कर्णाली

कर्णालीमा लम्पी स्किनको महामारी

खेती लगाउने बेला पशु मरेपछि कृषक समस्यामा

लम्पी स्किनबाट कर्णालीमा ७ हजार पशुचौपाया मरे

लक्ष्मी भण्डारी |
साउन २, २०८० मंगलबार १६:५२ बजे

फाइल तस्बिर

सुर्खेत- कर्णालीमा लम्पी स्किन रोगको संक्रमण महामारीका रूपमा फैलिएको छ । संक्रमण नियन्त्रण बाहिर गएपछि कृषकहरू चिन्तित बनेका छन् । खेतिपाती लगाउने समयमा रोगले प्रकोपका रूपमा लिएपछि कृषकहरू समस्यामा छन् ।

कर्णालीमा लम्पी स्किन रोगको संक्रमणबाट अहिलेसम्म झण्डै ७ हजार पशुचौपायाको मृत्यु भइसकेको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अनुसार ६ हजार सात सय ४१ पशुचौपायाको मृत्यु भएको छ । संक्रमणका कारण २ लाख १७ हजार एक सय ३५ वटा चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको मन्त्रालयका पशु विकास अधिकृत प्रचण्ड खड्काले जानकारी दिए ।


संक्रमित हुनेमा धेरैजसो गोरुहरू रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म १२ हजार सात सय ४३ पशुहरूलाई खोप लगाइएको खड्काले बताए । रोगको प्रकोप बढी फैलिए पनि मृत्युदरमा भने कमी देखिएको उनले बताए । ‘हामीले सबै जिल्लामा खोप त पठायौं तर, खोप भने लगाउन सकिएको छैन,’ उनले भने, ‘संक्रमण देखिएको पशुमा लगाउन नमिल्ने भएको कारण खोप लगाउन सकिएको छैन ।’

यो खोप स्वस्थ पशुमा मात्र लगाउने भएका कारण जिल्लामा पठाइएको खोप स्टक रहेका छन् ।

विशेष गरी बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको संक्रमण बढेपछि खेती लगाउन समस्या भएको किसानहरूको गुनासो छ । यसले गर्दा उत्पादनमा ह्रास आउने मन्त्रालयको अनुमान छ । ‘विशेषगरी कर्णालीका पहाडी जिल्लामा खेती लगाउँदा जोत्नका लागि गोरुको प्रयोग हुन्छ । यही बेलामा पशुहरूमा रोगको संक्रमण फैलिएका कारण उत्पादन घट्ने सक्ने अनुमान गरेका छौं,’ पशु विकास अधिकृत खड्काले भने ।


 


Author

थप समाचार
x