गण्डकी

अख्तियार : मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

इकागज |
चैत १, २०७८ मंगलबार ७:१२ बजे

पोखरा- २०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।

साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्‍यो ।


समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी सहित ७ जना विरुद्ध उजुरी परेको थियो । समितिका सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानिया सहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

विक्रि भएको जग्गाको १ लाख ६९ हजार विगो कायम गरेर उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो । आरोपित मध्ये याम बहादुर, धुन बहादुर, ज्ञान बहादुर र खडक बहादुरको मृत्यु भैसकेको छ । मृत्यु भएपनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदाबी लिइएको छ ।

सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ । सन्त बहादुर सिजालीमगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर बिक, बलराम बानियाँ, बुद्दिमाया बिक, बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर बिक र धन बहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोग चलन गरेका थिए ।

उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ । भोगचलन गरिरहेकाहरुबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रबक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेका मध्ये लोक बहादुर, डोलराज र धन बहादुरको मृत्यु भैसकेको छ ।


Author

थप समाचार
x