गण्डकी

लेकसाइड २४ घण्टै खोल्न दिने भएपछि शान्ति, सुरक्षाको चूनौती

धनबहादुर गुरुङ |
कात्तिक २२, २०८० बुधबार २१:२१ बजे

पोखरा - पोखराको लेकसाइड २४ सै घण्टा खुल्ने चर्चा चलेको धेरै भयो । २०६२/६३ को जनआन्दोलन र माओवादी शान्ति प्रक्रियामा आएपछि यसले चर्चा पाएको हो । प्रधानमन्त्री, मन्त्री तथा नेताहरुले पोखरा आएका बेला पोखरालाई सधैं खुल्ला राख्ने आश्वासन दिदैं जान्थे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गण्डकीका मुख्यमन्त्री, तथा मन्त्रीहरुले लेकसाइड चौबिसै घण्टा खोल्ने विषयमा बोलेका थिए । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले त लेकसाइडमा भएको कार्यक्रमबाटै प्रहरी प्रमुखलाई फोन गरेर तत्काल लेकसाइड २४ सै घण्टा खोल्ने प्रबन्ध मिलाउन निर्देशन नै दिएका थिए । पटक पटक आश्वासन, निर्णय र निर्देशन भएर पनि कार्यान्वयन हुन नसकेको विषयमा उच्च अदातल पोखराले बुधबार पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घण्टा व्यापार व्यवसाय खोल्न दिन आदेश गरेको छ । व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित गरिएको रिट निवेदनमा उच्चले उक्त आदेश गरेको हो ।


व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालको रिट निवेदनमा कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरु शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । 

उच्च अदालत पोखराले बुधबार लेखसाइड चौबिसै घण्टा खोल्न दिन आन्तरिम आदेश गरेपछि फेरि यो विषयले चर्चा पाएको छ । पोखराका पर्यटन व्यवसायीले अदालतको आदेशलाई स्वागतयोग्य मानेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अदालतको आदेश स्वागतयोग्य रहेको बताउँदै शान्ति सुरक्षा व्यावस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । 

‘पोखरा आउने पर्यटकहरुका लागि यो राम्रो सन्देश हो । सरकारले तोकेको मापदण्ड भित्र रहेर सबै व्यावसायीहरुले व्यावसाय गर्नुपर्यो,’ उनले भने, ‘यसमा सबै मिलेर पोखरा सुरक्षित छ भनेर सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न जरुरी छ ।’

पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पनि पोखरा अन्तर्राष्ट्रिय सहरमा परिणत भइरहँदा अदालतले गरेको आदेश राम्रो भएको बताए । यो सँगै उनले शान्ति सुरक्षाको पाटो चूनौतीका रुपमा रहेको बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्यो । ढिलो चाँडो अन्य देशबाट जहाज आउँछन् । यसरी अन्य देशबाट आएका पर्यटकलाई ९÷१० बजे हाम्रो व्यावसाय बन्द भयो भन्दा नराम्रो म्यासेज जान्छ । यसका लागि यो आदेश धेरै राम्रो हो,’ उनले भने, ‘२४सै घण्टा खुल्ने नाम एकले अर्कालाई सुत्न नदिने गरी ध्वनी प्रदुषण गर्नु सबै भन्दा नराम्रो कुरा हो । यसलाई मिलाउन हामी व्यावसायी पनि जिम्मेजार हुन जरुरी छ ।’ 

यता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन थापाले मापदण्ड पुर्याएर खुला भएमा सुरक्षा दिन आफूहरु तयार रहेको बताए । अहिले पनि मापदण्ड पुरा गरेका केही व्यवसायीहरुलाई व्यावसाय गर्न दिइरहेको उनको भनाइ थियो । ‘गृहमन्त्रालयले जारी गरेको रात्रीकालीन व्यावसाय सञ्चालन सम्बन्धी मापदण्ड छ । त्यो मापदण्ड पुरा नगरेको पाउँदैन्,’ उनले भने, ‘मापदण्ड पुरा गर्नेको हकमा आदेश चाहिदैन् । पहिले देखि नै हामीले दिइरहेका छौं । व्यवसायीहरुले चलाइराखेको अवस्था पनि छ ।’ अहिले कास्की प्रहरीमा जनशक्तिको अवस्था कम भएपनि यदि सबै व्यावसायीहरुले मापदण्ड पुरा गरेको खण्डमा आफूहरु सुरक्षा दिन तयार रहेको उनले सुनाए ।


Author

थप समाचार
x