लुम्बिनी

ठाकुरबाबामा एक हजार ३४४ वटा प्लास्टिकका माला जफत

इकागज |
कात्तिक २५, २०८० शनिबार ८:४२ बजे

बुटवल- बर्दियाको ठाकुरबाबा नगरपालिकाले बजारमा बिक्रीका लागि राखिएका प्लास्टिकका माला जफत गरेको छ । पालिकाले स्थानिय फूलकै माला प्रयोग गर्न र प्लास्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको थियो । नगर क्षेत्रका मुख्य बजारमा अनुगमन गर्दा १३ वटा पसलबाट एक हजार ३ सय ४४ वटा प्लास्टिकका फूलमाला जफत गरेको हो ।

ठाकुरबाबा नगरपालिकाका मुख्य बजार भुरीगाउँ, ठाकुरद्वारा, बकुवाका १३ वटा पसलबाट झन्डै ८० हजार रुपैयाँ बराबरका प्लास्टिकका माला जफत गरिएको हो । प्लास्टिकका माला बिक्री नगर्न नगरपालिकाले सूचना निकाले पनि अटेरी गरेर बिक्री भइरहेको गुनासो आएपछि नगरपालिकाको टोली अनुगमनमा गएको अनुगमन टोलीका सदस्य ध्रुवराज बमले जानकारी दिए 


 नगरपालिकाले गएको वर्षदेखि औपचारिक कार्यक्रममा खादा तथा ब्याच नलगाउने गरेकोमा यस वर्ष तिहार लक्षित प्लास्टिकका माला बिक्री नगर्न अनुरोधसहित सूचना निकालेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए ।

अनुगमनको पहिलो चरणमा प्लास्टिकका माला मात्रै बरामद गरिएको र अझै पनि प्लास्टिकका माला बिक्री गरेको पाइए माला बरामदसँगै जरिवाना लिने अनुगमन समितिका संयोजक इन्द्रबहादुर राजवंशीले बताए ।

प्लास्टिकजन्य सामग्रीले वातावरणमा असर पुग्ने भएकाले प्लास्टिकका माला आफ्नो पालिकामा प्रतिबन्ध लगाइएको ठाकुरबाबाकी उपमेयर विनाकुमारी भट्टराईले बताइन् । अघिल्लो वर्ष स्थानीय तथा फूल उत्पादनमा प्रेरित व्यवसायीले गुनासो गरेपछि अहिले आफैँले नीति तथा कार्यक्रम ल्याएरै यस वर्षदेखि प्लास्टिकका माला आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको उनले बताइन् । अनुगमनमा सचेत गराइएका केही व्यापारीबाट माला जफत गरेको र यसलाई निरन्तरता दिने उनको भनाइ छ ।

प्लास्टिकजन्य सामग्री नेपाल बाहिरबाट आयात हुने र पैसा बाहिरिने तथा मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले रोक लगाइएको ठाकुरबाबाका मेयर तिलकराम लम्सालले बताए । प्लास्टिकजन्य फूलका माला बिक्रीमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने भएपछि फूल उत्पादन गर्ने किसानसँगै खुसी भएका छन् ।


Author

थप समाचार
x