सुदूरपश्चिम

उजुरी दिने व्यक्तिविरुद्ध प्रहरीद्वारा कुटपिट प्रकरण : प्रहरीले बनायो छानबिन समिति

दीपक उपाध्याय |
असार ३१, २०७९ शुक्रबार ८:५५ बजे

सुदूरपश्‍चिम- न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्धारा कुटिएको घटनमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला बहादुर रावलले घटनाको बारेमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त घटनाबारे छानबिन समिति गठन गरिएको बताए ।


जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जगत गाहामगरको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताउँदै प्रवक्ता एसएसपी रावलले छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा अगाडि बढ्ने बताए । तर, गोकुलेश्वरस्थित प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक सुरजबहादुर सिंहलाई त्यही राखेर एउटै दर्जाको व्यक्तिबाट अनुसन्धान गर्दा त्यसले न्याय देला त ? प्रवक्ता एसएसपी रावल यसो भन्छन् 'जिम्मेवारी दिएर पठाइसकेपछि उसको काम नै निस्पक्ष अनुसन्धान गर्ने हो ।' 

घटना के हो ? 
असार २८ गते बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्की न्यायको लागि दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीमा पुग्छन् । तर त्यहाँका ईञ्चार्ज प्रहरी निरिक्षक सुरजबहादुर सिंहले उल्टै कार्कीलाई निर्घात कुटपिट गर्छन् ।

कार्कीले आफ्नी पत्नीलाई र सोही ठाउँ बस्ने एक जना व्यक्तिसँग एकान्तमा भेटेपछि उनीहरूविरुद्ध प्रहरीमा असार २८ गते गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिएका थिए ।

तर प्रहरीले कार्कीकी पत्नी र उनीसँग भेटिएका व्यक्तिलाई सोही साँझ छाडे पनि कार्कीलाई भने रातभरी थुनुवा कक्षमा राखी निर्घात कुटपिट गरेको कार्कीका दाई भीम सिंह कार्कीले बताए । उनका शरीरका विभिन्न भागमा निल डाम छन् । 

कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् । उजुरी दिने व्यक्तिमाथि नै प्रहरीले कुटपिट गरेपछि सयौको संख्यामा गएका स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरेका थिए ।


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x