समाज

सुर्तिजन्य पदार्थ सेवन गर्न छाडेको २० मिनेटमै स्वास्थ्यमा असर कम

औसतमा दैनिक २७ को मृत्यु

सरिता दाहाल |
जेठ १७, २०७९ मंगलबार १८:४४ बजे

मकवानपुर । सुर्तिजन्य पदार्थको सेवन गर्ने गर्नु भएको छ, यो आदतलाई अहिले नै छाडिहाल्नुभयो भने, तपाईंले स्वास्थ्यलाभ गर्न सक्नुहुनेछ । तपाईले सुर्तिजन्य पदार्थको सेवन गर्न छाडेको केवल २० मिनेट मै स्वास्थ्यमा यसको असर कम हुन थाल्नेछ ।

यो कुनै विज्ञापन हैन । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार लामो समय सेवन गरेको उल्लेख गर्दा प्रायले अब कति नै बाँच्छु र भन्दै सुुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइन्छ । “त्यस्तो हैन, सेवन गर्न छाडेको २० मिनेटमै स्वास्थ्यमा यसको सकारात्मक असर देखिन्छ” काफ्लेले भने । उनका अनुसार सुर्तिजन्य पदार्थको सेवन छोडेको २० मिनेटमा नै ब्लड प्रेसर कम हुँदै जान्छ ।

यसैगरी २ घण्टापछि रगतमा निकोटिनको मात्र कम हुँदै जाने, ८ घण्टापछि कार्बनमनोअक्साइड कम हुँदै जाने उनले बताए । यसरी सुर्तिजन्य पदार्थको सेवन छाडेको २० मिनेटबाटै शरिरमा सकारात्मक असर सुरु भई ५ देखि १० वर्षमा पूर्ण स्वास्थ बन्न सकिने उनले बताए ।

“विगतमा सुर्तिजन्य पदार्थ सेवनको कारण कुनै अंग पूर्ण क्षति भएको छ भने त्यो त ठिक हुन्न तर अन्य सवालमा पूर्ण स्वास्थ्यलाभ गर्न सकिन्छ” उनले भने ।

सुर्तिजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नाराका साथ मंगलबार विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको मनाइएको छ । तर सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा बेचविखनमा निगरानी हुन सकेको छैन ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासन काफ्लेले नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु हुने गरेको बताए । यो संङ्ख्या औषत दैनिक ७४ जना हो ।

उनका अनुसार नेपालमा कुल मृत्युको १५ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनबाट हुने गरेको बताए । यही अवस्थामा मृत्युदर रहेमा वि स २०३० सम्म प्रति ६ जनामा १ जानको मृत्युको कारण सुर्तिजन्य पदार्थको सेवन नै रहने प्रक्षेपण स्वास्थ्य निर्देशनालयले गरेको छ ।

सुर्तिजन्य पदार्थ सेवनको कारण विश्वमा वार्षिक ८० लाख मृत्यु हुने गरेको छ भने दुई लाख हेक्टर जमिनमा सुर्तिजन्य पदार्थको उत्पादनमा प्रयोग हुँदै आएको छ ।

सन् २०१९ मा गरिएको एक सर्भेक्षण अनुसार नेपालमा धूम्रपान गर्नेको संख्या २८ दशमलब ९ प्रतिशत रहेको छ । चुरोटमा चार हजार बढी हानिकारक विषालु रसायनिक तत्व पाइने काफ्लेले बताए । जसमा रहेको ४० प्रकारका हानिकारक रसायनले क्यान्सर गराउनेछ ।

सुर्तिजन्य पदार्थमा हुने निकोटीन, टार जस्ता पदार्थले व्यक्तिाई तलतल गराउने, बेचैनी गराउने हुँदा यसको लतमा व्यक्ति सहजै फस्ने गरेको उनले बताए ।

निर्देशनालयका सुचना अधिकारी शीव प्रसाद बडालका अनुसार सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र सोही वर्षकै नियमावलीका दफा उपदफामा उल्लेख भएका सुर्तिजन्य पदार्थका विषयवस्तु, दण्ड सजायहरुबारे आमजनमानसमा नपुग्दा अझै पनि सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण उच्च रहेको छ ।

प्रत्यक्ष आफैंले सेवन गर्दा भन्दा धुमपानको असर अप्रत्यक्ष रुपमा झनै बढी भएकोले सार्वजनिक स्थलमा सेवन निषेध गरिएको स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठले बताए । “एउटा कोठामा कसैले धुमपान सेवन गरेर गएको छ भने त्यहाँ ५ घण्टासम्म त्यसको असर रहन्छ” निर्देशक श्रेष्ठले भने । खुल्ला स्थानमा यसको असर १ घण्टा रहने उनले बताए ।

निर्देशनालयले दिवसको अवसरमा विहान प्रभातफेरी तथा दिउँसो पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
 



Author

थप समाचार
x