सुदूरपश्चिम

कैलालीमा जुटेन सहमति, तालमेल हुन सकस

दीपक उपाध्याय |
बैशाख ४, २०७९ आइतबार १२:२१ बजे

कैलाली– वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कैलालीमा चार दलीय गठबन्धनबीच तालमेल नहुने देखिएको छ । शनिबार बसेको बैठकमा सबै दलले आ–आफ्नो अडान कायमै राखेपछि चुनावी तालमेल नहुने देखिएको हो । 

बैठकमा नेपाली काँग्रेसले जिल्लाका १३ मध्ये ११, माओवादी केन्द्रले सात, एकीकृत समाजवादीले चार र जनमोर्चाले एक स्थानीय तहमा दाबी पेश गरेका थिए । नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेलको सम्भावना घटेर गएको बताए । सभापति भट्टले नेपाली काँग्रेस ११ वटा स्थानीय तहमा एक्लै बलियो रहेको अवस्थामा अन्य दललेसमेत त्यही स्थानमा दाबी गरेपछि तालमेलको सम्भावना नरहेको बताउँदै जिल्लामा सहमति नजुटेपछि थप छलफलका लागि नेपाली काँग्रेस प्रदेश समितिलाई आग्रह गर्ने तयारी भइरहेको बताए । 


यता माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि ज्ञवालीले पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति जुट्न नसकेको बताए । उनले माओवादीले सात पालिकामा दाबी गरेको बताउँदै सहमति हुन नसके गठबन्धन नै खतरामा पर्न सक्ने बताए । यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव दीर्घ जोशीले जिल्लामा सहमति हुन नसकेपछि सहमतिका लागि प्रदेश कमिटीलाई आग्रह गरिएको बताए । उनले आफुहरुको पनि ४ पालिकामा दावी रहेको बताए ।

०७४ सालको निर्वाचनमा काँग्रेसले धनगढी उपमहानगरपालिका सहित, वर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिका जितेको थियो । एमालेले गोदावरी, घोडाघोडी, गौरीगंगा, लम्कीचुहा र टीकापुर नगरपालिकाका साथै चुरे र मोहन्याल गाउँपालिका जितेको थियो भने । कैलारी र भजनी नगरपालिकामा माओवादी केन्द्रले जित हात पारेको थियो । 

त्यस्ते जानकी गाउँपालिकामा लोकतान्त्रिक फोरमले जितेकोमा उक्त पार्टीले काँग्रेससंग एकता गरिसकेको छ भने जनता समाजवादी पार्टीले भने कैलालीमा चार दलसंग गठबन्धन नगर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x