कर्णाली

मन्त्रीकै अभिव्यक्तिले विवादित बनेको कर्णालीको बजेट

आइतबारसम्म प्रदेशसभा बैठक स्थगित

लक्ष्मी भण्डारी |
असार १४, २०८० बिहीबार १५:१ बजे

सुर्खेत- कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहले गएको असार १ गते बजेट भाषण गरे । बजेट सार्वजनिक गरेलगत्तै पत्रकार सम्मेलनको आयोजना गरे, जहाँ उनले दिएको अभिव्यक्तिका कारण बजेट विवादित बनेको छ । मन्त्री आफैँ स्वयंले नै बजेट विनियोजनका लागि बिचौलियाको दबाब आएको अभिव्यक्ति दिएपछि अहिले बजेट विवादित बनेको छ ।

बजेट बनाउँदा योजना हाल्नका लागि सरकारी निकायकै मातहतका व्यक्तिहरूबाट बार्गेनिङ र दबाब आएको  मन्त्री सिंहले बताएका थिए । संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजना असार तीन गते गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री सिंहले बजेट बनाउने समयमा दबाब र बार्गेनिङ आएको खुलासा गरेका थिए । मन्त्रीको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक सुचारु हुन दिएको छैन । बजेट विनियोजनमा असन्तुष्ट रहेको प्रतिपक्षी दल एमालेलाई मन्त्रीको अभिव्यक्तिले थप मौका मिलेको छ ।


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद् चल्ल नदिने चेतावनी समेत दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गत असार १ गते संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताएका थिए ।

बुधबार प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भावना नहुने बताए । साथै उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए । राप्रपाका सांसद सन्तोषी शाहीले पनि बजेट विनियोजनप्रति असन्तुष्टि जनाइन् ।

सिङ्गो कर्णाली प्रदेशमा केन्द्रित नभई सीमित जिल्ला र मानिसलाई मात्र फाइदा पुग्ने गरी विनियोजन गरेको बताइन् । ‘म यो बजेट असन्तुलित, भेदभावपूर्ण, कार्यकर्तामुखी र अहिलेको आर्थिक सङ्कट झन् बढाउने र राज्यकोषको दोहन गर्ने खालको छ,’ उनले भनिन्, ‘बजेटका प्राथमिकता, सिद्धान्त र प्रमुख नीतिहरू एकातिर र सांसदहरूले दिएका सुझावहरू अर्कैतिर पन्छाएर आफ्नो व्यक्तिगत सम्पत्ति जसरी राज्यकोषको दुरुपयोग हुने गरी विनियोजन गरिएको छ ।’

यसैबीच कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।  प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् । 


Author

थप समाचार
x