सुदूरपश्चिम

भारतबाट फर्किनेहरूमा धमाधम कोभिड संक्रमण

नवराज पनेरु |
चैत १६, २०७७ सोमबार ६:५० बजे

धनगढी : आइतबार मात्रै भारतका विभिन्‍न शहरबाट पश्चिमी नाका गौरीफन्टा हुँदै नेपाल भित्रिएका चार जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नाकामा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार तीन सय ७१ जना नेपाल फर्केका थिए भने ५८ जनाको कोभिड परीक्षण गरिएको थियो ।

उनीहरुमध्य चार जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए । उनका अनुसार भारतमा कोभिड संक्रमण फैलिएपछि सीमामा चेकजाँच गर्दा हालसम्म ८ सय ७० जनाको स्वाब परीक्षण गरिएको छ । उनीहरुमध्ये ३८ जनामा कोभिड संक्रमण पुष्टि भइसकेको ठकुल्लाले बताए ।


भारतबाट फर्केकाहरुमा नै संक्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिममा कोभिड भाइरसको दोस्रो लहर फैलिन सुरु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर कोभिड रोकथाम र नियन्त्रणका लागि भने प्रदेशका स्वास्थ्य संयन्त्र तयारी अवस्थामा देखिएका छैनन् । स्थानीय तहले संक्रमण फैलिन नदिन स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङमा चासो देखाएका छैनन् । 

सेती प्रादेशिक अस्पतालसहित बैतडी, अछाम, डोटी, बझाङ, डडेल्धुरा र कञ्चनपुर गरि सबै प्रयोगशालाको दैनिक परीक्षण क्षमता तीन हजार पाँच सय रहेको छ । तर सुदूरपश्चिममा अहिले बढिमा दैनिक २५ जनाको मात्रै कोभिड परीक्षण भईरहेको छ । भारतबाट फर्केका अधिकांश नेपाली पनि परीक्षण बिना घर गईरहेका छन् । तर पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकी व्यवस्थापन गरिरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सीमा नाकामा स्वस्थ्य परीक्षण गरेर मात्रै आउन दिने व्यवस्था मिलाइएको दावी गरे । सीमामा एन्टिजेन परीक्षण गरिरहेका उनले बताए । 

कोभिड फैलिन नदिन लगाइएको आशिंक निषेधाज्ञाकै बीच कैलालीमा सभा, गोष्ठीलगायतका भीडभाड हुने कार्यक्रम भईरहेका छन् । संघीय सरकारका मन्त्रीले नै आशिंक निषेधाज्ञाको उल्लघन गर्दै कैलालीमा आयोजित कार्यक्रममा सहभागिता जनाएपछि झन समस्या बढेको हो । होली मनाउने क्रममा पनि चहलपहलमा बढेको छ ।

होली खेल्ने अधिकांशले सामाजिक दूरी कायम नगरेको र मास्क प्रयोग गरेको पाइएको छैन् । यता कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले कुनै पनि कार्यक्रमको नाममा भीडभाड गर्न नपाइने बताउँदै प्रशासनले जारी गरेको आदेशको सबैले पालना गर्नुपर्ने बताए । ‘प्रशासनले जारी गरेको आदेश सबैको लागि हो । जस्तो सुकै अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका छौँ,’ उनले भने । 
 


Author

थप समाचार
x