कर्णाली

सुर्खेतका उपप्रमुख भन्छन्- ‘मुद्दालाई प्रक्रिया अनुसार अघि बढाइनुपर्छ’

लक्ष्मी भण्डारी |
मंसिर २१, २०७८ मंगलबार १७:४२ बजे

सुर्खेत- न्यायिक समितिको क्षेत्राधिकारको दायरालाई बढाउनुपर्ने सुर्खेतका उपप्रमुखहरुले बताएका छन् । न्यायिक समितिको साँघुरो क्षेत्राधिकारका कारण हिंसा पीडित महिलालाई न्याय दिन कठिन भएको उनीहरुको ठम्याई रहेको छ । 

राष्ट्रिय महिला आयोगले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको न्यायिक समितिका पदाधिकारीहरु बीच लैंगिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच विषयक अन्तरक्रियामा सहभागी उपप्रमुखले यस्तो बताएका हुन् ।


न्यायिक समितिमा आउने मुद्दाहरुलाई कानुनी प्रक्रियाअनुसार अघि बढाइनुपर्ने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल बताउँछिन् । ‘समितिमा आउने हिंसाका मुद्दाहरुलाई कानुनी प्रक्रिया अनुसार  निरुपण गर्न सकिएमा पीडितले न्याय पाउँछन्’ उपप्रमुख ढकाल भन्छिन्, ‘सबै पालिकाका न्यायिक समितिले कानुन बमोजिम मुद्दालाई प्रक्रिया अनुसार अघि बढाउने गरि व्यवस्था गरिनुपर्ने आवश्यकता रहेको छ ।’ 

वीरेन्द्रनगर नगरपालिकाले दुई वटा मुद्दालाई कानुनी प्रक्रियाबमोजिम अघि बढाएको उनले बताइन् । नगर क्षेत्रभित्रका पीडित महिलालाई आर्थिक अभावका कारण न्यायबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नगरपालिकाले वकिलको व्यवस्था समेत गरेको उनले बताइन् । नगरपालिकाले वकिलको साथै कानुनी सल्लाहकारको रुपमा अधिवक्तालाई समेत राखेको छ ।

आर्थिक अभाव तथा कानुनी प्रक्रियामा गए असुरक्षाको कारण पीडितहरु कानुनी प्रक्रियामा जान नचाहेको उपप्रमुख ढकालको भनाई छ । ‘अन्यायमा परेपनि अधिकांश पीडितहरु कानुनी प्रक्रियामा जान मान्दैनन्’ उपप्रमुख ढकाल भन्छिन्, ‘समितिमा धेरै विवाद आउँछन् तर, पीडितले न्यायको प्रक्रियामै जान चाहदैनन् ।’
वीरेन्द्रनगर नगरपालिकाका न्यायिक समितिका कानुनी सल्लाहकार एंव अधिवक्ता कृष्णबहादुर हमालले पीडित महिलाले न्याय पाउनको लागि कानुनी प्रक्रियामा आउँदा उनको सुरक्षा र गाँस, बासको व्यवस्थापन राज्यले गरिदिनुपर्नेमा जोड दिए ।  

लेकबेसी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले न्यायिक समितिको काम अलमलमा परेको बताइन् । ‘सुरुवातमा अलमल भयौ अहिले सिक्दै व्यवहारमा उतारेका छौ’ उनी भन्छिन्, ‘हामीले पढेर होइन परेर सिक्न पायौ ।’ न्यायिक समितिमा बालविवाह, बहुविवाह, कुटपिट जस्ता मुद्दाहरु आउने गरेको उनले बताइन् । 

सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले समितिमा आएका विवादलाई व्यवहारिक रुपमा अघि बढाएको बताइन् । दुवै पक्षको जित हुने गरि विवादलाई निरुपण गर्ने गरेको बताइन् । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले लैंगिक हिंसा अन्त्यको लागि घरपरिवारबाटै सुरुवात गर्नुपर्नेमा जोड दिइन् । ‘पीडित महिलाले उजुरी दिएपनि सहज रुपमा न्याय पाउन नसकेको अवस्था छ’ उनी भन्छिन्, ‘महिलाहरु न्याय पाउनबाट वञ्चित छन् ।’

हिंसा अन्त्यको लागि महिला आफै सशक्त भएर लाग्नुपर्ने उनको भनाई थियो । आर्थिक रुपमा महिला बलियो भएमा हिंसाको अन्त्य हुने आयोगका अध्यक्ष पराजुलीले बताइन् । 


 


Author

थप समाचार
x