गण्डकी

भेडी गोठमै मितेरी साइनो

इकागज |
माघ १०, २०८० बुधबार ८:५६ बजे

म्याग्दी (बेनी)- गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडी गोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् ।

कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले करिब आठ महिनाअघि मात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडी गोठमा उक्लिएका थिए । भेडी गोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए । 


“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भने । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।

अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडी गोठ र तुलाचनको भैँसीगोठ एकै ठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उनीहरूले सहकार्य गर्छन् । घलेले काम गर्ने भेडी गोठमा नियमितरूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडी गोठमै गफगाफमा भेटिन्छन् । 

वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए । “हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको !”, तुलाचनले भने । तुलाचनको गोठमा नौवटा भैँसी छन् ।

दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गरेका छन् । भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडी गोठ पुग्छन् भने भेडी गोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्छन् । 

बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडी गोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउँछन् । नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित/मीतिनी’ साइनो हराउँदै गएको छ । रासस


Author

थप समाचार
x