कर्णाली

कालिकोटमा किन गरियो धामीझाँक्री सम्मेलन ?

लक्ष्मी भण्डारी |
चैत ११, २०७९ शनिबार २०:३८ बजे

सुर्खेत- कालिकोटमा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री आजभोलि बालविवाह नगराउने प्रतिबद्धता गरेका छन् । बालविवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहितहरू बालविवाह नगराउने निर्णयमा समेत पुगेका छन् ।

यसै अवसरमा जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए-देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो ।


अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन् । फलस्वरूप चालु आर्थिक वर्षसम्म शुभकालिका गाउँपालिकामा ९८ बालविवाह रोकिएका छन् । अहिले विवाह हुन लागेको जानकारी पाउनेबित्तिकै विवाह हुने स्थलमा गएर केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।

यस्तै धामीझाँक्री तथा पण्डितहरूकहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।

त्यसैगरी धामीझाँक्री र पण्डितहरूले सार्वजनिक कार्यक्रम मार्फत बालविवाह गरेको घरको भोजभतेरमा नजाने प्रतिबद्धता समेत जनाएका छन् । बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ ।

बालअभियान्ता रमिता चौलागाँईले  गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको बताइन् । यसैबीच शुक्रबार बालविवाह रोक्न जिल्लाको तिलागुफा नगरपालिकाले धामीझाँक्री तथा पण्डितहरूलाई सम्मान गरेको छ । तिलागुफा नगरपालिकाद्वारा  आयोजित धामीझाँक्री सम्मेलनमा एक सय जना धामीझाँक्री तथा पुरोहितहरूलाई फेटा (पगरी) बाँधेर सम्मान गरेको हो ।

धामीझाँक्रीहरूको पञ्चेबाजासहितको र्‍यालीले बजार परिक्रमा गरेपछि छलफल कार्यक्रमको आयोजना गरिएको हो । बालबालिका वा दुवै तर्फका परिवारहरू विवाह गर्न र गराउन राजी भई लगनका लागि धामीझाँक्री वा पुरोहितकोमा आउँदा लगन नदिएर २० वर्षपछि मात्र बिहे गर्न सुझाव दिई पठाए बापत उक्त सम्मान गरिएको किर्डाक नेपालका तुलाराम पाण्डेले जानकारी दिए ।

बालविवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ, यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकोले विभिन्न विकल्पको खोजी गरिरहेको पाण्डेले बताए । पालिकामा पहिले बालविवाहको दर ४० प्रतिशत हुने गरेकोमा अहिले १० प्रतिशतमा झरेको बताए ।

‘बालविवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो,’ धामीझाँक्री सम्मेलनमा तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले भने,‘त्यसैले अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बालविवाह रोक्न तिलागुफा नगरपालिकामा कार्यक्रम गरेका हौं ।’

बालविवाह रोक्नलाई गाउँमा गएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन पनि भइरहेको उनले बताए ।

 


Author

थप समाचार
x