कर्णाली

कर्णाली सरकारको नीति तथा कार्यक्रम

विदेशिएका युवाको लागि ‘गरी खाने’ कार्यक्रमदेखि कर्णाली विकासका ६ ‘ब’

लक्ष्मी भण्डारी |
जेठ २४, २०७९ मंगलबार १८:२१ बजे

सुर्खेत - कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । 

उक्त नीति तथा कार्यक्रमअनुसार विदेशबाट फर्केका युवाहरुको लागि ‘गरी खाने’ कार्यक्रम ल्याइने भएको छ । विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने प्रदेश प्रमुखले बताए ।


‘प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धनका लागि एक जिल्ला एक औद्योगिक ग्राम स्थापना कार्यक्रमलाई संघीय सरकारसँगको समन्वय र सहकार्यमा निरन्तरता दिइनेछ’ नीति तथा कार्यक्रममा  भनिएको छ, ‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण ऋण तथा उत्पादनमा आधारित अनुदान उपलब्ध गराइनेछ ।’

प्रदेशभित्र उत्पादित वस्तु र सेवाको बजारीकरण, निर्यात र सार्वजनिक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिनुको साथै प्रदेशमा निर्माण गरिने सरकारी तथा सार्वजनिक पूर्वाधार निर्माणमा स्लेट ढुङ्गाको प्रयोगलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
कर्णाली प्रदेशको जलस्रोत गुरुयोजना बनाई सिँचाई, खानेपानी, जलाशय र जलविद्युतको एकीकृत विकास तथा बहुउद्देश्यीय उपयोगका लागि सार्वजनिक निजी साझेदारी गरिने बताइएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्न भेरी लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्न समन्वय र सहजीकरण गरिनुको साथै भूमिगत जलस्तर घट्न नदिन डिप बोरिङ सम्बन्धी मापदण्ड बनाइ लागू गर्न स्थानीय तहलाई आवश्यक सहजीकरण गरिने भएको छ । 

त्यसैगरी राष्ट्रिय गौरव र कर्णाली प्रदेशको रणनीतिक महत्वको रुपमा रहेका कर्णाली र भेरी करिडोर सडक आयोजनालाई तदारुकताका साथ निर्माण गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सबै जिल्ला सदरमुकामदेखि नजिकको राजमार्ग वा करिडोरसम्म जोड्ने कम्तीमा एउटा सडकलाई प्रदेश गौरवको सडक आयोजनाको रूपमा कार्यान्वयन गरिने जनाइएको छ । 

कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच अनुरुप समावेशी आर्थिक–सामाजिक रुपान्तरण एवम् गरिबी निवारणतर्फ प्रस्तुत नीति तथा कार्यक्रम लक्षित गरिएको प्रदेश प्रमुख परियारले बताए ।

कर्णाली विकासको प्रमुख आधार ‘६ ब’ अर्थात ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारः यसमा हामी सबैको सहकार्य र सरोकार’ को मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । 

यस्तै प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रूपमा विकास गरिनुका साथै जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोग मार्फत स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

मातृ–शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । 

बर्थिङ्ग सेन्टरको सेवा प्रवाहलाई व्यवस्थित गर्न स्थानीय तहसँग समन्वय तथा सहकार्य गरिनेछ । जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिइने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x