सुदूरपश्चिम

'हरित धनगढी अभियान'मा जनसहभागिता बढ्दै

इकागज |
असार २५, २०८० सोमबार १८:४९ बजे

कैलाली- सुन्दर र हराभरा धनगढी बनाउने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले सुरु गरेको हरित धनगढी अभियानमा विभिन्न संघसंस्था र व्यक्तिहरू जोडिन थालेका छन् । 

हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ कैलाली भन्सारदेखि धनगढीको सिमानासम्म ६ लेन सडकको दुवै किनारामा वृक्षरोपण गर्ने कार्यमा जनसहभागिता बढ्दै गएको हो । 


सोमबारदेखि सुरु भएको उक्त अभियानमा ग्लोबल आइएमई बैंकले ४ लाख रुपैयाँ सहयोग गरेको छ । उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक बिरुवा बराबर पाँच हजारका दरले ग्लोबल आइएमई बैंकले ८० ओटा बिरुवा बराबरको रकम सहयोग गरेको बताए । 

त्यस्तै एसपीए कलेजले उक्त लेनमा रहेका २० वटा विरुवा संरक्षणको जिम्मा लिएको हो । मेयर गोपाल हमालले सोमबार धनगढी चौराहामा एसपीए कलेज अंकित रुख रक्षा जाली (ट्री गार्ड)को उद्घाटन गर्दै सम्पूर्ण धनगढीवासीलाई अभियानमा साथ हुन आह्वान गरे । 

उपमहानगरपालिकाले विरुवा संरक्षणका लागि प्रतिविरुवा ५ हजार रुपैयाँ शुल्क तोकेको छ । एसपीएका प्रबन्ध निर्देशक शाहीले २० विरुवा संरक्षणका लागि तोकिएको शुल्क समेत उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन ।

त्यस्तै धनगढीमै रहेको सौराई स्क्वायरले ४ ओटा विरुवा संरक्षणका लागि २० हजार रुपैयाँ, सिगास मिडिया हब प्रालिले १२ विरुवा संरक्षणला लागि ६० हजार रुपैयाँ र पत्रकार दिलबहादुर छत्यालले १ विरुवाका लागि ५ हजार रुपैयाँ उपमहनगरपालिकालाई हस्तान्तरण गरेको मेयर हमालले बताए ।


Author

थप समाचार
x