कर्णाली

श्रीमानकाे सम्झनामा क्याम्पसलाई १ कराेड बढीकाे भवन र छात्रवृत्ति काेष

लक्ष्मी भण्डारी |
असार १७, २०७९ शुक्रबार १८:२८ बजे

सुर्खेत । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिएकी छिन् ।

उनले क्याम्पसलाई सहयोग स्वरुप ‘भीम कमला शैक्षिक भवन’ निर्माण गरिदिएकी हुन् । एक वर्ष लगाएर निर्माण सम्पन्न उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।


मल्लले २५ लाख १ हजारको भीमकमला मल्ल छात्रवृति अक्षय कोषसमेत स्थापना गरेकी छन् । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि ७८ लाख २८ हजार ८८२ रुपैयाँ लागत लागेको बताए ।

क्याम्पसका लागि मल्लले १ करोड ३ लाख २९ हजार ८८२ रुपैंया दान स्वरुप प्रदान गरेकी थिइन् ।  खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो ।

आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्धारा भवनकोे उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।  दान स्वरुप भवन निर्माण गरेको भन्दै धन्यवाद दिइन् । शिक्षा क्याम्पसका प्रमुख माधव प्रसाद खनालले क्याम्पसले थुप्रै आर्थिक संकटका आरोह–अवरोह भोग्दै आएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न आवश्यक रहेको औल्याए । यद्यपि यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उनले चिन्ता व्यक्त गरे । खनालका अनुसार अहिले क्याम्पसमा ३७ जना मात्र कर्मचारीहरु रहेका छन् । राज्यले वास्ता नगरेक कारण केही कर्मचारी आफैले राखेको उनले बताए । आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरुप अगाडी बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाई थियो ।


Author

थप समाचार
x