कर्णाली

को होला कर्णालीको राजधानी वीरेन्द्रनगरको मेयर ?

लक्ष्मी भण्डारी |
बैशाख १६, २०७९ शुक्रबार १८:३६ बजे

सुर्खेत– निर्वाचन नजिकिएसँगै उम्मेदवारी दिएर दलहरु चुनावी मैदानमा होमिएका छन् । चुनावी कार्यक्रमहरु तय गरी उम्मेदवारहरु अघि बढेका हुन् । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भए पनि भागबण्डा नमिलेपछि अन्तिममा दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । प्रदेशको राजधानी भएकाले पनि सबैको रोजाई बनेको छ वीरेन्द्रनगरको मेयर पद । 


वीरेन्द्रनगर नगरपालिकाको मेयरमा कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धना शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दिएका छन् । त्यसैगरी जनता समाजवादी पार्टीबाट गगनबहादुर  सारु, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्मा, नेमकिपाका गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीका  टीकाराम रेग्मी, नेपाल दलित पार्टीका निलकन्ठ भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेश प्रसाद काफ्लेले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट फस्ट बहादुर हमाल, चिन्तामणि शर्मा, भिमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमा नन्द पङ्गालीले उम्मेदवारी दिएका छन् । 

०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले जितेका थिए । सुवेदीले १४ हजार चार सय ५ मत प्राप्त गरेका थिए । उनको निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका बालाराम शर्माले पाँच  सय ६ मतान्तरले पराजित भएका थिए । अघिल्लो स्थानीय तहको निर्वाचन जितेको र यसपटक नेकपा एमाले विभाजनमा रहेकाले पनि आफ्नो सहजै जित हुने अनुमान कांग्रेसको छ । 

नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेकी मोहनमाया ढकालले ०७४ मा उपप्रमुखमा अत्याधिक मत प्राप्त गरी विजयी भएकी थिइन् । ढकालले १६ हजार ६८ मतका साथ जित हासिल गरेकी थिइन् । उपप्रमुख भएपछि नगरमा उनले सञ्चालन गरेका कार्यक्रमहरुले उनको व्यक्तित्वमा सकारात्मक प्रभाव पारेकोले उनको व्यक्तित्वको कारण निर्वाचन उनको पक्षमा पार्न सकिन्छ की भन्ने आँकलन रहेको छ ।  

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा सीमित रह्यो । माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार दुई सय ३७ मत प्राप्त गरेका थिए । त्यसैगरी स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले एक हजार आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरकुमार श्रेष्ठले पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाहीले एक सय ६६, राष्ट्रिय जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले एक सय ८८ मत प्राप्त गरेका थिए ।

०७४ को निर्वाचनमा वीरेन्द्रनगरमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो । यो पटक पनि कांग्रेस–एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि अहिलेको अवस्थामा यी दुई पार्टीबीच मुख्य प्रतिस्पर्धा भएतापनि एमाले विभाजन भएको र कांग्रेसमा पनि दुई पक्षबीच विवाद बढेकाले यसको परिणाम फरक हुने सम्भावना पनि उत्तिकै बढेको छ । 

०७४ मा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६ सय ३७ मतदाता थिए । अहिले यहाँ ६७ हजार ५७ मतदाता छन् । अहिले नयाँ थपिएका १६ हजार चार सय २० मतदाताको मतको आधारमा पनि आँकलन गरिएको भन्दा फरक नतिजा आउन सक्ने देखिन्छ । त्यसैगरी साना दलहरुको प्राप्त गर्ने मतले ठूलो दलका उम्मेदवारलाई पनि फरक पार्न सक्ने विश्लेषकहरु बताउँछन् । 
 


Author

थप समाचार
x