सुदूरपश्चिम

दार्चुलाबाट कैलाली झरेका दम्पती फूलखेतीमा रमाउँदै

दीपक उपाध्याय |
कात्तिक २२, २०८० बुधबार ९:२४ बजे

कैलाली- तिहार पर्व भन्नासाथ प्रायः सबैको मनमा झल्को आइहाल्छ- ढकमक्क फूलेका सयपत्री, मखमलीलगायत विभिन्न प्रजातीका फूलहरू ।

फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आँगनमा भित्रँदै गर्दा धनगढी उपमहानगरपालिका-६ कि पुष्प व्यवसायी सुशिला विष्टलाई अहिले तिहारको व्यस्तताले फूल टिप्न र माला बनाउन भ्याईनभ्याई भएको छ । पछि एकैचोटि मालाको माग बढ्ने भएकाले अहिलेदेखि नै माला बनाएर राख्नु परेको विष्टले बताइन् ।


उनलाई व्यवसायमा श्रीमान शंकर विष्टले साथ दिइरहेका छन् । फूल टिप्न व्यस्त रहेका शंकरले श्रीमतीसँगै काम गर्न पाउँदा दामसँगै आगामी योजनासमेत बनाउन मिल्ने भन्दै सुरूवाती चरणदेखि नै सँगसँगै फूलखेतीमा काम गरिरहेको बताए । 

न्यू बन्डोली एण्ड कन्सर्न फर्म दर्ता गरेर करिब डेढ बिगाहा जग्गामा गत बैशाखदेखि व्यवसायिक फूल खेती गर्न सुरू गरेको शंकरले सुनाए । व्यवसायिक फूलखेतीभन्दा पनि २/३ वर्ष पहिला आफूले २/३ कट्ठा जग्गामा फूल लाउने गरेको बताए । सुरुमा दार्चुलाबाट कैलाली झर्दा के गरेर बस्ने भन्ने चिन्ता भएपनि अहिले त्यो अन्यौलता भने नरहेको विष्टले बताए ।

फूल र माला लिनका लागि अहिले मानिसहरू बारीमै आउने गरेको सुनाउँदै सुशिलाले अर्डर अनुसार घरमै समेत पुर्‍याउने गरेको बताइन् ।

संघर्ष र चुनौतीका बीच अहिले फूलखेतीले केही भए पनि राहत दिएको सुशिलाले बताइन । उनले अहिले फूलका मालाहरू नबिग्रिउन भन्नका लागि चिस्यान केन्द्रसमेत निर्माण गरेको बताइन् ।  चिस्यान केन्द्रमा २ हजार वटासम्म तयारी माला भण्डार गर्न सकिने उनले सुनाइन् ।

फूलको बिरुवा रोपेपछि तीन महिनामा आम्दानी दिन्छ । प्रतिफूलको बिरुवामा कम्तीमा एक सय वटा फूल फूल्यो भने राम्रो आम्दानी हुने सुशिलाको भनाइ छ । बजारमा हाल प्रतिमाला औसत १०० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको उनले बताइन् ।

कैलालीमा पछिल्लो समय तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ । धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न इच्छुकलाई केही समय पहिला व्यवसायिक फूलखेतीको तालिम दिएपछि अहिले फूलखेती गर्नेहरूको संख्यामा समेत बढोत्तरी भएको छ । 

सयपत्री फूलको सुगन्धले चाडपर्वको माहौललाई थप उल्लासमय बनाएको छ । बाह्रै महिना फूल्ने भए पनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फूल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फूल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।

धनगढीमा फूल व्यवसाय गर्नेहरू :


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x