कर्णाली

सुर्खेतमा किन घट्यो राजस्व संकलन ?

इकागज |
असोज २९, २०८० सोमबार १४:२४ बजे

सुर्खेत- आन्तरिक राजस्व कार्यालय सुर्खेतमा राजस्व संकलन घट्दो क्रममा देखिएको छ । विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा आन्तरिक राजस्व कार्यालय, सुर्खेतमा राजस्व संकलन घटेको देखिएको छ । पाँच वर्षको अवधिमा कार्यालयले आठ अर्ब ३४ करोड ६७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७९–०८० मा एक अर्ब ७० करोड ८९ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत टेकराज थापाले जानकारी दिए । २०७८–०७९ मा कार्यालयले एक अर्ब ७३ करोड ६७ लाख ५४ हजार रुपैयाँ संकलन गरेको थियो । २०७७–०७८ मा दुई अर्ब १३ करोड २६ लाख ८३ हजार रुपैयाँ संकलन भएको कार्यालयको तथ्यांक रहेको छ । यो नै पाँच वर्षको समयमा सबैभन्दा धेरै राजस्व संकलन भएको आर्थिक वर्ष हो ।


त्यसैगरी पाँच वर्षको तुलनामा सबैभन्दा न्यून संकलन २०७५–०७६ आर्थिक वर्षमा भएको थियो । यस आर्थिक वर्षमा एक अर्ब २५ करोड ४८ लाख ४४ हजार रुपैयाँ संकलन गरेको छ । २०७६–०७७ मा एक अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ संकलन भएको कर अधिकृत थापाले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०–०८१ को हालसम्ममा आन्तरिक राजस्व कार्यालयले २७ करोड ९८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ । 

विगत तीन वर्षयता बजारमा आर्थिक गतिविधि घटेका कारण राजस्वमा समेत प्रभाव देखिएको आन्तरिक राजस्व कार्यालय, सुर्खेतका कर अधिकृत थापाले बताए ।
‘कोभिड–१९ संक्रमणकालीन समयले अर्थतन्त्रमा समेत असर पर्यो । त्यसपछि बजारमा आर्थिक गतिविधि समेत घटेको छ,’ कर अधिकृत थापाले भने, ‘पछिल्लो समय अर्थतन्त्रमा परेको प्रभावका कारण कर संकलनमा समेत प्रभाव पारेको अवस्था छ ।’ यसका साथै सरकारले समेत करमा छुट कार्यक्रमहरू ल्याएपछि पनि राजस्व संकलन न्यून हुनु स्वाभाविक भएको उनको भनाई छ ।

कार्यालयको लक्ष्य अनुसार २०७५–०७६ मा एक सय २५ प्रतिशत, २०७६–०७७ मा ७९ प्रतिशत र २०७७–०७८ मा एक सय ४७ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयका अनुसार २०७८–०७९ मा ८४ र २०७९–०८० मा ८३ प्रतिशत राजस्व संकलन भएको थियो । २०७६–०७७ यता तीन आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजस्व संकलन भएको उनले जानकारी दिए । सुर्खेतमा हाल एक लाख भन्दा बढी करदाताको संख्या छ । पाँच वर्षको अवधिमा करदाताको संख्या एक लाख २३ हजार आठ सय ५० जना पुगेको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x