कर्णाली

मध्य असारसम्म ४३ प्रतिशत रोपाइँ, कर्णालीमा विदेशी चामलकै भर

लक्ष्मी भण्डारी |
असार १६, २०८० शनिबार १७:४२ बजे

फाइल तस्बिर

सुर्खेत । वीरेन्द्रनगरकी मनकली बुढाले पछिल्ला वर्षहरुमा ढिला गरि रोपाइँ गर्ने गर्छिन् । विगतका वर्षहरुमा मध्य असारसम्म रोपाइँ सकिने गरेकोमा पछिल्ला वर्षहरुमा ढिला गरि रोपाइँ सकिने गरिएको बताइन् । कहिले पानी अभाव त कहिले मल अभावका कारण समयमै रोपाई गर्न नसकिएको उनको भनाई छ ।

 ‘खडेरीका कारण कुलोमा पानी आउन सकेन, अलिअलि मात्र आएको पानीले जेनतेन बिउ राखे पनि रोपाइँ गर्न सकिएन’ उनले भनिन्, ‘यसपटक अघिल्ला वर्षमा भन्दा ढिला भयो ।’


गएको वर्ष समयमै मल नपाउँदा ढिला गरि रोपाइँ गरेका कृषक हर्क चौधरी यसपालि पानीको अभावका कारण ढिला गरि रोपाइँ गर्ने तयारीमा छन् । उनको ६ कठ्ठा खेतमा मध्येअसारसम्म आधा मात्र धान रोपाइँ भएको छ । गएको वर्ष धान दिवस मनाइरहँदा उनले खेतमा धान रोपिसकेका हुन्थे । वर्षा ढिला हुँदा बल्ल रोप्न सुरू गरेको उनले बताए । नजिकै नहर र कुलो भएका क्षेत्रहरूमा पनि कुलोको पानी खेतसम्म पुग्न नसकेको उनको अनुभव छ ।

मनकली र हर्क मात्र होइनन् कर्णालीका अधिकांश कृषकको पीडा नै यही हो । जसका कारण समयमै खेती लगाउन नपाएको उनीहरुको गुनासो छ । 

गएको वर्षझैं यस वर्ष पनि कर्णाली प्रदेशभरका कृषकले विगतमा भन्दा ढिला रोपाइँ सुरु गरेका छन् । मनसुन भित्रिन ढिलाइ हुँदा रोपाइँमा समेत त्यसको असर परेको हो । मध्यअसार सकिँदासम्म पनि कर्णाली प्रदेशमा करिब ४३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक चित्र रोकायाका अनुसार गतवर्षको तुलनामा कम क्षेत्रमा धान रोपाइँ भएको हो । अधिकांश जमिनमा सिँचाइ सुविधा नभएको बताउँदै उनले मनसुन पनि ढिला प्रवेश गरेकाले कम रोपाइँ भएको उल्लेख गरे । मनसुन सुरु भएसँगै सुर्खेतका विभिन्न क्षेत्रमा रोपाइँ सुरु भएको उनको भनाइ छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा कुल २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ । २ लाख १६ हजार  सय ८८० हेक्टर क्षेत्रफल जमिनमा मात्रै खेती गर्ने गरिएको छ । जसमध्ये ४५ हजार ४६८ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुन्छ ।

प्रदेशको कुल खेतीयोग्य जमिनमध्ये ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार ३०२ हेक्टर क्षेत्रफल आंशिक सिँचाइ हुने क्षेत्रमा पर्छ । समग्रमा कुल खेतीयोग्य जमिनको ३१.५१ प्रतिशत भूभागमा मात्र सिँचाइ सुविधा छ । यही सिचाँई सुविधा नहुँदा यहाँका कृषकहरु आकाशे पानीकै भर पर्न बाध्य छन् । 

विगतका वर्षहरूमा असार १५ अर्थात् धान दिवस मनाइरहँदा कर्णालीका अधिकांश क्षेत्रमा धान रोपाइँ सकिने गरेकोमा पछिल्ला वर्षहरूमा भने समयमै मल, बिउ र सिँचाइको उपलब्धता नहुँदा रोपाइँमा ढिलाइ हुँदै गएको छ । प्रदेशकै सबैभन्दा बढी धान खेती हुने सुर्खेत जिल्लामा हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा २७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । ढिलागरी मनसुन सुरु भएकाले धान रोपाइँ सोचेअनुसार हुन नसुकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।

रोपाइँ नै ढिला हुँदा उत्पादनमा कमी आउने चिन्ता छ कृषकलाई । यो वर्ष सबैभन्दा धेरै रोपाइँ जुम्लामा ९० प्रतिशत भएको छ भने सबैभन्दा कम रोपाइँ सुर्खेतमा २५ प्रतिशत मात्रै भएको छ । अन्य जिल्लामा पनि यही अनुपातमा धान रोपाई भइरहेको कृषि निर्देशनालयले जनाएको छ । यसवर्ष ढिलोगरी मनसुन लागेकाले किसानले धेरै रोपाइँ गर्न सकेका छैनन् ।

यसैगरी, नियमित वर्षा नहुँदा उनीहरूले बोरिङको भरमा सिँचाइ गरेर रोपाइँ गर्नुपर्ने वाध्यता रहेको छ । डीएपी मल नपाएपछि मलबिनै रोपाइँ गर्न बाध्य भएको उनीहरूको गुनासो छ । यसरी समयमै खेती नहुँदा उत्पादनमा समेत कमी आउने गरेको छ । जसका कारण प्रदेशमा विदेशी चामलकै भर पर्नुपर्ने अवस्था छ । प्रदेशमा हरेक वर्ष बढीमा डेढ लाख मेट्रिकटन खाद्यान्न उत्पादन हुन्छ तर, यहाँको जनसंख्यालाई खाद्य सुरक्षित बनाउन तीन लाख २८ हजार ९३५ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । यहाँको आवश्यकता अनुसार उत्पादन नहुँदा वर्षेनि विदेशी चामल आयात हुने गरेको छ । 


Author

थप समाचार
x