सुदूरपश्चिम

लिखित सहमतिपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालन

इकागज |
असार २९, २०७९ बुधबार २२:६ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको असन्तुष्टिका बारेमा प्रतिपक्षी र सरकारबीच लिखित सहमति भएपछि प्रदेशसभामा आज बजेटमाथिको छलफल सुरु भएको छ ।
 
मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा बोलाइएको असन्तुष्ट प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यसँगको छलफलपछि भएको सहमतिपछि प्रदेशसभामा सरकारको आगामी आव २०७९र०८० को बजेट कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो । 
 
प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट कार्यक्रम प्रतिप्रतिपक्षी र सत्तापक्षकै सदस्यको व्यापक असन्तुष्टिका कारण पटकपटक बोलाइएका बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो । 
   
आजको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्राविधिक कारणले आगामी आर्थिक वर्षको बजेट कार्यक्रका कतिपय शीर्षकमा कमीकमजोरी भएको स्वीकार्दै कमीकमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे । मन्त्री रावलले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
  
आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का प्रमुख सचेतक लीलाधर भट्टले असार १ गते सदनमा बजेट कार्यक्रम प्रस्तुत भइसकेपछि प्रतिपक्षी दलले नचाहँदा पनि नियोजितरूपमा सत्ताको मातहतका कारण २५ दिनसम्म सदन स्थगित गरिएको आरोप लगाए । 

उनले स्थगित सदन सञ्चालन गरी सुदूरपश्चिम प्रदेशसभाको गरिमा जोगाउने दायित्व प्रतिपक्षी दलले सम्झेर सरकारसँग १४ बुँदे समझदारी गर्नुपरेको बताए । 


प्रदेशको सुशासन ऐनअनुसार छनोट भएका योजनाबाहेकका सबै योजना खारेज गर्ने र स्थानीय तहलाई प्रदान गरिँदै आएको समपूरक कोषमा रु दुई अर्ब र विशेष अनुदानमा रु एक अर्ब राख्नुपर्ने सहमति सरकार र आफूहरुबीच भएको प्रमुख सचेतक भट्टले जानकारी दिए । 

यसैगरी रु १० लाखभन्दा बढी रकमका योजनालाई टेन्डरमार्फत कार्यान्वयन गर्ने, पार्टी कार्यालय र औचित्य नभएका सामुदायिक भवनका लागि छुट्याइएको बजेट कटौती गरेर विद्यालय भवन र स्वास्थ्यचौकीमा लगाउने, क्रमागत योजना, छुटेका योजनालाई बजेटमा समावेश गर्ने, प्रदेश गौरवका योजनामा पर्याप्त बजेट छुट्याउनेलगायतका विषयमा पनि प्रतिपक्षी र सरकारका बीच सहमति भएको छ । 
  
बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्षी दलका सदस्यले वित्तीय अनुशासनविपरीत बिचौलियाको प्रभावमा परेर बजेट कार्यक्रम आएकाले कमीकमजोरी सच्याउनुपर्ने बताए । आजको बजेटमाथिको छलफलमा सत्तापक्षका सुशीला बुढाथोकी, कुन्ती जोशी, भरतबहादुर खड्का, महेशदत्त जोशी, देवकी मल्ल, बलबहादुर सोडारी र डिल्लीराज पन्तले भाग लिएका थिए । 

प्रतिपक्षी दलका लीलाधर भट्ट, कृष्णराज सुवेदी, पठानसिंह बोहरा, कृष्णबहादुर चौधरी, हर्कबहादुर कुँवर, बलदेव रेग्मी, गेल्बुसिं बोहरा र नेपालु चौधरीले पनि बजेटमाथिको छलफलमा भाग लिएका थिए । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।रासस


Author

थप समाचार
x