा कति चोर, डाँका हिँड्छन् उनीहरूलाई कसैले केही गर्दैन । तर, हामीलाई ज्यान मारेको अपराधीजस्तो व्यवहार गर्छन् ।’

त्यस्तै, उनीहरूलाई अर्को एउटा आरोप पनि लाग्छ । धेरैले उनीहरूलाई ‘इजी मनी’का कारण यौन श्रममा लागेको लख काट्छन् । तर, उनीहरूका आ–आफ्नै व्यथा÷बाध्यता छन् । यौन श्रममा लाग्नुभन्दा पहिला रीनाले अरु थुप्रै काम गरिन् । ‘आठ–नौ तलामाथि सिमेन्ट, इँटा र गिटीको भारी पनि बोकेँ,’ उनले भनिन्, ‘तर, ठेकदारले समयमा पैसा दिएनन् । त्यसपछि अरुको घरमा भाँडा माझ्ने, लुगा धुने काम गरेँ । घरको काम गर्दा घर साहुले नै दुव्र्यवहार गरेपछि त्यो काम पनि छाडेँ ।’

ज्यान जोगाउनै मुस्किल 
एम्बुलेन्सको साइरन होस् वा प्रहरीको गाडीमा बज्ने साइरन, सुन्नेबित्तिकै यौन श्रमिक अरुणा (नाम परिवर्तन)को होसहवास उड्छ । त्यतिबेला अरुणा र उनका साथीहरू बेपत्तासँग दौडिन्छन् । दौडमा कोही घाइते हुन्छन्, कसैले ज्यानै गुमाउँछन् । ‘पुलिससँग दौडिएर भाग्न खोज्दा धेरै साथीहरू दुर्घटनामा परेका छन्,’ अरुणाले भनिन् ‘हामीलाई काममा निस्किँदा गाडीसँग भन्दा पुलिससँग बढी डर लाग्छ । रत्नपार्कमा कति चोर, डाँका हिँड्छन् उनीहरूलाई कसैले केही गर्दैन । तर, हामीलाई ज्यान मारेको अपराधीजस्तो व्यवहार गर्छन् ।’ 

राज्यले अपराधीजस्तो व्यवहार गरेकै कारण आफूमाथि अपराध हुँदासमेत त्यसको भागीदार आफैँलाई ठान्ने गरेको यौन श्रमिकहरू बताउँछन् । अरुणाकी एकजना साथीको केही समयअघि बाटो काट्ने क्रममा सडक दुर्घटना भयो । सडकमा हातखुट्टा नराम्रोसँग दरालियो । बाइकवालाले ‘उपचार गरिदिन्छु’ पनि भनेको थियो । तर, उनी ‘केही भएको छैन’ भन्दै त्यहाँबाट हतार–हतार निस्किइन् । ‘उनलाई अस्पताल भनेर चौकी लिएर जाला भन्ने डर लागेछ,’ अरुणाले सुनाइन्, ‘दुर्घटनाको केस पुलिसले हेर्छ भनेर डराइछिन् । पछि हामीले लगेर उपचार गर्‍यौँ । उनी अहिलेसम्म पनि काममा फर्किन सकेकी छैनन् ।’

अरुणाका अनुसार रत्नपार्कमा मात्रै लगभग ३ सय जना यौन श्रमिक छन् । पहिलाभन्दा अहिले यौन श्रममा लाग्नेहरू बढेको उनको अनुमान छ । समाज, प्रहरी र ग्राहकबाट मात्रै नभएर गीतसंगीतको माध्यमबाट समेत आफूहरूमाथि हिंसा भइरहेको यौन श्रमिकहरू बताउँछन् । ‘व्यवहारबाट गर्न नपुगेर हामीमाथि गीतबाट समेत हिंसा गर्छन्, ‘अरुणाले भनिन्, ‘रमाइलोको नाममा रत्नपार्क र यौन श्रम गर्नेमाथि तथानाम भनेको सुन्दा साह्रै नरमाइलो लाग्छ ।’  आफूले जस्तोसुकै हिंसा भोगे पनि आफूभन्दा पछि यो काममा आउनेले यस्तो दु:ख भोग्न नपरोस् भन्ने उनीहरूको चाहना छ । त्यसका लागि सम्मानपूर्वक काम गर्ने वातावरण निर्माण होस् भन्ने उनीहरू चाहन्छन् ।

