कर्णाली

यस्तो छ कर्णालीमा विपद् प्रतिकार्यको पूर्वतयारी

लक्ष्मी भण्डारी |
असार ९, २०८० शनिबार १७:२७ बजे

सुर्खेत- यस वर्षको मनसुन सक्रिय भएसँगै कर्णालीमा पनि विपद् प्रतिकार्यको तयारी थालिएको छ । भौगोलिक बनावटका कारण वर्षामा कर्णालीका धेरैजसो बस्ती विपदको जोखिममा छन् । प्रदेशका पहाडी तथा हिमाली ९ जिल्लाहरू पहिरोको जोखिममा छन् भने सुर्खेत बाढीको जोखिममा छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि योजना बनाइएको बताएका छन् ।  उनका अनुसार विपद् प्रतिकार्य तथा उद्धारका लागि ९ वटा विषयगत समूहहरू पनि बनाइएको छ ।


सम्भावित विपद् प्रतिकार्य तथा उद्धारका विषयमा विषयगत कलस्टर (समूह) निर्माण गरि छलफल भइरहेको बताए । समूहहरूले पनि आ–आफ्नो योजनाहरू बनाइसकेका छन् भने मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्र २४ घण्टा सक्रिय रहेको रोकायले बताए ।

रोकायाका अनुसार उच्च जोखिम देखिए ग्रुप एसएमएस गर्ने प्रणाली पनि मन्त्रालयमा छ । प्रभावित क्षेत्रमा टेलिफोन गरेर पनि जोखिमबारे जानकारी गराउने तयारी मन्त्रालयले गरेको उनले बताए । विपद् आइपरेमा हवाई उद्धारका लागि पनि गृह मन्त्रालय र नेपाली सेनासँग समन्वय गरिएको छ ।

त्यसैगरी विपद् प्रतिकार्य तथा उद्धारका लागि आन्तरिक मामिला तथा योजना कानुन मन्त्रालयअन्तर्गत बन्दोबस्ती क्लस्टर र खोज तथा उद्धार क्लस्टर छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा पोषण, शिक्षा र संरक्षण क्लस्टर छन् । कृषि मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा क्लस्टर गठन गरिएको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत शीघ्र पुनर्लाभ क्लस्टर, भौतिक मन्त्रालयअन्तर्गत अस्थायी आवास क्लस्टर, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ क्लस्टर गठन गरिएको छ । मन्त्रालयको फेसबुक पेजमा पनि मौसम र सम्भावित जोखिमबारे जानकारी गराइरहेको रोकायले बताए ।

‘विपद आइहालेमा र तत्काल जोखिम देखिएमा उद्धारका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको सिफारिसमा हेलिकप्टर पठाउन सकिन्छ,’ रोकायले भने, ‘यसका लागि नेपाली सेनाको सुर्खेत एयर–बेससँग समन्वय भएको छ ।’ कर्णाली प्रदेश सरकारको उद्धार तथा राहत वितरण कार्यविधिलाई परिस्थितिअनुसार संशोधन गरी लागू गरिएको मन्त्रालयका शाखा प्रमुख रोकायाले बताए ।

रोकायका अनुसार कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा चार करोड ९९ लाख १६ हजार रूपैयाँ मौज्दात छ । यो रकमलाई विपदका बेला परिचालन गर्ने र थप बजेट आवश्यक परेमा तत्काल निर्णय गरी सरकारसँग माग गर्ने योजना मन्त्रालयको छ ।

कर्णालीका पहाडी र हिमाली नौ जिल्ला पहिरोबाट र सुर्खेत बाढीबाट प्रभावित हुन सक्ने अनुमान छ। पहाड र हिमालका जिल्लामा भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरू अझ बढी विपदको जोखिममा छन् । भौगोलिक बनावटको कारण उद्धार तथा राहत वितरणमा पनि कठिनाइ आइपर्ने उनले बताए ।

गत वर्ष कर्णाली प्रदेशमा विपद्मा परि ६७ जनाको मृत्यु भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार २०७९ को साउन, भदौ, असोज र कात्तिकमा ३० जनाको बाढी तथा खोलाले बगाएर मृत्यु भएको हो। यो अवधिमा १५ वटा घर बाढीले बगाएर पूर्ण रूपमा क्षति भएका थिए ।

यस्तै साउन, भदौ र असोजमा मात्र पहिरोमा परेर ३७ जनाको मृत्यु भएको थियो । साउन र भदौमा दुई/दुई जना र असोजमा ३३ जनाको मृत्यु भएको हो । सोही अवधिमा पहिरोले ३८ वटा घरमा पूर्ण रूपमा क्षति पुर्याएको थियो ।


Author

थप समाचार
x