कर्णाली

कर्णाली प्रदेशका कर्मचारीलाई 'सिटरोल' प्रदान

इकागज |
माघ ११, २०८० बिहीबार १६:२ बजे

कर्णाली- कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत (सिटरोल) प्रदान गरिएको छ । बुधबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले कर्णाली प्रदेश लोक सेवा आयोगबाट सिफारिस प्रदेश निजामती कर्मचारीको सिटरोल प्रदान गरेका हुन् ।

उनले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कम्प्युटर सहायक पाँचौँ बिसुराज रायमाझी, सहायक चौथो मेकानिकल सब–इन्जिनियर सुनिता ज्ञवाली, सहायक पाँचौँ जयन्ती हमाल, शिक्षा विकास निर्देशनालयका कम्प्युटर सहायक चौथो भुवन रोकाय, प्रदेश लोक सेवा आयोगका सिर्जना घर्तीलाई सिटरोल प्रदान गरेका हुन् ।


प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधिक रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधिक कार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अभिलेख शाखाबाट हुने जानकारी दिए । उनका अनुसार पहिलो पटक तीन सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिटरोल नम्बरसहितको फाराम प्रदान गरिएको छ । 

स्थानीय कर्मचारीको हकमा निजामती किताबखानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न राष्ट्रिय किताबखाना (निजामती) लाई अनुरोध गरिएको छ । स्वीकृति प्राप्त भएपछि आठ सय ६४ जना स्थानीय तहका कर्मचारीको वैयक्तिक विवरण अनलाइनमा अभिलेख गरी सिटरोल प्रदान गरिनेछ । कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा बढुवा भए पनि फरक नपर्ने गरी सिटरोल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका प्रशासन महाशाखाका सचिव विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार तीनै तहमा जहाँ पनि सरुवा बढुवा भएर काम गर्दा सिटरोल एउटै रहने र पेन्सनलगायत कार्यमा एकरूपता कायम हुनेछ । सात प्रदेशमा कर्मचारी सङ्केत प्रदान गर्नेमा कर्णाली प्रदेश दोस्रो भएको छ । सङ्घीय संरचनाअनुसार प्रदेश र स्थानीय तहले आफूलाई आवश्यक विभिन्न सेवाका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा प्रदेश सरकारले गर्ने सक्ने व्यवस्थाअनुसार कर्मचारी खटपटनको अभिलेख राखिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आन्नद सारुले प्रदेशका कर्मचारीको क्षमता विकास र परिचालनमा सिटरोल प्रदान गरेसँगै निजामती कर्मचारी र सरकार स्वयंलाई सजिलो हुने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट ocmc.karnali.gov.np मा अभिलेखको सूचनासमेत राखिएको उनले जानकारी दिए ।


Author

थप समाचार
x