कर्णाली

महिला मतदाता आफ्नो पक्षमा पारेर चुनाव जित्ने कुन्ती र गोमाको दाउ

लक्ष्मी भण्डारी |
कात्तिक २५, २०७९ शुक्रबार २०:१५ बजे

सुर्खेत । कर्णालीका महिला मतदाताले उम्मेदवार छनोट गर्दा आफ्नो विवेक प्रयोग गरिनुपर्ने महिला उम्मेदवारहरु बताउँछन् । उनीहरुले आफ्नो अधिकार प्रयोग गर्नका लागि आफ्नै विवेक प्रयोग गरेमा महिला उम्मेदवारको जित सुनिश्चितता हुने महिला उम्मेदवारहरुको भनाइ छ । 

आगामी हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि कर्णालीमा प्रत्यक्षतर्फ दुईजना महिला उम्मेदवार छन् । गठबन्धनको तर्फबाट जुम्लामा माओवादी केन्द्रले गोमा कुँवरलाई उठाएको छ भने दैलेख क्षेत्र नम्वर १ बाट राप्रपाकी कुन्ती शाही उम्मेदवार बनेकी छन् । 


यी दुवै उम्मेदवारको एउटै अपेक्षा छ । महिला मतदाताले आफ्नै विवेक प्रयोग गरेर भोट हाल्नुपर्छ । महिला मतदाताहरुले आफ्नो विवेक प्रयोग गरेर भोट हालेमा महिला उम्मेदवारको जित सुनिश्चित हुने उनीहरुको भनाइ छ । 

महिला उम्मेदवारलाई जिताउन महिला मतदाता अझ बढी सक्रिय हुनुपर्ने कुँवरको भनाइ छ । ‘ग्रामीण क्षेत्रका महिलाहरु घरपरिवारका पुरुष सदस्यमाथि परनिर्भर रहन्छन्’ उनी भन्छिन्, ‘उनीहरु आफ्नो अधिकारको निर्णय आफैले नगरेको अवस्था छ अहिलेपनि ।’ उनी राजनीतिक रुपमा अझै पनि समान व्यवहार नभएको बताउँछिन् । निर्वाचन जितेमा जुम्ला मात्र नभई समग्र कर्णालीका महिलाका अधिकारका सवालमा काम गर्ने उनको भनाइ छ ।

त्यसैगरी कुन्ती कर्णालीका महिलाहरुमा व्याप्त हिंसा न्यूनीकरणका लागि लागि लागि पर्ने भन्दै घरदैलो अभियानमा लागेकी छन् । दैलेखलगायत कर्णालीमा गरिवी र अशिक्षाको कारण यहाँ बालविवाह बढ्दो मात्रामा रहेको भन्दै यसलाई विशेष योजना बनाएर न्यूनीकरण गर्न जरुरी रहेको शाहीको भनाइ छ । 
महिलाको अर्थपूर्ण रुपमा नेतृत्व तहमा पुगेमा मात्र महिलाका मुद्धाहरु उठान हुनुको साथै समाधान हुने शाहीले बताउँछिन् । महिला नेतृत्वमा नपुग्दासम्म महिलाका मुद्दा उठान हुन नसक्ने उनी जिकिर गर्छिन् । 

यसअघिका निर्वाचनमा समानुपातिक तर्फबाट कुन्ती र गोमा दवैै राज्यमन्त्री समेत भईसकेका नेतृ हुन् । यी दुवैै नेतृ आफ्नो निर्वाचन क्षेत्रमा राम्रै प्रभाव राख्ने नेतृत्व हुन् । यसका साथै प्रतिनिधित्व गरिरहेका राजनैतिक दलमासमेत उनीहरुको सक्रिय भूमिका र उपस्थिति छ । माओवादी केन्द्रतर्फबाट प्रतिनिधित्व गर्दै गोमा यसअघि राज्यमन्त्री समेत बनिन् । गोमा २०५६ सालदेखि माओवादी राजनीतिमा लागिन् । १० वर्षे जनयुद्वका समयमा गोमाले पार्टीमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिन् ।

पहिलो संविधानसभामा राप्रपाबाट सभासद् बनेकी शाही त्योबला बनेको गठबन्धनको सरकारमा पहिलो पटक राज्यमन्त्री समेत भएकी थिइन् । कुन्ती दोस्रो संविधानसभामा पनि सभासद् भइन् । 

प्रतिनिधि सभाका लागि कर्णाली प्रदेशमा १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई–दुई निर्वाचन क्षेत्र र अन्य जिल्लामा एक–एक निर्वाचन क्षेत्र गरी कर्णालीमा प्रतिनिधि सभाका लागि कुल १२ निर्वाचन क्षेत्रहरु छन् । गठवन्धन दलका रुपमा रहेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) को भागवण्डा बमोजिम जुम्लामा प्रतिनिधिसभा तर्फ माओवादी केन्द्रको भागवण्डामा परेको छ ।


Author

थप समाचार
x