सुदूरपश्चिम

गौरीफन्टा नाकाबाट २२ हजार नेपाली परीक्षणविनै घर पुगे

लकडाउन गर्ने तयारीमा प्रशासन

नवराज पनेरु |
बैशाख १४, २०७८ मंगलबार १२:२७ बजे

धनगढी : कैलालीको त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्कनेको भीड बढ्दै गएको छ । भारतमा कोभिड-१९ दोस्रो लहरले त्रास फैलाएपछि पश्चिमी नाका त्रिनगर भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको हो । त्रिनगर–गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाकाअनुसार अनुसार पछिल्लो ७० दिनमा त्रिनगर नाका भएर ३६ हजार एक सय ८ जना नेपाली स्वदेश फर्किएका छन् । 

‘फागुनमा १० हजार पाँच सय ५३, चैतमा १७ हजार दुई सय ८ र बैशाखको १० गतेसम्म ८ हजार तीन सय ४७ जना नेपाली भारतबाट स्वदेश फर्किएका छन्,’ उनीहरूमध्ये १४ हजार एक सय ५२ जनाको एन्टिजेन परीक्षण भएको छ । एक हजार तीन सय एक जनामा संक्रमण पुष्टि भएको छ ।’ 


स्वदेश फर्किएकामध्ये झण्‍डै ६० प्रतिशत अथर्थात २२ हजार नेपाली भने परीक्षणविनै घर पुगेका छन् । सीमामा उचित व्यवस्थापन र स्वदेश आउने सबैको परीक्षण नहुँदा सुदूरपश्चिममा महामारी भयावह बन्न सक्ने सम्भावना बढेको छ । नाकामा होल्डिङ सेन्टरसमेत नहुँदा भारतबाट आउएका नेपाली सार्वजनिक सवारीमा सोझै घर पुगिरहेका छन् । सीमा क्षेत्रमा बढेको लापरबाहीकै कारण सुदूरपश्चिमका अस्पतालहरू संक्रमितले भरिभराउ भएका छन् । 

यस्तै अधिकासंको परीक्षण नै नभएपछि नाका जोडिएको कैलाली र कञ्चनपुर जिल्ला सबैभन्दा बढी जोखिममा छ । संक्रमण दर बढेको भन्दै अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले मंगलवारदेखि कैलाली र कञ्चनपुरमा नाइट लकडाउन जारी गरिएको छ । सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन भइरहेका छन् भने जिल्लाका सबै शैक्षिक संस्था बन्द गरिएका छन् । 

सीमा बजारमा हुने किनमेलमा पनि रोक लगाइएको छ । यसले पनि संक्रमण दर घटाउन नसकिने देखिएपछि कैलालीमा भोलिदेखि पूर्णरूपमा लकडाउन जारी गर्ने तयारीमा स्थानीय प्रशासन छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अहिले भइरहेको संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको निर्णय गर्न सक्ने बताए । 
 


Author

थप समाचार
x