तर, सहज वातावरणमा काम गर्न पाउने आश यौन श्रमिक तारा (नाम परिवर्तन) मा मरिसक्यो । ‘हामीलाई ससम्मान टिकाटालो लगाएर यो काम कसैले गर्न दिँदैन,’ उनले भनिन्, ‘लुकेर, ज्यान जोगाएर काम गर्नुपर्छ । हामीले बाँचुन्जेल आफ्नो अधिकार नपाउने भयौँ ।’ यौन श्रमिक भएकै कारण थुप्रै अधिकारबाट वञ्चित हुनुपरेको उनले बताइन् । ‘यौन श्रमिक भन्ने थाहा पाउँदा डाक्टरले राम्रो उपचार गरिदिँदैनन्,’ उनले भनिन्, ‘होटलमा पैसा तिरेर खाँदा पनि साहुले धेरै बेर बस्न दिँदैनन् । ग्राहकबाट पनि हामीलाई सुरक्षा छैन । पैसा तिरेर ल्याएको त हो नि भन्दै जथाभावी व्यवहार गर्छन् ।’

यौन श्रम गरेकै कारण उनीहरू व्यक्तिगत जीवन बिताउन पाउँदैनन् । ‘काम नगरेको दिन बाटोमा आफन्तसँग ढुक्कले हिँड्न पाउँदैनौँ,’ ताराले भनिन्, ‘आफन्त कसैलाई घुमाउन लिएर हिँड्दा चिनेका ग्राहकले ‘मलाई मिलाइदे’ भन्दै तान्न आउँछन् । छोरी लिएर हिँड्न त झनै डरमर्दो हुन्छ ।’ 

‘यौन श्रमलाई निरअपराधीकरण गर्नुपर्छ’
यौन श्रमिक महिलाको हकहितका लागि काम गर्ने मानव अधिकारकर्मी शान्ति तिवारी यौन श्रमलाई निरअपराधीकरण गर्नुपर्ने बताउँछिन् । ‘उमेर पुगेपछि मान्छेले आफ्नो पेसा छनोट गर्न पाउँछ,’ उनी भन्छिन्, ‘त्यो उनीहरूको स्वतन्त्रताको कुरा हो । यौन श्रम गरेकै कारण उनीहरूलाई अपराधीलाई जस्तो व्यवहार गर्न पाइँदैन । उनीहरूको पनि यो समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ ।’ 

यौन श्रमिकलाई कामकै आधारमा अपराधी जस्तो व्यवहार गर्दा हिंसामा पर्दासमेत उनीहरू सहेर बस्ने अधिकारकर्मी शान्ति बताउँछिन् । ‘उनीहरूमाथि अन्याय हुँदा उजुरी गर्ने ठाउँ छैन,’ उनी भन्छिन्, ‘आफ्नो समस्या लिएर जाँदा उनीहरू उल्टै हिंसाको शिकार बनेका थुप्रै घटना छन् । अहिलेसम्म यौन श्रमिकहरूले मलाई हिंसा भयो भनेर उजुरी गरेको कहीँकतै पाइँदैन । किनभने, राज्यले उनीहरूलाई नागरिक नै मानेको छैन ।’

यौन श्रमिकहरूलाई निरअपराधीकरण गर्नेबित्तिकै ५० प्रतिशत समस्या आफैँ समाधान हुने उनी बताउँछिन् । ‘अपराधीकरण गरिरहँदा उनीहरूमाथि झनै हिंसा बढ्छ,’ उनी भन्छिन्, ‘लखेटिके, लुटिने, कुटिने, प्रहरीबाट भाग्दा गाडीबाट दुर्घटनामा पर्नुपर्ने अवस्था आउँछ ।’

०००
केही हप्ताअघि इकागजलाई सात जना यौन श्रमिक महिलाहरू भेटाएर उनीहरूको कुरा राख्ने चाँजोपाँजो अधिकारकर्मी शान्तिले नै मिलाएकी थिइन् । कुराकानीको अन्तिममा उनै २७ वर्षदेखि यौन श्रम गरिरहेकी बिन्दुले भनिन्, ‘यसपालिको स्थानीय चुनावमा म वडा अध्यक्षमा उठेको थिएँ, तर जितिनँ । अर्कोपटक फेरि उठ्छु र जितेँ भने मजस्ता महिलामाथि हुने हिंसाको आवाज म आफैँ उठाउँछु ।’ 



Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x