सुदूरपश्चिम

अवरूद्ध भीमदत्त राजमार्ग नखुल्दा ७ जिल्लामा दैनिक उपभोग्य सामान अभाव

दीपक उपाध्याय |
साउन २७, २०८० शनिबार ६:५७ बजे

कैलाली- सुदूरपश्चिमका सात वटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको झण्डै हप्ता दिन हुँदा समेत खुल्ने सम्भावना देखिएको छैन ।  पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले पनि सुदूरपश्चिममा भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन भने निकै प्रभावित भएको छ । कैलालीको बुढीतोलामा सोमबार राति गएको पहिरोका कारण सडक यातायात पूर्ण रुपमा अवरुद्ध भएको हो ।


सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरू डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लामा ढुवानीका साधनहरू नचल्दा खाद्यान्न, औषधी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन थालेको छ । त्यस्तै पहाडी जिल्लामा उत्पादित गोलभेडा, काउली, आलु, सिमी, बन्दालगायतका तरकारीहरू तराई आउने गर्छ । 

तराईतिर झर्ने यात्रुहरूले आफ्नो यात्रा स्थगित गरिरहेका छन् भने तराई अत्यावश्यक कामले नआइ नहुने पहाडी जिल्लाका यात्रुहरू, विरामी बोकेका एम्बुलेन्सहरू बुढीतोलासम्म पुग्ने गरेका छन् । एम्बुलेन्समा ल्याइएका विरामीलाई सुरक्षाकर्मी र भेटिएका सहयोगीहरूद्वारा जोखिम मोलेर स्ट्रेचरमा पहिरो क्षेत्रमाथिबाट बोकेर ल्याउनु परिरहेको छ । सयौंको संख्यामा सवारी साधनहरू बुढीतोला र खानीडाँडामा रोकिएका स्थानीय प्रकाश देउवाले बताए ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख हरिप्रसाद सुवेदीले शुक्रबारसम्ममा एकतर्फी सडक खोल्ने प्रयास गरिएको भएपनि वर्षाका कारण सम्भव नभएको बताए । उनले लगभग ८० प्रतिशत काम सप्पन्न भएको अवस्थामा शुक्रबार दिउसो फेरि वर्षा भएकाले मर्मत गरेको सडक खण्डमा पुन: पहिरो आउदा समस्या भएको बताए ।

एक सय मिटर सडकको पुरै बेस नै बगेकाले मर्मत गर्न निकै कठिन भएको बताउदै सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले तीन सय मिटर जति सडक माथिबाट आएको पहिरोमा परेको बताए । उनले माथिबाट आएको पहिरो पन्छाउने काम गर्दा वर्षा र पानीको मुहान भएकाले पहिरो निरन्तर बगिरहेको जानकारी दिए । 

यसैबीच सडक विभागबाट पहिरो विशेषज्ञसहितको टोली बुढीतोला पुगेर प्रारम्भिक अध्ययन समेत गरेको प्रमुख सुवेदीके बताए । सडक विभागका सुपरिटेन्डिङ इन्जिनियर विनोद कुमार मौवार नेतृत्वको टोलीमा पहिरो विशषज्ञ डाक्टर मधुसुदन आचार्यसहितको टोलीले पहिरो प्रभावित सडक क्षेत्रको स्थलगत अनुगमन गरेको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले बताए ।

पानी पर्न रोकिए शनिबार साझसम्ममा हलुका सवारीसाधन संचालनमा आउने बताउदै सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख सुवेदीले अहिले पाँचओटा डोजले पहिरो पन्छाउने र नयाँ ट्र्याक खोल्ने काम भैरहेको बताए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x