कर्णाली

जाँदाजाँदै पूर्व अर्थमन्त्रीले आफू खुसी बाँडे बजेट : अख्तियारले किन थाहा पाएन ?

लक्ष्मी भण्डारी |
चैत २८, २०७९ मंगलबार १८:३३ बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरूले प्रदेशमा मनपरी तरिकाले बजेट वितरण भएको भन्दै विरोध जनाएका छन् । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले बजेट आफ्नो जिल्लामा आफूखुसी तरिकाले वितरण गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् । सोमबार मन्त्री पदबाट राजीनामा दिएका शाहले राजीनामा दिने अन्तिम समयमा बजेट मनोमानी ढङ्गले विनियोजन गरेका छन् ।

यस विषयमा सांसदहरूले प्रदेशसभाकोे बैठकमा समेत ध्यानाकर्षण गराएका छन् । प्रदेशसभा सदस्य सुरेश अधिकारीले पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा विनियोजन गरेको आरोप लगाए । ‘अर्थमन्त्रीज्यूले विभेदपूर्ण रुपमा बजेट विनियोजन गर्नुभएको छ’ सांसद अधिकारीले भने, ‘यस विषयमा हामीहरूले सदनमा पनि बोलेका छौ ।’ मन्त्री शाहले सल्यानमा कुनै पनि बजेट नै विनियोजन नगरेको जनाए । ‘सल्यानमा त एक रुपियाँको समेत बजेट परेको छैन’उनले भने, ‘सल्यानपछि मुगुमा पनि त्यस्तै विभेद भएको देखिन्छ ।’


यसरी मनपरी रुपमा बजेट बाँडफाँट हुँदा अख्तियारले समेत जानकारी नपाएको उनले बताए । ‘यस्तो विषयलाई अख्तियारले पनि हेर्नुपर्छ’ सांसद अधिकारीले इकागजसँग भने ‘अख्तियारले पनि किन थाहा पाएन’ । संघीयता कार्यान्वयनतर्फ उन्मुख छौँ तर संघीयता कार्यान्वयनको औचित्यमाथि प्रश्न उठ्ने गरी जनप्रतिनिधिबाटै काम हुन थालेको उनले बताए । अर्थ विविध भन्ने शीर्षक विषम परिस्थिति, भोकमारी, संकटकालीन अवस्था आपतविपतमा खर्च गर्ने होला नि ? किन सदनलाई जानकारी नदिएर बजेट आफूखुसी रकमान्तर गरियो ?’, उनले प्रश्न गरे ।

मन्त्री शाहले मन्त्री पदबाट राजीनामा दिनु अघि विभिन्न ६७ योजनामा २३ करोड २० लाख बजेट विनियोजन गरेका छन् । उनले दैलेखमा २३, सुर्खेतमा १८, जुम्ला र जाजरकोटमा चार/चार, कालीकोटमा दुई, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एक/एक गरी ५४ योजनाका लागि बजेट विनियोजन गरिएको उनको आरोप छ । प्रदेशसभा सदस्य अधिकारीले मुगु र सल्यानमा भने विविध शीर्षकमा कुनै बजेट विनियोजन नगरिएको गुनासो गरे । सांसद खड्गबहादुर पोखरेलले एकै रातमा रु २३ करोड बजेट बाँडिएको आरोप लगाए । 

मन्त्री शाहले छानेका अधिकांश योजना वितरणमुखी र कार्यकर्तामुखी देखिन्छ । शाहले आफ्नो गृह जिल्ला दैलेखमा ३० भन्दा बढी योजनामा करोडौँ रकम पठाएका छन् । त्यसपछि सुर्खेतमा १८ योजना छुट्याइएको छ । शाहले विनियोजन गरेको बजेटमा सल्यान भने परेको छैन । जुम्लामा एउटामात्रै योजना पारिएको छ । कालिका मावि टोप्लाको आइसिटी तथा पुस्तकालय निर्माण गर्ने भनेर २० लाख बजेट पारिएको छ ।

यस्तै हिमाली जिल्लाहरूमा समेत बजेट न्यून गएको छ । डोल्पामा जम्मा २ वटा योजना परेका छन् । लोङलादेखि सोचेन तटबन्धका लागि ३० लाख र तामु सिँचाइ आयोजनाका लागि ३० लाख बजेट छ । मुगुमा बाले बगर वृहत तटबन्धका लागि ४० लाख र धौलीगाडा तटबन्ध आयोजना भनेर ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पर्ने साँगुडा ग्रामीण सडक निर्माण भन्दै २० लाख बजेट पठाइएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १० को चिसापानी खेलकुद मैदान निर्माण गर्ने भनेर ३० लाख बजेट पठाइएको छ । दैलेख र सुर्खेतपछि जाजरकोटमा बजेट बढी पठाइएको छ 


Author

थप समाचार
x